क्याबिनेटमा जब मन्त्रीको प्रस्ताव नै सुनुवाई भएन

क्याबिनेटमा जब मन्त्रीको प्रस्ताव नै सुनुवाई भएन

सोमबार मन्त्रिपरिषद्को नियमित बैठक सँधैझैँ बालुवाटारमा बसेको थियो । क्याबिनेट बैठकले तीनजना सहसचिवलाई सचिवमा पदोन्नत गर्ने निर्णय गर्यो । छ पटकसम्म फालिएका सहसचिव गोकर्णमणि दवाडीलाई लाजगालले यसपटक भने सचिवमा उकालिएको छ ।

प्रायः राजनीतिक कुराकानी र विषयले महत्व पाउने क्याबिनेटमा यसपटक त्यस्तो केही पनि नउठेको एकजना मन्त्रीले बताएका छन् । बरु,आफ्नो निर्वाचन क्षेत्र महोत्तरीको बर्दिबासमा भएको नाबालिका बलात्कारपछिको हत्या र गोली काण्डको बारेमा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले ब्रिफिङ्ग गर्दै छानबीन टोली गठनको प्रस्ताव राख्नुभएको थियो ।

पोखरेलको प्रस्ताव सुनिसकेपछि प्रधानमन्त्रीले तात्तातो जवाफ फर्काइहाल्नुभयो ‘छानबीन टोलीको आवश्यकता छैन । बरु दोषीलाई आवश्यक कानुनी कारबाही भइहाल्छ । घटनालाई राजनीतिक रंग दिन हुँदैन ।’ प्रधानमन्त्रीले त्यसो भनेपछि पोखरेलको प्रस्ताव त्यत्तिकै तुहियो ।

त्यसपछि प्रधानमन्त्रीले अरु केही छ ? भनेर सोधेपछि परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले चीनका रक्षामन्त्री र भारतका विदेश सचिवको भ्रमण हुन लागेको ब्रिफिङ्ग गर्नुभयो । उहाँले यसक्रममा चिनियाँ रक्षामन्त्रीले पूर्व रक्षामन्त्री तथा हाल प्रधानमन्त्री कार्यालय र मन्त्रिपरिषद्को सचिवालय हेर्ने जिम्मेवारीमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल गर्ने कार्यक्रम रहेको र भारतीय विदेश सचिवचाँहि नेपालका परराष्ट्र सचिवको निम्तोमा आउन लागेको बताउनुभएको थियो ।

टिप्पणीहरू