एकातिर राजावादी जागरुक, अर्कातिर गुटको जगजगी
सत्तारुढ नेकपाभित्रको विवाद बढेर चुलिमा पुगेको बेला प्रधानमन्त्री तथा पार्टी अध्यक्ष समूहले आज आफूनिकट विद्यार्थीहरूको उपत्यकास्तरीय भेला गरेको छ । दिउँसो १२ बजेदेखि अपरान्ह पाँच बजेसम्म मदन भण्डारी कलेज, अनामनगर घट्टेकुलोमा भएको भेलाले सात वटै प्रदेश र उपत्यकामा छिट्टै बृहत भेला गर्ने निर्णय गरेको बताइएको छ । उता प्रचण्ड-माधव समूहका भेला पनि उत्तिकै जारी छन् ।
साथै, ओली अखिलको भेलाले सामाजिक सञ्जालबाट जनताको बहुदलीय जनवाद, राजनेता केपी ओली, समृद्धिको एजेण्डा, सीमाना र चुच्चे नक्सा, नेतृत्व हस्तान्तरणलगायतका एजेण्डालाई व्यापक प्रचार गर्ने विषयमा छलफल र निर्णयसमेत गरेको छ । आजको भेलामा बालुवाटारनिकट केन्द्रीय सदस्य कसैको पनि उपस्थिति थिएन । तर,कार्यक्रमको समन्वय विनोद ढकालले गरेको बताइन्छ ।
उता,राजनीतिक दलहरूको आन्तरिक लडाईंबाट वाक्क भएका जनताले नचाहेर पनि बाध्य हुँदै राजतन्त्र समर्थकहरूको कार्यक्रममा सहभागिता जनाउन थालेका छन् । हुन तः ३० वर्षसम्मको निर्दलीय पञ्चायती व्यवस्थाबाट आजित भएपछि जनता आफैँ जुमुर्राएपश्चात् २०४६ सालमा व्यवस्था परिवर्तन भएको थियो । त्यसपछि मुलुक निर्दलीय व्यवस्थाबाट बहुदलीय व्यवस्थामा परिवर्तन भयो । नयाँ व्यवस्थापछि त्यतिबेला पनि जनताले देश विकासको सर्वमान्य अपेक्षा राखेका थिए । तर,राजनीतिक दलभित्रका मतमतान्तर र गुट उपगुटले विकासमा बाधा मात्रै पुर्याएन बहुदलीय व्यवस्थाप्रति नै वितृष्णा जगाइदियो ।
त्यसपछि राजाको प्रत्यक्ष शासनकालले आगोमा घिउ थप्ने काम गर्यो । जनताको पुरानै विकासको अपेक्षा पूरा नहुँदै मुलुकमा संघीय गणतान्त्रिक व्यवस्था लागू भयो । नयाँ व्यवस्था लागू भएको पनि डेढ दशक पूरा हुनलाग्दा समेत राजनीतिक अस्थिरता झन् बढ्दो गतिमा,भ्रष्टाचार सर्वत्र र बेथिति बग्रेल्ती हुन थाल्यो । अहिले तिनै राजावादीहरूले देशभर चलाएको अभियानमा युवाहरू समेत स्वतः स्फूर्त रूपमा सहभागी हुन थालेका छन् ।
हिजोका बद्नाम राजावादीहरूको क्रियाकलापलाई अहिलेको दलीय भागबण्डाले छोपिदिएको छ ।
यी सबै गतिबिधि दलीय झगडाको परिणामले नै ल्याएको हो । दलीय झगडा र बेथितिले जनअसन्तुष्टि चुलिँदै गएको छ । हिजोका बद्नाम राजावादीहरूको क्रियाकलापलाई अहिलेको दलीय भागबण्डाले छोपिदिएको छ । बुधबार पोखरामा राजावादीहरूको आह्वानमा भएको ठूलो र्याली र प्रदर्शन त्यसैको परिणाम भएको बताइन्छ । र्यालीको नेतृत्व जगत गौचनसहित पारससँग अघिपछि गरेर हिँड्ने लामा कपाल भएकाहरुले गरेको देखिन्थ्यो ।
पूर्व युवराज पारस शाह महिनौंदेखि पोखरामा छन् । राजनीतिको ‘र’ पनि मतलब नभएको भनिएका शाहको सामुन्ने आखिर हजारौं नागरिकले किन राजतन्त्रप्रति समर्थन गर्दै जुलुस निकालिरहेका छन् ? किनभने यसबीचमा दलहरूभित्र झाँगिएको गुट उपगुटको राजनीतिले सीमा नाघेको छ । जिम्मेवार दलहरू र तिनका सरकारले जनताको सरोकारमा निर्मम ढंगले बेवास्ता गर्न थालेको पनि धेरै भइसकेको छ ।
बुधबार जनकपुर र पाेखरामा “राजा आऊ, देश बचाऊ” भन्दै जुलुस प्रदर्शन भएको छ । यसअघि बुटवल हुँदै बर्दिया, नेपालगञ्ज, अत्तरिया, वीरगञ्ज, विराटनगर र धनगढीमा यस्तै प्रदर्शन भएको थियो ।
पोखरामा भएको प्रदर्शनः
(फोटो भिडियो सौजन्य-राधिका कडेल, पोखरा )
टिप्पणीहरू