कक्षा १२ को परीक्षा बल्ल प्रारम्भ

कक्षा १२ को परीक्षा बल्ल प्रारम्भ

कोभिड १९ संक्रमणको जोखिमका कारण वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा आजबाट शुरु भएको छ । परीक्षामा देशभरका ४ लाख ३२ हजार ५ सय विद्यार्थी सहभागी छन् । देशभर ४ हजार १ सय ५ विद्यालयमा परीक्षा केन्द्र तोकी परीक्षा सञ्चालन गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले यसपटक ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिन लागेको हो । बोर्डका अनुसार थप ४० प्रतिशत अंक कक्षा ११ को नतिजाको मूल्यांकन गरेर र २० प्रतिशत अंक विद्यालयको आन्तरिक मूल्यांकनबाट जोडिनेछ । परीक्षा बिहान ८ बजेदेखि साढे नौ बजेसम्म सञ्चालन भएको छ । यसपटक विद्यार्थी आफैँले पढेको विद्यालयमा परीक्षा दिन पाएका छन् । यस्तै गाउँघरमा गएका विद्यार्थीले भने आफूलाई पायक पर्ने स्थानमै रहेको परीक्षा केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको उपाध्यक्षसमेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले सबै केन्द्रमा जनस्वास्थ्य मापदण्ड पालना गरी परीक्षा सञ्चालन भएको बताए । यस्तै परीक्षा केन्द्रमा परीक्षा बोर्डले जारी गरेको परीक्षा मापदण्डसमेत पालना भएको पाइएको सचिव मैनालीले जानकारी दिए ।

परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्ने, सामाजिक दूरी कायम गर्ने, ज्वरो नाप्ने, साबुनपानीले हात धुन लगाउने, मास्क तथा फेससिल लगाउने, सेनिटाइजर प्रयोग गर्नेलगायत व्यवस्था मिलाइएको छ । काठमाडौं उपात्यकाका विभिन्न परीक्षा केन्द्रमा पुग्दा जनस्वास्थ्य मापदण्डका सम्पूर्ण मापदण्ड पुरा गरेको पाइएको छ । परीक्षामा विद्यार्थीले लेखिसकेपछि भीडभाड नगरी कापीलाई तोकिएको ठाउँमा राखेर बाहिर निस्कने व्यवस्था मिलाइएको पनि केन्द्राध्यक्षहरुले बताएका छन् ।

एउटा परीक्षा कोठामा बढीमा २० जनासम्म विद्यार्थी राख्न पाउने व्यवस्था गरिएको छ । यस्तै परीक्षार्थी, केन्द्राध्यक्ष र निरीक्षकले अनिवार्य मास्क प्रयोग गरेका छन् । परीक्षामा कोही विद्यार्थी बिरामी परे छुट्टै कोठामा राखेर परीक्षा दिन पाउने व्यवस्था पनि विद्यालयले गरेका छन् । परीक्षा सञ्चालनमा स्थानीय तहले सहयोग गरिरहेका छन् । कक्षा १२ को परीक्षा मंसिर १६ गते सकिनेछ ।

टिप्पणीहरू