सशस्त्रमा लुटको संसार

सशस्त्रमा लुटको संसार

कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने अदालतको आदेश र सरकारी निर्णयको बेवास्ता गर्दै सशस्त्र मुख्यालयका एक एसपी कोरोना पीडित सिपाहीहरूसँग रकम बटुलिरहेका छन् ।

महामारीलाई कमाउने मेसो बनाई संक्रमित सिपाहीहरूसँग पैसा असुल गर्ने एसपी प्रमोद साह हुन् । सवारी प्रमुख । साह मातहत सवारीमा तीन दर्जनभन्दा बढी चालक, प्राविधिक र मेकानिकलसँग सम्बन्धितलगायत अन्य प्रहरी कार्यरत छन् । यीमध्ये अधिकांशलाई कार्यक्षेत्रमा खटिएकै बेला कोरोना संक्रमण भयो ।

उपचार सशस्त्र मुख्यालयमै रहेको अस्पतालमा राखी गरियो । उपचारपश्चात् काममा फर्किएका उनीहरूसँग अस्पताल बसी उपचार गर्दाको खर्च भनी दिन गनेर २५ सय देखि ३ हजारसम्म असुल गरियो । उनीहरूले कोरोना उपचारको त पैसा लाग्दैन, फेरि अस्पतालले नलिएको पैसा यहाँ किन दिनुपर्ने भनी सोधे । जवाफमा एसपी प्रमोदको विश्वासपात्र असई रामहरि भारतीले यो तिमीहरूले अस्पताल बस्दा बिहानदेखि बेलुकासम्म खाएको राशनको बिल हो भनी उठाए ।

कोरोना लागेका प्रहरीहरूको उपचार अस्पतालले निःशुल्क गर्दै आएको छ । उपचार नै निःशुल्क गरेपछि खानाको पैसा तिराउने कुरा हुँदैन । तर, माथिकालाई रिझाएर तलकाको निर्मम शोषण गर्ने शैली भएका प्रमोदले गरिब र तल्लो तहका कोरोना पीडित सिपाहीसँग उपचार हुँदा अस्पतालले दिएको राशनको समेत दिन गनेर रकम असुली छाडे । प्रमोद त्यहाँ बसेको दुई वर्ष नाघिसकेको छ ।

मातहतका प्रहरीहरूसँग अनेक नाममा शुभलाभ हासिल गरी माथिकालाई रिझाउन खप्पिस उनी दुई वर्षपछि सरुवा हुनुपर्ने प्रावधान भए पनि त्यहीं टिकिरहेका हुन् । प्रमोदले घिउ, महलगायत कोसेली ल्याइदिने मातहतका प्रहरीलाई मागेबमोजिम बिदा दिने गरेको र नल्याउनेलाई बिदा दिन निकै कञ्जुस्याईं गर्नेगरेका छन् । उनले एक महिला सहायक हवल्दारलाई ७ महिनादेखि लगातार छुट्टी दिएका छन् ।

यसैगरी प्रमोद चालकलाई पनि महिनौंसम्म बिदामा छाड्छन् । यसरी मातहतका प्रहरीलाई बिदामा छाडे पनि एकैपटक हाजिर गराएर तलब, भत्ता खुवाउँदा केही प्रतिशत रामहरिमार्फत बुझ्ने गरेको बताइएको छ । बिदामा गएका प्रहरीका राशन र अन्य सुविधा त छाड्ने कुरै भएन । रामहरि त्यहाँका कोर्टमास्टर (राशन इञ्चार्ज) पनि हुन् ।

उनले कार्यरत सबैलाई खाना खुवाउन खरिद गर्नेदेखि व्यवस्थापनसमेत हेर्छन् । प्रमोदसँगको मिलोमतोमा रामहरिले कमसल चामल, दालदेखि अधिकांश छाकमा सस्तो केराउ ल्याएर खुवाउने गरेका छन् । रामहरिले सहकर्मीको शोषण गरी कमाएर सेवा पु¥याएकाले ६/६ महिनामा परिवर्तन हुने कोटमास्टर ३ वर्ष पुग्दा पनि परिवर्तन भएका छैनन् ।

टिप्पणीहरू