उड्न थाले प्याराग्लाइडिङ

उड्न थाले प्याराग्लाइडिङ

लामो समय कोरोनाको त्रासमा ठप्प रहेको पर्यटन क्षेत्र विस्तारै खुल्न थालेका छन् । मुख्य पर्यटकीय नगरी पोखरामा आन्तरिक पर्यटनको चहलपहल सुरु भएसँगै प्याराग्लाइडिङ पनि उड्न थालेका छन् ।

लामो समयको लक डाउनपछि पोखरामा सबैभन्दा बढी आन्तरिक पर्यटन भित्र्याउने क्षेत्र प्याराग्लाइडिङ बनेको छ । अहिले पोखराका आकाशमा दैनिक ५ देखि ६ सय हाराहारीमा प्याराग्लाइडिङ उड्ने गर्ने गरेको नेपाल हवाई खेलकुद संस्था (ना) ले जनाएको छ ।

सुस्ताएको पर्यटन व्यवसायलाई उकास्न अहिले ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । नेपाल हवाई खेलकुद संस्था (ना) का महासचिव बलराम आचार्यले अहिले ५० प्रतिशत छुट दिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको बताउनुभयो ।

अहिले एउटा कम्पनीले प्रतिदिन दुई पटक मात्रै उडान भर्ने व्यवस्था गरिएको छ । समय तालिका मिलाएर उडानको अनुमति दिइएको उहाँले बताउनुभयो ।  एकैसमयमा सबैलाई उडान अनुमति दिँदा टेकअप, ल्यण्डीङको समस्या उत्पन्न भइ दुर्घटनाको सम्भावना हुने भएकाले त्यसलाई व्यवस्थित गर्न समय तालिका निर्धारण गरिएको हो । अहिले पोखरामा नेपाल हवाई खेलकुद संस्थाबाट उडान अनुमति पाएका ३३८ प्यारापाइलट छन् । ६१ प्याराग्लाइडिङ कम्पनीमध्ये ११ कम्पनीले मात्रै लकडाउनपछि उडान भरिसकेका छन् ।

टिप्पणीहरू