कोभिड खोप एक हप्तामै सिद्धिन सक्छ : बेलायत

कोभिड खोप एक हप्तामै सिद्धिन सक्छ : बेलायत

बेलायत सरकारले अक्सफोर्ड विश्वविद्यालयले मानव प्रयोगको लागि अन्तिम चरणमा पुर्याएको भनिएको कोभिड भ्याक्सिन प्रयोगको लागि अनुमति दिइएको एक हप्तामै सिद्धिनसक्ने बताएको छ । उसले हालै औषधी तथा स्वास्थ्यसँग सम्बन्धित सामाग्रीको नियामक निकाय (एमएचआरए) लाई अक्सफोर्ड आष्ट्रा अनुवांशिक कोरोना भाइरस भ्याक्सिनको अनुमोदन प्रक्रिया अघि बढाउन भनेको थियो ।

बेलायती स्वास्थ्य सचिवका अनुसार उक्त भ्याक्सिन लगाइदिन सैनिक र राष्ट्रिय स्वास्थ्य सेवाका चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आगामी डिसेम्बरको शुरुदेखि नै बेलायतभर तयारी अवस्थामा रहने छन् । यद्यपि खोप प्रयोगको निम्ति अझै पनि अनुमोदन भइसकेको छैन । अनुमोदन भएको अवस्थामा पनि प्रयोगको लागि खोप सार्वजनिक हुन थप केही हप्ता लाग्नेछ ।

बेलायत सरकारले उक्त खोपको १० करोड डोज यसअघि नै अर्डर गरिसकेको छ । उक्त संख्या ५ करोड जनामा लगाउन मात्र पर्याप्त हुन्छ । बेलायतको स्वास्थ्य तथा सामाजिक सुरक्षा विभागका अनुसार अक्सफोर्डको खोप अनुमोदन भएमा बेलायत कोभिड–१९ बिरुद्धको खोप बनाउने,अनुमोदन गर्ने र लगाउने विश्वकै पहिलो राष्ट्र बन्नेछ ।

प्राप्त समाचारअनुसार कम्पनीले बेलायतको लागि यो वर्षको अन्तसम्ममा ४० लाख र आगामी वर्षको मार्च अन्तिमसम्ममा थप ४ करोड डोज खोप उत्पादन गर्नेछ । त्यसैगरी उक्त खोपको प्रभावकारिता घटिमा ६२,बढीमा ९० र समग्रमा ७० प्रतिशत रहेको समेत जनाइएको छ ।

टिप्पणीहरू