चिनियाँ रक्षामन्त्रीको त्यो कुदाइ (भिडियो)

चिनियाँ रक्षामन्त्रीको त्यो कुदाइ (भिडियो)

एक दिनको व्यस्त नेपाल भ्रमणमा हिजो बिहान पौने एघार बजे आएर साँझ फर्केका चिनियाँ रक्षामन्त्री वेई फेङ्गह विमानस्थलबाट सोझै बालुवाटारस्थित चिनियाँ दूतावास पुग्नुभएको थियो । लञ्च र केहीबेरको विश्रामपछि उहाँ भद्रकालीस्थित नेपाली सेनाको जङ्गी अड्डामा द्विपक्षीय वार्ताको लागि पुग्नुभयो । वार्तामा यसअघि भएको सहमतिबमोजिम ५ करोड आरएमबी (८० करोड नेपाली रुपैयाँ) बराबरको सहायता तत्काल उपलब्ध गराउने वचन मन्त्री वेईले दिनुभएको बताइन्छ ।

कोभिडको कारण उक्त सहयोग प्याकेज रोकिएको थियो । तर,चीनमा हाल कोभिडको खासै समस्या नभएकोले अब भन्सारनाका र
बन्दरगाहहरु पूूर्णरुपमा खुलेपछि उक्त सहयोग प्याकेज तत्काल अघि बढाउन आवश्यक प्रक्रिया थालिने बताइएको छ । नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच धेरै बर्ष देखि तालिम र अन्य आदानप्रदान कार्यक्रम हुँदै आएका छन् । कोभिडको कारण यसबीच हुनुपर्ने उच्चस्तरीय तालिमहरु रोकिएका थिए । हिजोको वार्तामा भएको सहमतिअनुसार अब ती सबै सहकार्य सुचारु हुनेछन् ।

चीनमा हुने नौ महिने कोर्षको उच्चस्तरीय सैन्य तालिममा चार जना वरिष्ठ अधिकृत जाने गर्थे । ती तालिमको लागि अधिकृतहरुको छनौट भएपनि कोभिडको कारण स्थगित भएको थियो । चीनलगायत विश्वका अन्य धेरै मुलुकमा गरेर वार्षिक १२ देखि १३ जनाले त्यस्तो उच्चस्तरीय तालिममा अधिकृतहरुले भाग लिने गरेका छन् । पछिल्ला दिनमा नाइजेरिया,केन्यामा समेत तालिमको लागि सेनाले वरिष्ठ अधिकृतहरुलाई पठाउने गरेको छ ।

चिनियाँ रक्षामन्त्रीको भ्रमण दलमा २१ जना सदस्य थिए । रक्षामन्त्री वेई केन्द्रीय सैन्य आयोगका महत्वपूर्ण हस्ती हुन् भने भ्रमण दलमा सेनाका उच्च अधिकारीहरुको साथै छेन्तु प्रान्तीय मिलिटरी कमाण्डका अधिकारीहरु थिए । भ्रमणदलमा उक्त कमाण्डका डेपुटीसमेत रहेको बताइन्छ । सन १९६२ को भारतसङ्ग लडाइँमा खटिएको फौज चिनियाँ सर्वोच्च नेता दङ्ग स्याओपिङको यही सछ्वान प्रान्तबाट खटिएका हुन् । स्रोत भन्छ ‘चारतारे रक्षामन्त्रीसहित अधिकांश दुई तारे र एक तारे सैनिक अधिकृतहरु थिए । विशेषगरी सैन्य सहयोग शाखाका अधिकारीहरु धेरै थिए ।’

गत वर्ष चिनियाँ राष्ट्रपति सी जिनपिङ्ले गर्नुभएको नेपाल भ्रमणमा दिइएका वचन र प्रतिबद्धतामध्ये हालसम्म पूरा नभएका कार्यक्रमहरुलाई निश्कर्षमा पुर्याउन रक्षामन्त्रीको भ्रमण टोलीलाई खटाईएको बुझिएको छ । एक किसिमले आइतबार भएको वेईको भ्रमणलाई राष्ट्रपति सीको गत वर्ष भएको भ्रमणको ‘फलोअप’ को रुपमा लिनुपर्ने नेपाली सैन्य अधिकारीहरुले बताएका छन् ।

सैनिक मुख्यालयमा रक्षामन्त्री वेई र प्रधान सेनापति थापाबीच केहीबेर दोभाषे राखेर पाँचौ तलाको कार्यकक्षमा भएको थियो । त्यसबखत चिनियाँ भ्रमण दलका तीनजना पनि वान टु वान वार्तामा सरिक थिए । बाँकी १७ जना तल मुख्यालयको हलमा नेपाली वरिष्ठ सैन्य अधिकारीहरुसँगै गफिए ।

चिनियाँँ प्रतिनिधिमण्डलले कोभिड प्रोटोकलको कडा पालना गर्दै औपचारिक भेटवार्ता गरेको र कुनैपनि स्थानमा पानी पनि नखाएको बताइन्छ ।

मुख्यालयमा पुग्ने बित्तिक्कै चिनियाँ रक्षामन्त्रीलाई नेपाली सेनाको एक टुकडीले सम्मान गारत दिएको थियो । यसअघि कुनैपनि विदेशी पाहुनालाई जंगी अड्डामा गार्ड अफ अनर दिइएको थिएन भने दिने चलनसमेत थिएन । तर,वेई सेनासँग सम्बन्धित उच्च अधिकारी र स्वयम् रक्षामन्त्री पनि भएकाले गार्ड अफ अनर दिइएको स्रोतले बताएको छ । अरु मन्त्रीहरु अर्को मुलुकको भ्रमणमा गएपनि सामान्यतयाः जंगी अड्डामा जाँदैनन् र जाने कार्यक्रम पनि हुँदैन ।

प्रोटोकलको हिसाबले वेई मन्त्री मात्र भएकाले राष्ट्राध्यक्ष वा सरकार प्रमुखलाईझैँ विमानस्थलमा सलामी दिने कुरो पनि भएन । तर,उनी स्वयम् रक्षामन्त्री पनि भएकाले र जंगी अड्डामा समेत उपस्थिति हुने कार्यक्रम भएपछि त्यहिँ सलामी दिने कुरो मुनासिब रहेको सैनिक स्रोतले बताएको छ ।

जंगी अड्डाको कुराकानीमा दुबै पक्षले खुलस्त आफ्ना धारणा राखेको र नेपाललाई जस्तोसुकै सहयोग गर्न चीन तयार रहेको बताइएको स्रोतको दाबी छ । सेनाको चासोलाई सम्बोधन गर्न चिनियाँ पक्षको पूरा तयारी देखिन्थ्यो । वार्तामा नेपाल र नेपाली सेनाको लागि कोरोनाबिरुद्ध खोप दिन तयार रहेको संकेतसमेत रक्षामन्त्रीले दिएको बताइन्छ ।

जङ्गी अड्डाको कार्यक्रमपछि अपरान्ह सवा चार बजेतिर रक्षामन्त्री राष्ट्रपतिसँग शिष्टाचार भेटको लागि शीतल निवास पुग्नुभएको थियो । त्यसपछि उहाँ रक्षा मन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्रीसँग भेट गर्न सरकारी निवास बालुवाटार जानुभयो । बालुवाटारबाट निस्केपछि वेई विमानस्थल पुग्दा साँझको ७ बजेको थियो । भिडियो

टिप्पणीहरू