प्रधानमन्त्रीले आजको बैठकमा ‘राजनेता’को छनक दिने
नेकपाको सचिवालय बैठक आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । मंसिर ३ गतेको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसअघिको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा आफू लक्षित विषयको बुँदागत जवाफ पेश गर्न १० दिन समय मागेपछि सचिवालयको बैठक आजको लागि सरेको हो । राष्ट्रिय राजनीतिमा झैँ पार्टीको आन्तरिक राजनीतिमा देखिएको धमिलो वातावरणमा समेत निहित स्वार्थपूर्तिका लागि सल्बलाउनेहरूले आफ्नो अभियानलाई जारी राखेका छन् ।
विशेषगरी आजको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले पार्टी एकता र आन्तरिक परिस्थितिलाई नसोचेको खराब अवस्थामा पुर्याउने आँकलन गर्दै जवाफ पेश गर्ने धारणा बालुवाटारमा रहेका केही सल्लाहकारले खुलमखुल्ला सञ्चारमाध्यममा छरपस्ट पारिरहेका छन् । तर, दुई तिहाई बहुमत नजिकको इतिहासकै शक्तिशाली सरकारको नेतृत्व गर्नुभएको र मुलुकमा एकीकृत कम्युनिष्ट पार्टी निर्माणमा ऐतिहासिक पहल गर्नुभएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष सुझबुझ र जिम्मेवारपूर्ण ढंगले आजको बैठकमा प्रस्तुत हुने बालुवाटार निकट अर्काथरीले बताएका छन् ।
पार्टीको इतिहासमा अभिलेख रहने भएकाले पनि अहिले मिडियामा छरपष्ट पारिएकोजस्तो असभ्य लिखित जवाफ बैठकमा दर्ज नहुने उनीहरूको दाबी छ । प्रधानमन्त्री निकट एकजना नेता भन्छन् ‘फलेको वृक्ष सदैव निहुरिन्छ । अहिले पार्टीको लागि प्रधानमन्त्री तथा अध्यक्ष ओली फलेको बृक्ष हुनुहुन्छ । त्यसैले वहाँले समस्यालाई बुद्धिमत्तापूर्वक समाधान गर्ने हिसाबले शिष्ट भाषा र तवरले आफ्ना लिखित धारणा राख्ने तयारी गरिएको छ ।’
अर्कोतर्फ,प्रधानमन्त्रीका अति विश्वासपात्र तथा निकटस्थ नेताहरूले समस्या समाधानको लागि गरेको दौडधुप र राखेका अप्रत्यक्ष प्रस्तावबाट पनि प्रधानमन्त्रीले यसअघिका सबै प्रस्तुतिलाई माथ गर्नेगरी आजको बैठकमा ‘राजनेता’ को छनक दिने बताइन्छ । हिजो अबेरसम्म राजधानीमा देखिएको बालुवाटार निकट नेताहरूको दौडसँगै समाधानका विभिन्न उपायहरूको समेत चर्चा र घुमाउरो प्रस्ताव हुन थालेको हो ।
चालु संसदको कार्यकालभरि संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली नै रहने र अध्यक्षको जिम्मेवारी मात्रै छाड्दा के होला ? भनेर समेत भेटघाटमा कुरा उठेको बताइन्छ ।
जनादेशलाई आत्मसम्मान गर्दै चालु संसदको कार्यकालभरि संसदीय दलको नेता तथा प्रधानमन्त्री केपी शर्मा ओली नै रहने र अध्यक्षको जिम्मेवारी मात्रै छाड्दा के होला ? भनेर समेत भेटघाटमा कुरा उठेको बताइन्छ । त्यस्तै अर्को एउटा प्रसंगमा समस्या समाधानको लागि सचिवालयलाई थप समावेशी बनाउने उद्देश्यले अष्टलक्ष्मी शाक्य,कृष्णबहादुर महरा र शंकर पोखरेल (महासचिव बनाउने गरी) लाई समेटेर १२ सदस्यीय बनाउँदाको अवस्थालाई पनि मनन् गर्न हिजो बेलुकीदेखि घुमाउरो तवरले कुरो उठेको छ ।
यसबीच पूर्व उपप्रधानमन्त्री तथा नेकपाका उपाध्यक्ष वामदेव गौतम र उपप्रधानमन्त्री तथा पूर्व महासचिव ईश्वर पोखरेलबीच गौतम निवास भैंसेपाटीमा भएको झण्डै डेढ घण्टा लामो भेटवार्तामा पोखरेलले पनि अध्यक्ष छाड्दा र सचिवालयको संख्या थप गर्दाको परिस्थितिको बारेमा संकेत गर्नुभएको बताइन्छ । पोखरेलले विशेषगरी पूर्व एमालेका नेताहरूसँगको भेटमा जनताको बहुदलीय जनवादको विषयलाई उठाउँदै आउनुभएको छ । त्यसक्रममा हिजो गौतमसँगको भेटमा पनि उहाँले समस्या समाधानको उपाय भन्दै सो प्रस्ताव गरेको हुनसक्ने स्रोतको दाबी छ ।
टिप्पणीहरू