नेकपामा जारी तानातानको नालिबेली
शनिबार दिउँसो बोलाइएको नेकपा सचिवालयको बैठकमा पहिले झैं अध्यक्ष तथा प्रधानमन्त्रीप्रति अन्तिममा निर्णायक समर्थन जुटाउन उपाध्यक्ष वामदेव गौतमको भैंसेपाटीस्थित निवास जाने जिम्मेवारी थियो उपप्रधानमन्त्री ईश्वर पोखरेललाई । सोहिबमोजिम शुक्रवार साँझ झण्डै डेढ घण्टा भएको वार्तामा पोखरेलले धेरै कोणबाट कुरो कोट्याउँदा पनि गौतम नगलेपछि अन्ततः पोखरेल नै उहाँको कुरो सुन्न बाध्य हुनुभएको बताइन्छ ।
गौतमको हवाला दिँदै स्रोत भन्छ ‘हेर्नुस् कमरेड,अब तपाईं पनि त्यतातिर नलाग्नोस् । केही हुनेवाला छैन । त्यता लागेकोमा म तपाईंको पनि भविश्य देख्दिँन । अब जति काँध थापे पनि तपाईंलाई न अध्यक्षमा अघि सार्छन् न प्रधानमन्त्रीमा । त्यसैले बेलैमा बाटो तताउनुहोला । बरु हामीतिरै आए हुन्छ ।’
उता,महासचिव विष्णु पौडेलसँगको भेटमा पनि गौतमले पोखरेललाई जस्तै मिहिन ढङ्गले सम्झाएर पठाएको स्रोतको दाबी छ । पार्टीभित्रको गतिरोधसम्बन्धमा शनिबारको सचिवालय बैठकबाट जसरी पनि समाधान निकाल्ने गरी गौतमसँग भेट्न पुग्नुभएका महासचिवलाई उहाँको जवाफ थियो ‘जो नेता पार्टीको बैठक बोलाउनसमेत आनाकानी गर्छ,त्यतातिर लहसिएर,टाँसिएर पनि हुन्छ ? नियमानुसार बोलाउनुपर्ने बैठकको बिरुद्ध लाग्ने अध्यक्षको पक्षमा किन तपाईं लागिरहनुभएको ?’
पार्टीभित्रको गतिरोध र अन्तरबिरोध चुलिएको बेला अघिल्लो साता प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग काँग्रेस सभापति शेरबहादुर देउवा र रमेश लेखकले बालुवाटारमा झण्डै तीन घण्टा भेटघाट गरेका थिए । भेटघाटबाट निस्कनेबित्तिक्कै लेखकले नेकपाका खुमलटारनिकट एकजना नेतालाई फोन गरेर प्रधानमन्त्रीले आफूहरुसँग भन्नुभएको कुरो जस्ताको तस्तै फ्याट्टै भनिदिए ‘ल है कमरेड, प्रधानमन्त्रीले मसक्क आँटिसक्नुभएको रहेछ । त्यस्ताहरूलाई दिनु र नजिकिनुभन्दा बरु तपाईंहरूसँग मिल्नु बेस देखेको छु । अब,उनीहरूसँग कुनै हालतमा सँगै बस्न सकिँदैन भन्नुभयो । पार्टी एकजुट रहिरहलाजस्तो देखिन है ।’
टिप्पणीहरू