सम्भव छ त ओली र देउवाको सरकार ?
सत्तारुढ कम्युनिष्ट पार्टीमा ठूलो क्षति नपुर्याई आफू बलियो नहुने, क्षति पुर्याउन दुबैतिर नियमित सम्पर्कमा बसी कता लाग्दा तत्काल फाइदा हुन्छ सो को हिसाब निकाल्नुपर्ने ! शुक्रबार भारतीय राजदूत विजयमोहन क्वात्राले प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई निवासमै गएर भेटेको चौबिस घण्टा नबित्दै देउवा समूहले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसहित बालुवाटारको कोर टिमसँग बालुवाटारमा झण्डै तीन घण्टा छलफल गरेको विषयलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ । यसअघि प्रधानमन्त्रीले भेटघाटको लागि गएका कतिपय पुराना नेता तथा सांसदसँग पार्टीभित्रको वर्तमान अवस्थालाई एकदम सामान्य ढङ्गले लिएको बताउनुभएको छ ।
शुक्रवार पाका पुरानाहरुसङ्गको भेटमा प्रधानमन्त्रीले नेकपा सचिवालयमा प्रस्तुत उन्नाइस पेजको आरोपपत्र र नेतृत्व तहमा देखिएको भनिएको विवादले आफ्नो एउटा ‘रौं’ पनि नहल्लिएको र सानो काँडाले कोतरेजस्तो मात्र अनुभव भएको बताउनुले उहाँ अझैपनि पूरै पाँच वर्षे कार्यकालका लागि प्रधानमन्त्री र अकण्टक नेकपा अध्यक्षमा ढुक्क रहेको छनक मिलेको बताइन्छ ।
नेकपाभित्रको अन्तरबिरोध चुलिएर माथि पुगेको बेला भारतीय संस्थापन पक्षले केपी, प्रचण्डलाई बिगतमा जति बोके पनि बर्ग चरीत्रका हिसावले समेत भरपर्दो मित्र काङ्ग्रेस नै भएको निश्कर्ष निकाली सोहिअनुरुपको नयाँ योजना अघि सारेको देखि“दैछ ।प्रतिनिधिसभातर्फ प्रधानमन्त्री ओलीनिकट भनिएका ७८ जना सांसदमा देउवाका अर्थात् नेपाली काँग्रेसका ६२ जना मिसाउँदा १ सय ४० हुन आउँछ । सरकार बनाउन आवश्यक सामान्य बहुमतको लागि १ सय ३७ सांसद भए पुग्छ । त्यसपछि राजनीतिक दलसम्बन्धी अध्यादेशमा यसअघिको ४० को सट्टा ३० प्रतिशतको व्यवस्था गरेर पार्टी विभाजन गर्न सकिने लुप होल राखेपछि हालै बनेको जनता समाजवादी पार्टी (जसपा) का असन्तुष्ट राजकिशोर यादव, अनिल झा र राजेन्द्र महतोहरूलाई विभाजनको लागि बाटो खुल्ने छ । त्यस्तो अवस्थामा नयाँ बन्ने महतोहरूको पार्टीलाई समेत सरकारमा सामेल गराउने डिजाइन बनाइएको हुनसक्छ ।
त्यसो गर्दा प्रधानमन्त्री ओली बढीमा आगामी एक वर्ष जसरी पनि ढुक्क हुने र त्यसपछि चुनावी सरकार बनाउने माहोल बनाउँदा देउवा पनि गद्गद् नहुने कुरै भएन । अहिले भइरहेको भेटघाटलाई त्यहि रूपमा लिइएको छ । देउवा र महतोहरूले कुनै हालतमा साथ दिन्नौँ भनेर अत्तो थाप्दा न ओली, न प्रचण्ड–माधव कुनै पनि पक्ष पार्टी फुटाउन अग्रसर नहुने भएपछि उनीहरू हामी छौँ नि भन्दै हौस्याउनतर्फ लागेको समेत आशंका गरिएको छ ।
यता भारतले पनि संविधान घोषणादेखि नै पहिले निहुँ खोजेर अघि बढ्ने रणनीति लिएको थियो । नक्सा प्रकरण त्यसैको निरन्तरता हो । तर, घटनाक्रमले जे–जे भने पनि प्रधानमन्त्री ओलीलाई आवरणमा सपोर्ट नगरुञ्जेल नेकपाभित्र विभाजन नआउने देखिएपछि सरकारलाई यो वा त्यो कोणबाट ढाढस दिने खेल प्रारम्भ भएको हो। यसअघि नेकपा फुटाउन अर्को पक्षलाई जति तेल लगाएपनि त्यो खेमाले मसक्क आँट्ने लक्षण नदेखिएपछि बरु बालुवाटारतिरै घ्यु दल्दा फलिफाप हुने संकेत आएकाले भारत, काँग्रेस र राजेन्द्र महतोहरूको भेटघाट क्रमशः बाक्लिन थालेको अनुमान छ । पार्टी विभाजनको अवस्थामा समेत आफैँ सरकारको नेतृत्वमा बसेर केही नतिजामुलक काम देखाउँदा फुटको असरलाई एक वर्षसम्ममा निमिट्यान्न पारेर पूर्ववत् अवस्थामा आउन सकिने सुझावसमेत बालुवाटारलाई दिइएको हुनसक्छ ।
बलियोलाई ढाल्न कमजोरहरुको एकता आवश्यक भएजस्तै बरु अल्पमतमा रहेको बालुवाटारलाई अनेक आश्वासन दिएर ढाडदेखि पैतालासम्म कन्याउँदा बेस हुने कसै कसैलाई लागेको छ । काँग्रेसले प्रधानमन्त्रीलाई साथ दिने विश्वसनीय आधार प्रस्तुत गरेको अवस्थामा नेकपा विभाजन गर्न बल पुग्ने र त्यसपछि काँग्रेसको दिन फ्याट्ट खुल्ने सन्देशसमेत सुनाइसकेकोले बूढानीलकण्ठ र बालुवाटारको भेटघाट बाक्लिएको स्रोतको दाबी छ ।
– द्रव्य शाह
टिप्पणीहरू