नेपाल खुल्ला, चीन कडा

नेपाल खुल्ला, चीन कडा

नेपालले अन्तर्राष्ट्रिय उडानमा लगाएको सबै प्रतिबन्धहरू हटाउने तयारी गरिरहँदा उत्तरी छिमेकी चीनमा भने धेरैजसो उडान रद्ध हुन थालेको छ । युरोप र अमेरिकाका धेरैजसो शहरमा कोभिड–१९ महामारीको दोस्रो लहर शुरु भएको र विश्वका अत्यधिक सङ्क्रमित भएका स्थानबाट आएका यात्रु र आयातित तयारी खाद्य पदार्थका कारण सङ्क्रमणको जोखिम बढेको भन्दै चीनका केही शहर र स्थानमा पुनः कडाइको तयारी गरिएको छ ।

सांघाईको केही क्षेत्र,थिएनचिन्,तालियान्,खुनमिङ,सिन्जियाङ्ग,छिङ्गताओमा अझै पनि कोभिड–१९ को कुनै लक्षण देखिएको छैन । तर,आयातित खाद्य पदार्थ,समुद्री खाना र विदेशका संक्रमित स्थान र शहरबाट आएका यात्रुले जोखिम भने ह्वात्तै बढाएको बताइन्छ । चिनियाँ अधिकारीहरूले शुरु हुन लागेको जाडो मौसममा गत वर्षमा झैं पुनः कोभिड–१९ को महामारी देखिन सक्नेतर्फ थप सतर्कता अपनाउन थालिसकेका छन् ।

यसैबीच भारतले हालै गरेको आदानप्रदान उडानअन्तर्गत अक्टोबर ३० को एआई १३१४ उडानमा चीनको वुहान शहरमा नयाँ दिल्लीबाट २ सय ७७ जना गएका थिए । त्यहाँबाट १ सय ५७ जना यात्रु भारतको राजधानी नयाँ दिल्ली गएका थिए । तर, पीसीआर परीक्षणबाट नेगेटिभ रिपोर्ट लिएर नयाँ दिल्लीबाट वुहान गएका यात्रुमध्ये १९ जनामा विमानस्थलमा गरिएको परीक्षणमा कोभिड–१९ पोजिटिभ देखिएपछि चिनियाँ अधिकारीहरू थप सशंकित भएका हुन् ।

भारतीय प्रहरी र अधिकारीहरूले त्यस्ता नक्कली प्रयोगशाला र परीक्षण केन्द्रमा एक हजारदेखि १० हजार भारतीय रूपैयाँमा नक्कली नेगेटिभ रिपोर्ट बनाउने गरेको तथ्यसमेत फेला पारेको छ ।

उहानको जस्तै अवस्था यसअघि भारतबाट फिलिपिन्सको राजधानी मनिला गएका यात्रुमा समेत देखिएको थियो । भारतको सरकारी वायुसेवा एअर इण्डियाले भने आफूहरूले तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउँदै दोहोर्याएर गरिएको कोभिड–१९ परीक्षणको रिपोर्ट लिएका यात्रुलाई मात्र उडाएको दाबी गरेको छ ।

तर,स्रोतले भने एअर इण्डियाले सिफारिश गरेको प्रयोगशालामा परीक्षण गरिएपनि नक्कली स्वास्थ्यकर्मीले तयार पारेको ‘रेडिमेड नेगेटिभ रिपोर्ट’ का कारण वुहान पुगेका यात्रुमा कोभिड पोजिटिभ देखिएको दाबी गरेको छ । भारतीय प्रहरी र अधिकारीहरूले त्यस्ता नक्कली प्रयोगशाला र परीक्षण केन्द्रमा एक हजारदेखि १० हजार भारतीय रूपैयाँमा नक्कली नेगेटिभ रिपोर्ट बनाउने गरेको तथ्यसमेत फेला पारेको छ ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार प्रहरीले त्यस्ता नक्कली परीक्षणमा संलग्न समूह र कतिपय चिकित्सकलाई समेत पक्राउ गर्न थालेको छ । दुबै मुलुकमा गरी झण्डै पन्ध्र सय जना चिनियाँ र भारतीय नागरिक अध्ययन तथा रोजगारीमा रहेका छन् । कोभिड–१९ महामारीपछि भारतले आफ्ना नागरिक मुलुक फिर्ता गर्नको लागि ‘बन्दे भारत मिसन’ शुरु गरेको हो । वुहानअघि भारतले सांघाई,क्वाँगचौ र निङ्पोमा समेत पाँचवटा उडान गरिसकेको थियो ।

टिप्पणीहरू