भारतको राहत: मन जित्ने चाहत

भारतको राहत: मन जित्ने चाहत

दुई मुलुकबीच सिमाना विवाद बढेपछि चिसिएको सम्बन्ध सुधार्ने पहलस्वरूप भएको भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको दुई दिने नेपाल भ्रमणको पहिलो दिन बिहिबार सचिवस्तरीय प्रतिनिधिमण्डलबीच काठमाडौंमा वार्ता भएको छ । बिहान ११:३० बजे विशेष विमान चार्टर IFC031 बाट बिहान १०:४० बजे काठमाडौं उत्रिएका श्रृंगला र उनको छ सदस्यीय टोलीले औपचारिक वार्ताअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सिंहदरबारमा भेट गरेको थियो ।

झण्डै एक वर्षदेखि दुई देशबीच बढ्दै गएको दूरी र बोलचाल बन्दको स्थितिलाई चिर्न भन्दै आएको भारतीय टोलीले आफूले मिचेको नेपालको सिमानालगायतका विषयमा चुईंक्क बोलेको सुनिएको छैन । तर, कोरोना उपचारमा प्रयोग हुने भनिएको रेम्डिसिभिर इन्जेक्सनको दुई हजार भायलको उपहारलाई भने प्रमुख विषय बनाइएको छ । 

उता,  बिहिबारै औपचारिक वार्ता गरिएको राजधानीको याक एण्ड यति होटलमा पनि भारतले सबैको चासो रहेको नेपालको नयाँ नक्सा र उसले मिचेको नेपाली भूभागको बारेमा केही पनि उल्लेख गरेको छैन । यद्यपि आफ्नो पीडा र सरोकार राख्न पहल गर्नुपर्ने काम सबैभन्दा पहिले नेपालको हुन आउँछ । नेपालले कुरै राखेन भने त भारतलाई टन्टै साफ हुने नै भयो । सबैभन्दा संवेदनशील विषयमा कुरै नराख्ने पछिल्लो रवैया र प्रस्तुति नेपालको उच्च हिमाली भेगमा पाइने भनिएको रहस्यमय ‘यति’ कै विशेषताझैं देखिएको स्रोतको दाबी छ । ‘टाउको दुखेको औषधी नाइटोमा’ भनेझैं अहिले सबैभन्दा दुखिरहेको विषयमा केही पनि नबोल्ने तर कोरोनाका कारण दुखेको शरीर निको पार्ने रेम्सिडिभिर उपलब्ध गराएर महामारीमा नेपाली नागरिकको ‘सेन्टिमेण्ट क्यास’ गर्ने उपाय रहेको विश्लेषकहरू बताउँछन् ।

भूकम्पलगत्तै राहत र रेस्क्यु पठाएको भारतले यहि फर्मुला उसका स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेले केही साताअघि गरेको नेपाल भ्रमणको क्रममा पनि प्रयोग गरेको थियो भने “र” प्रमुख सामन्तकुमार गोयलले प्रधानमन्त्रीसङ्ग मध्यरातको भेटमा भारतबिरोधी जनमत न्यूनिकरण गरिनुपर्ने खाँचो औंल्याएका थिए । नरवाणेले नेपाली सेनाको मानार्थ महारथीको दर्जा ग्रहण गर्न आउने क्रममा त्यसैगरी जङ्गी अड्डामा कोभिड–१९ सँग सम्बन्धित स्वास्थ्य सामाग्री उपहारस्वरूप प्रदान गरेर महामारीमा जनताको मन जित्ने कोशिस गरेका थिए ।

टिप्पणीहरू