शिक्षामन्त्री पोखरेलले शिक्षकहरूलाई के प्रश्न गरे ?

शिक्षामन्त्री पोखरेलले शिक्षकहरूलाई के प्रश्न गरे ?

१२ को परीक्षा चलिरहेको छ । कोरोनाको कारण परीक्षा भएको थिएन परीक्षा हुन सक्यो त्यो सकारात्मक कुरा हो । परीक्षा भनेको अनुशासित, मर्यादित, विधि र असल मूल्याङ्नमा आधारित हुन्छ र हुनुपर्दछ । स्वच्छ, अनुशासित र विधिमा आधारित परीक्षाबाट उतिर्ण भएका नागरिकहरूनै भोलीका मुलुक परिवर्तनका सम्वाहक हुन् । तर नेपालमा भईरहेको परीक्षा इतिहासमै अमर्यादित, वेथितीपूर्ण र अविस्सयोग्य बन्न पुग्यो । परीक्षामा कलेजका शिक्षक स्वयम् विद्यार्थीहरूलाई चिट चोराउने, गाइड र गेर पेपर राखेर लेख्न दिने, मोवाइलबाट सार्न दिने मात्र भएनन प्रश्नपत्र नै आउट गरिदिने कार्य समेत भएका छन् । यो भन्दा भद्दा र विजोगलाग्दो परीक्षा अन्य के हुन सक्ला ? सबै दोष कोरोनालाई दिएपछि मुक्त भईन्छ ? यस्तो खाले परीक्षाको तरिकाबाट स्कुल, कलेज र शिक्षकहरूमाथि गम्भीर सवाल उठेको छ ।

चालू भईरहेको परीक्षामा विकृति र विसंगति अति धेरै देखिएका छन् । विगतमा एसईईमा स्कुलहरूलाई मूल्याङ्कन गर्न दिँदा पनि निजी क्षेत्रका स्कुलहरूले आफूखुसी आफ्ना विद्यार्थीहरूलाई ‘४ जीपिए’ दिएर पठाएका थिए । यसपालि भएको परीक्षाका क्रममा नेपालका स्थापित कलेजहरूमा भएको हर्कत र गतिविधि हेर्दा विगतमा हुँने गरेको ‘विहारी परीक्षा’लाई पनि माथ गर्ने क्रिया र घटनाहरू भएका छन् र भईरहेका छन् । पङ्तीकारले गरेको सवालमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भन्नुभयो–‘शिक्षकले नैतिकता गुमाएपछि के लाग्छ ?’ उहाँले अगाडि थप्नुभयो–‘सबै स्कुलमा त्यस्तो भएका छैनन् ।’ ‘नैतिकताको पाठ सिकाउने स्कुल र शिक्षकहरूले नैतिकता गुमाएपछि कसको के लाग्छ ?’ ‘कोरोनाको बीचमा परीक्षा हुन सक्यो यो ठूलो कुरा हो ।’

शिक्षामन्त्रीको भनाई हेर्दा परीक्षा हुनुमा सरकार उपलब्धि भएको ठान्दछ । एक अर्थमा त्यो राम्रो काम पनि हो । परीक्षा नभईरहेको अवस्थामा परीक्षा हुन सक्यो । तर के परीक्षा भनेको किन र के का लागि गरिन्छन् ? के कक्षा उकाल्ने मात्र परीक्षाको काम हो ? जाँचको लागि जाँच हो ? मर्यादित परीक्षा पद्धत्ति विना उत्पादन भएको मुुलुकका शिक्षित नागरिकले भोली कुन क्षेत्रमा कसरी कस्तो योगदान दिन सक्लान ? अर्काेतर्फ के औपचारिक परीक्षा मात्र सबै कुरा हो ? कलेजका औपचारिक परीक्षाबाट मात्र विद्यार्थीको सामाजिक, आर्थिक र बौद्धिक जीवन अघि बढ्न सक्दछ ? यो गम्भीर सवाल उठेको छ ।

