सबै उडान खुल्ला हुने,लकडाउन नहुने

सबै उडान खुल्ला हुने,लकडाउन नहुने

सरकारले त्रिभुवन विमानस्थलबाट हुने सबै अन्तर्राष्ट्रिय उडान छिट्टै खुल्ला गर्ने भएको छ । आज बसेको सीसीएमसीको बैठकले स्वास्थ्य प्रोटोकल अपनाएर अन्तर्राष्ट्रिय उडानको अनुमति दिन पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको छ । तर,यसअघि सबै उडानमा रोक लगाउने निर्णय मन्त्रिपरिषद्को बैठकबाट भएकाले अब खोल्ने निर्णय पनि क्याबिनेटबाटै गर्नको लागि मन्त्रालयले औपचारिक प्रस्तावको तयारी गरेको बताइन्छ ।

अहिले ७२ घण्टाअगाडि गरिएको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट बोकेर आउने यात्रुलाई नेपाल प्रवेश गर्न दिइएको छ । चैत पहिलो सातादेखि लगाइएको उडान प्रतिबन्धका कारण अहिलेसम्म भारतलगायत दक्षिण एशियाली मुलुकबाट उडान सुचारु भएको छैन । स्थलमार्ग प्रयोग गरेर भारतबाट नेपाल आउने र नेपालबाट उता जाने लाई भने छेकबार छैन । तर, हवाई मार्ग प्रयोग गर्नेको हकमा अन्यत्र झैं पीसीआर रिपोर्ट बोकेर आउनेगरी समेत दक्षिण एशियाली मुलुकबाट हुने उडानमा लगाइएको प्रतिबन्ध कायमै छ ।

भारतसँगको उडानमा लगाइएको रोकका कारण सबैभन्दा घाटा सरकारी नेपाल वायुसेवा निगमलाई परेको छ । यसबीच दशैं,तिहार र छठ पर्वमा आउन खोजेका नेपालीका साथै भारतमा उपचार गराइरहेका बिरामी र तिनका कुरुवाले जति दुःख पाए त्यो भन्दाबढी निगमलाई घाटा लागेको बताइन्छ ।

आजको सीसीएमसी बैठकमा मठ, मन्दिर, गुम्बालगायतका धार्मिक स्थलहरूका साथै, मनोरञ्जनस्थलको रूपमा सिनेमा हलहरूमा पनि स्वास्थ्य मापदण्ड अपनाएर सावधानीका साथ खोल्ने प्रस्ताव समेत पेश गरिएको थियो । तर,भीडभाड हुने स्थानहरू अझै पनि खुल्ला नगर्ने आशय बैठकमा उठेकाले ती स्थानमा लगाइएको प्रतिबन्ध अझै केही समय कायम रहने देखिन्छ ।

काठमाडौं उपत्यकाका मेयरहरूको संगठन मेयर्स फोरमले गरेको सिफारिशबमोजिम बैठकमा लकडाउनको चर्चा पनि चलेको थियो । तर, दक्षिण एशियाली मुलुकहरूमध्ये कहिँ पनि यतिखेर लकडाउन नभएको बताएपछि लकडाउनको सम्भावना तत्काल नरहेको बैठकले निश्कर्ष निकालेको हो । महामारीको परिस्थिति काबुभित्रै रहेको र घट्दो दरमा देखिएकाले तत्काल लकडाउन गर्न नपर्नेमा बैठकका अधिकांश सदस्यले धारणा राखेको बताइन्छ ।

टिप्पणीहरू