धार्मिक सहिद तोक्न माग

धार्मिक सहिद तोक्न माग

धर्मको आडमा नेपालभित्रै सनातन हिन्दू धर्ममाथि भइरहेका विभिन्न अमानवीय गतिविधिलाई रोक्न राज्य उदासीन रहेको ठहर गर्दै सात वटा धार्मिक संगठनले जिल्ला प्रशासन कार्यालय,काठमाडौंमार्फत् सरकारलाई हिजो संयुक्त ज्ञापनपत्र बुझाएका छन् । ज्ञापन पत्रमा पशुपतिनाथलगायत सबै हिन्दु तथा बौद्ध मन्दिर,देवालय,गुम्बामा सामाजिक दूरी कायम गरी नियमानुसार नित्य दर्शन गर्न र पूजाआजा गराउन माग गरिएको छ ।

प्रस्तावित बृहत सनातन महासंघ,नेपाल सनातन धर्म संस्कृति संगठन,चन्द्रेश्वर शिव पाञ्चायन मन्दिर,कृण्णदान बृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण केन्द्र,नेपाल गौरक्षा राष्ट्रिय जागरण अभियान, ॐकार धार्मिक सेवा समिति र श्री गौरीनाथ महादेव मन्दिर संरक्षण समितिले बुझाएको ज्ञापन पत्रमा हालै रौतहटमा भएको पुजारी हत्याका अपराधीहरूमाथि अविलम्ब कारबाही र मृतक पुजारीलाई धार्मिक सहिद घोषणाको समेत माग गरिएको छ ।

त्यसैगरी, धार्मिक गुरु अभियन्ता एवम् धार्मिक व्यक्तिहरूमाथि लगाइएको झुठो फौजदारी मुद्दा फिर्ता लिनुपर्ने,गौ हत्या गर्ने र गराउनेमाथि कडा कारबाही गर्नुपर्ने,विद्यालयमा संस्कृत, नैतिक, भूगोल र इतिहासका साथै धार्मिक,सांस्कृतिक महत्व बुझाउने विषय समावेश गर्नुपर्ने माग पनि गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएका अन्य मागहरूमा नेपाललाई धार्मिक,सांस्कृतिक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न,मन्दिर तथा धार्मिक स्थलबाट पाँच किलोमिटरको दूरीमा रक्सी तथा मासुजन्य वस्तु बिक्रीमा रोक लगाउनुपर्ने, मुलुकभरका धार्मिक मठ, मन्दिर, गुम्बा, गुठीलगायतका धार्मिक धरोहरहरूको सम्बन्धित समुदाय र समूहकै व्यवस्थापनमा सञ्चलान गर्न र नेपाललाई सर्व स्वधर्म समभाव सहितको धर्म सापेक्ष सनातन हिन्दु राष्ट्र कायम गर्न पनि माग गरिएको छ ।

टिप्पणीहरू