अर्काेतर्फ नेपालमा भएको निजी क्षेत्रको लगानी, पेशा, व्यवसाय र समग्र शैक्षिक क्षेत्रलाई कसरी मूल्याङ्कन गर्ने ? यो पनि एउटा गभ्मीर प्रश्न उठेको छ । निजी क्षेत्रबाट शिक्षा, स्वास्थ्य, तालिम देखि अनेकौं बौद्धिक र सार्वजनिक क्षेत्रमा लगानी गरिएका छन् । आजको समयमा निजी क्षेत्र विना राज्य संचालन हुन सक्ने अवस्था पनि छैन् । अब त्यस्तो महत्पवूर्ण निजी क्षेत्र त्यो पनि शिक्षित मानवको उत्पादन गर्ने थलोमा त्यस्तो भईदियो । आजको युवा भोलीका मुलुक निर्माण गर्ने शक्ति हुन् । आजका विद्यार्थी भोलीका नीति–निर्माता हुन् । यस्तो नीति निर्माण गर्ने आधार पहिल्यै प्रदूषित बन्नपुग्यो भने भोलीको नेपालको अवस्था कस्तो होला ?

आजको शैक्षिक जगत कोरोना र अन्य कारणले तहस–नहस भएको अवस्था रहेको छ । अनलाइन कक्षाको नाममा यतिधेरै विकृति देखिन्छ कि विद्यार्थी र अभिभावक हैरान भएका छन् । नर्सरीको पेन्सिल समात्न नसक्ने बालबालिकाले कसरी अनलाइनको कक्षामा सहभागी हुन् सक्लान ? अनलाइनमा सहभागी अभिभावकले नै गराईदिनु पर्ने अनि स्कुलले पैसा असुली गर्ने ? पैसा नदिए स्कुलबाटै लाइन काटिदिने । अब बच्चाबच्चीको अनलाइन कक्षाको कारण अभिभाकले आफ्ना दैनिक पेशा व्यवसाय गर्न पनि नपाउने भएका छन् । सहरी क्षेत्रमा यस्तो हालत छ भने ग्रामिण क्षेत्रमा जहाँ इन्टरनेटको पहुँचै छैन् त्यहाँको हालत के होला ? सवाल अति जटिल बन्दैछन् ।

अवस्था कस्तो भने ‘खाउँ भने कान्छाबाबुको अनुहार नखाउँ भने दिन भरको शिकार’ जस्तो बन्न पुग्यो निजी शैक्षिक संस्था । सरकारीमा शिक्षकलाई ‘पार्टीको बैठक’ बस्दै ठिक्क हुन्छ । पढाउने भन्ने हँुँदैन । अनि अभिभावकले निजी लाई रोज्नै पर्ने भयो । निजीको ताल यस्तो अनि नागरिकले के गर्ने ? संविधान कानुनमा आधारभूत तहको शिक्षा निशुल्क भनेको पनि छ । राज्यको नीति शिक्षा क्षेत्रमा लगानी गर्ने र सुधार गर्ने पनि रहेको छ । तर शिक्षा क्षेत्रमा अग्रिणी उत्तरदायित्व र भूमिका भएका स्कुल, कलेज र त्यहाँका शिक्षकहरूको सोच, व्यवहार, मनोविज्ञान र कार्यशैली हेर्दा उदेक लाग्दो देखिन्छ ।

