जनआस्थाको लेखाइको भारतमा असरः जेलबाट ३९ वर्षपछि छुट्दै

भारतीय जेलमा झण्डै चालिस वर्षदेखि गुमनाम र बेवारिसे अवस्थामा रहेका एकजना नेपालीको अब छिट्टै उद्धार हुने भएको छ । दुर्गाप्रसाद तिम्सिना नाम गरेका ती व्यक्तिको नारकीय जेल जीवनको बारेमा जनआस्थाले लेखेपछि उनी जेलमुक्त हुने सिलसिला अघि बढेको हो । कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको समन्वयमा हालै मात्र दुर्गाको काकाका छोरा प्रकाश तिम्सिना र भारतीय एमेच्योर रेडियो क्लबका सदस्यहरूसँगको सम्पर्कपछि उनीबारे धेरै कुरा बाहिर आएको बताइन्छ ।

प्रकाश तिम्सिनाका अनुसार दुर्गाप्रसादको जन्म २०१६ सालदेखि २०१८ सालवीच भएको र उनी २० वर्षको हाराहारीमा बेपत्ता भएका हुन् । उनी आफू पनि अहिले ५६ वर्षको भएकोले दुर्गाप्रसाद आफूभन्दा दुईदेखि तीन वर्ष जेठो रहेको बताउँछन् । झापा दमकका प्रकाश इलामको चुलाचुलीस्थित प्राथमिक विद्यालयका शिक्षक हुन् ।

प्रकाशका अनुसार शुरुमा दीपक जैसी भनिएका दुर्गाप्रसादले तीन चार वर्षअघि एउटा चिटमा केही लेखेर दमक पठाएका थिए । जसमा ‘आफूलाई महिनाको एकपटक दार्जिलिङ्गको अदालत लैजाने गरिएकाले तिमीहरू पनि त्यहि बीचमा भेट्न आओ’ भनेर लेखिएको थियो । तर, त्यो लेखाई र चिट नै अपुष्ट भएकाले आफूहरूले भेट गर्न नसकेको प्रकाश बताउँछन् ।

अहिले बुझ्दै जाँदा दुर्गाकी आमा र दुई जना भाइ जीवितै रहेको पुष्टि भएको छ । एउटा भाइको मानसिक अवस्था केही बिग्रिएको र कान्छो भाइ भने मेनेन्जाइटिस निको भएपनि बिरामी अवस्थामै छन् । उनको सबै परिवार इलाममै बस्छन् ।

नयाँ दिल्लीस्थित स्रोतका अनुसार अब दुर्गालाई दार्जिलिङ्गस्थित उच्च अदालतमा लैजाने प्रक्रिया अघि बढेको छ । यसबीच फाइल दार्जिलिङ्ग गएपछि उच्च अदालतले सम्भवतः उनलाई तारिखमा छोड्नसक्छ । अदालतले तारिखमा छाड्नेबित्तिक्कै परिवारको उपस्थितिमा मेची पुल ल्याएर जिम्मा लगाउने कानुनविद्हरूले बताएका छन् । तर त्योभन्दा अगावै दिल्लीको सर्वोच्च अदालतबाट बन्दीप्रत्यक्षीकरणको आदेश हुने सम्भावना छ ।

हालसम्म संकलित विवरणअनुसार ३८ वर्षअघि दुर्गाले भारतमा कसैको हत्या गरेका थिए । अहिलेसम्मको सबै घटनाक्रमलाई केलाउँदा सोही कारण उनी कर्तव्य ज्यान मुद्दामा थुनामा परेको देखिन्छ । एमेच्योर रेडियोका प्रतिनिधिहरूको अनुसार उनलाई आजभन्दा ३८ वर्षअगाडि कोही कसैको हत्या गरेमा भारतीय सुरक्षा फोर्समा जागिर लगाइदिने प्रलोभन दिइयो । दुर्गाले पनि आफूले त्यहि प्रलोभनमा परेर कसैको हत्या गरेको स्वीकारेका छन् । त्यसपछि उनीबिरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालती प्रक्रिया चलेको बताइन्छ ।

सम्भवतः जेलमा राखेपछि मानसिक सन्तुुलन बिग्रियो । जसका कारण अदालती प्रक्रिया पनि अवरुद्ध भयो । प्रहरीले मानसिक अवस्था ठीक भएपछि अदालतमा लैजाने भन्दै गर्दा झण्डै चार दशक बितेको हुनसक्ने अरुले अनुमान लगाएका छन् । प्रत्यक्षदर्शीका अनुसार दुर्गाले कहिलेकाँही सहज कुराकानी गरेपनि कुनै बेला पूरै मानसिक अवस्था गुमेको मानिसले झैँ कुरा गर्ने गरेका छन् ।

उनले चार दशकसम्म जेलमा कोचिँदा नेपाली भाषा पूरै बिर्से । एकपटक दूतावासले पठाएको प्रतिनिधिहरूसँग चिटमा आफ्नो नाम दुर्गाप्रसाद तिम्सिना लेखेर बाहिर पठाइदिएका थिए ।

टिप्पणीहरू