आइतबार पनि बाक्लै भेटघाट

आइतबार पनि बाक्लै भेटघाट

शनिबार बसेको नेकपा सचिवालय बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ३८ पृष्ठको जवाफी पत्र पेश गरेपछि गर्माएको पार्टीको आन्तरिक राजनीतिले हिजो पनि सबैजसो नेताको निवासमा बाक्लै भेटघाट भयो । त्यहि क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा ऊर्जामन्त्री वर्षमान पुन भेटघाटको लागि सबेरै पुग्नुभएको थियो । स्रोतका अनुसार उहाँले झण्डै डेढ घण्टासम्म भेटवार्ता गर्नुभएको थियो ।

अध्यक्ष प्रचण्डसँग लगत्तै स्थायी समिति सदस्य मातृकाप्रसाद यादवले पनि अर्को डेढ घण्टा कुराकानी गर्नुभएको बताइन्छ । पछिल्लो केही दिनदेखि यादवले दाहालसँग बिहानको नौ बजेपछि सँधै एकाध घण्टा छलफल गर्दै आउनुभएको छ ।

त्यसैगरी,खुमलटारमा हिजै दिउँसो वरिष्ठ नेता माधव नेपाल,उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच गतिलै भेटवार्ता भएको थियो ।

उता,प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पनि हिजो मन्त्री र नेताहरुसँग अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले भेटवार्ता गर्नुभएको थियो । दिउँसो एक बजे हाराहारीदेखि झण्डै तीन बजेसम्म मन्त्री पार्वत गुरुङसँग सञ्चार क्षेत्रमा गरिने विभिन्न नियुक्तिलगायत परियोजनाहरुबारे छलफल गरिएको बुझिएको छ । त्यसैगरी उपप्रधानमन्त्री ईश्वर पोख्रेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई सँगै राखेर दिउँसो अर्को छलफल भएको छ ।

यसअघि कोटेश्वरमा नेकपा वरिष्ठ नेता माधव नेपालसँग प्रवक्ता नारायणकाजी श्रेष्ठले भेट्नुभयो ।

टिप्पणीहरू