हिजो को-को कहाँ पुगे ? कसले के भने ?

हिजो को-को कहाँ पुगे ?  कसले के भने ?

आज शनिबार हुन लागेको नेकपाको सचिवालय बैठकलाई सबैले उत्सुकता र आशंकासहित हेरिरहेको अवस्थामा नेताहरूबीच छलफल र भेटघाटको गति तीब्र भएको छ । त्यहि क्रममा हिजो शुक्रबार बिहान नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा ऊर्जा मन्त्री वर्षमान पुन र नेता मातृका यादवले संयुक्त रूपमा भेटेका छन् । उक्त भेटघाटको १० मिनेटपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीले दाहालसँग करिब पौने घण्टा भेटवार्ता गरेको खुमल्टार सचिवालय श्रोतको कथन छ ।

हिजै खुमलटारमा दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच पनि दिउँसो झण्डै तीन घण्टासम्म घनिभूत छलफल भएको थियो । दाहालले वि.सं.२०७४ देखि २०७७ सम्म विभिन्न सञ्चारमाध्यममा दिनुभएको अन्तर्वार्ताहरूको संग्रह ‘नयाँ राजनीतिक विश्लेषण’ पनि हिजै सार्वजनिक भएको छ । उक्त पुस्तक प्रज्ञा स्मृति प्रतिष्ठान,नेपालले प्रकाशन गरेको हो ।

यता,प्रधानमन्त्री निवास बालुवाटारमा पनि हिजो भेटवार्ता र छलफल निकै बाक्लिएको थियो । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णु पौडेलबीच बिहान को भेटघाट झण्डै एक घण्टा लम्बिएको थियो । त्यसैगरी, प्रधानमन्त्रीसँग नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले पनि यसरी नै छलफल गर्नुभएको थियो । त्यसपछि प्रधानमन्त्रीलाई भेट्न मुख्यसचिव शंकरदास बैरागी बालुवाटार पसेको बताइन्छ ।

यता,वरिष्ठ नेता नेपाल निवास,कोटेश्वरमा स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पार्टीको बिबाद बढ्न नदिन झण्डै डेढ घण्टा कुराकानी गर्नुभएको र पर्यटन मन्त्री योगेश भट्टराईलाई उर्जामन्त्री बिष्णु पौडेलले आफ्नै कार्यकक्षमा झिकाउनुभएको सहयोगी समूहले जनआस्थालाई बतायो ।

उता, नेकपा उपाध्यक्ष वामदेव गौतमसँग भेट गर्न उहाँकै निवास, भैसेपाटीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल साँझ पुग्नुभएको थियो । पोखेरल र गौतमबीच झण्डै डेढ घण्टा वार्तालाप भएको थाहा लागेको छ ।

अब म केपी ओलीसँग फाईट गर्न चाहन्छु,तपाईंहरूले सहयोग गर्नुहोस्’ भनेर आग्रह गरेपनि आफूहरूले त्यसमा सहयोग गर्न नसक्ने जवाफ फर्काएको बताएका छन् ।

सचिवालय बैठकको पूर्व सन्ध्यामा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले एक टेलिभिजन कार्यक्रममा बोल्दै आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्षले अर्का अध्यक्ष प्रचण्डको पत्रको उचित जवाफ दिने बताएका छन् । थापाले प्रधानमन्त्रीमाथि लगाइएका आरोपहरू फौजदारी कानुन आकर्षित हुने चरित्रका रहेकाले अब प्रचण्डले आत्मआलोचना गरेर मात्रै पनि सुख नपाउने बताएका थिए ।

त्यसैगरी नेकपा स्थायी कमिटी सदस्य मणि थापाले एक टेलिभिजन अन्तर्वार्तामा आफूसँग अध्यक्ष प्रचण्डले ‘अब म केपी ओलीसँग फाईट गर्न चाहन्छु,तपाईंहरूले सहयोग गर्नुहोस्’ भनेर आग्रह गरेपनि आफूहरूले त्यसमा सहयोग गर्न नसक्ने जवाफ फर्काएको बताएका छन् ।

हिजै, नेकपा विप्लव समूहका खोटाङ जिल्ला पूर्व आर्थिक विभाग प्रमुख सुदिप शर्मालाई प्रहरीले हलेशी तुवाचुङ नगरपालिका–२,डकुवाबाट पक्राउ गरेको छ भने वैद्य समूह भनेर चिनिने नेकपा क्रान्तिकारी माओवादीले भारतद्वारा कब्जा गरिएको भूभाग फिर्ता,एमसीसीको बिरोधलगायतका विषयमा मंसिर २५ गते काठमाण्डौसहित देशका सबै प्रदेशमा बिरोध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ ।

टिप्पणीहरू