१२ कक्षा भनेको अब त्यो विद्यार्थी निकट भविश्यमै आफ्ना कार्य क्षेत्रमा तथा रोजगारीमा निस्कनै लागेका जनशक्ति हुन् । यस्तो जनशक्तिको परीक्षा किन यति अमर्यादित र अविस्वासयोग्य बनाईयो ? के जुनसुकै तरिका र हर्कत गरेर कापीमा काला अक्षर भर्नु मर्यादित परीक्षा हो ? यस्तो तरिकाबाट उत्पादन भएको जनशक्तिले भोलीका दिनमा राष्ट्रका कुन क्षेत्रमा असल र नैतिक कार्य गर्न सक्दछन् ? अर्काेतर्फ सीमित विद्यार्थी र स्कुल–कलेज इमान्दार र नैतिक मूल्यबाट चल्ने पनि छन् । सबका सब त्यस्तै छन् भन्ने पनि होइन । तर चोरको बथानमा रहेका चार जना सज्जनलाई देख्नेले कुन नजरले हेर्ला ? आजको गणतान्त्रिक–लोकतान्त्रिक पद्धत्तिको संस्कृति यस्तै हो ? यस्तो शैक्षिक संस्कार र संस्कृतिले भोलीको नेपालको अवस्था कस्तो होला ? यो बढो पेचिलो प्रश्न भएर रहेको छ ।

एकातर्फ सरकार परीक्षा भएकोमा गर्व गर्ने अर्काेतर्फ निजी स्कुलहरू कालीमाटीको तरकारी बजारमा क्रेता–विक्रेताले तरकारी छान्दै फाल्दै गरे जस्तो गरी परीक्षामा गाइड, गेर पेपर तथा मोवाइलको साँटासाँट गर्ने भयो भने त्यो परीक्षाको के अर्थ ? त्यस्ता परीक्षा संचालन गर्ने ‘इन्टरनेशनल कलेज’ भन्दै ठूला बोर्ड लगाएर बसेका कलेजहरूको नैतिकता, क्षमता र विस्वास माथि किन प्रश्न नगर्ने ?

परीक्षा औपचारिक मात्र हुन्न । जीवन भर परीक्षानै परीक्षा हुन्छ । परिवारमा परीक्षा । समाजमा परीक्षा । पेशा–व्यवसायमा परीक्षा । परीक्षै परीक्षा हुन्छन् जीवनभर । नैतिकताको परीक्षा । कार्यक्षमताको परीक्षा । योग्यता–क्षमताको परीक्षा । प्रत्येक पाइलामा जताततै परीक्षै परीक्षा हुन्छन् । एउटा औपचारिक परीक्षामा झुक्काउने र चोरीचोरी कापी भने तरिकाले भोली त्यो संस्था र विद्यार्थीलाई कहाँ पुर्याउला ? मुलुकको शिक्षा क्षेत्रमा भईरहेको वेथिती हेर्दा निजी क्षेत्रका शिक्षण संस्थाहरू माथि एउटा ठूलो सार्वजनिक सवाल जन्मिएको देखिन्छ । जसरी पनि आफ्ना विद्यार्थीलाई ‘फोर जीपिए’ दिलाउने ? अनि त्यो जीपिएलाई सार्वजनिक गरी भजाएर अन्य सोझा अभिभावक तान्ने यो भन्दा विकृति र भद्रगोल अर्काे के होला ? शिक्षा र स्वास्थ्य जस्ता आधारभूत कुराहरूमा राज्यको ध्यान नपुगेको हो कि किन हो ? यस्तो विकृति र विसंगतिलाई कसले कहिले रोक्ने हो ? अभिभावक र आम सचेत नागरिकहरूलाई यसले चिन्तित र गम्भीर बनाएको छ । शिक्षामन्त्री पोखरेलले भनेजस्तै नैतिकताको पाठ सिकाउने शिक्षक र शैक्षिक संस्था नै अनैतिक भईदिए भने भोलीको नेपालको शिक्षाको स्तर र अवस्था कस्तो बन्न पुग्ला ? जीपिएको दौडमा लागेका निजी स्कुल र शिक्षकहरूको घाँटीमा घन्टी लगाउनै पर्ने भएको हो त ?

  • अधिवक्ता प्रेमराज सिलवाल

टिप्पणीहरू