अब सबै नेताले राजीनामा दिए हुन्छः जीवनराम श्रेष्ठ

अब सबै नेताले राजीनामा दिए हुन्छः जीवनराम श्रेष्ठ 

सिंगो बालुवाटार संयन्त्र उनलाई परास्त गर्न लागिपर्दा नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा दोस्रो कार्यकालका लागि चुनिएका हुन् जीवनराम श्रेष्ठ । बालुवाटार खेमाका उम्मेदवार उमेशलाल श्रेष्ठलाई पराजित गर्दै ओलम्पिक कमिटीको नेतृत्व सम्हाल्दै छन् । ०४२ देखि नेकपा (माले)मा प्रवेश गरेर राजनीतिक यात्रा थालेका उनी तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सदस्य, केन्द्रीय सचिव, विदेश विभाग प्रमुख हुँदै केन्द्रीय उपाध्यक्षसम्म बने । तत्कालीन नेकपा (एमाले) को बुटवलमा सम्पन्न आठौँ महाधिवेशनले वैकल्पिक केन्द्रीय सदस्यको जिम्मेवारी पाए । यसअघि ०५३ र ०६४ मा गरी दुईपटक राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव चलाइसकेका उनी नेकपाको काठमाडौं इञ्चार्ज छन् । संसद्को शिक्षा, स्वास्थ्य समितिमा पनि सक्रिय छन् ।

० राखेप, एन्फा, ओलम्पिक कमिटीलगायत खेलकुद क्षेत्रमा झेल देखिन्छ अर्थात् नियुक्तिदेखि हरेक कुरामा विवाद आउँछ । किन होला ?

– पहिला यस्तो धेरै हुन्थ्यो । खेलकुदलाई व्यवस्थापन गर्न देशको ऐनले पूर्णता पाउन सकेको थिएन । खेलकुदको मुख्य ऐन भनेको ओलम्पिकको बडापत्र हो । चाहे शक्तिशाली होस् वा विकासोन्मुख देश, सबैले नियम पालना गरेर खेलकुद सञ्चालन गर्नुपर्छ । नेपालमा फुटबलको कुरा गर्दा एन्फा भनेर चिन्छौं, यसको अन्तर्राष्ट्रिय बडी भनेको फिफा हो । यस्तै बक्सिङ संघको अन्तर्राष्ट्रिय संस्था आइबा हो । तीसँग सामिप्य राख्ने हाम्रो देशका ऐन भएनन् । पञ्चायत कालको ऐन नै कायम रहिरह्यो । यो ३० वर्षमा खेलकुदमा धेरै परिवर्तन भइसक्यो । बीचको ग्याप नै नेपालमा बेला बखत देखिने विवादको कारण हो ।

अलि सेन्टिमेन्टल स्वभावको । चाँडै प्रभावित भइहाल्ने,

० पार्टीभित्र मदन भण्डारी स्पोर्टस फाउण्डेसन जसरी सक्रिय छ । त्यसका गतिविधिलाई के भन्नुहुन्छ ?

– लामो अन्तरविरोधपछि स्थायी समिति बैठक बसेर २६ भाद्रमा कार्यदलले प्रतिवेदन बुझायो र गुटका गतिविधिले गर्दा पार्टी कमजोर भएको ठहर गर्दै दुबै अध्यक्षको उपस्थितिमा समानान्तार गतिविधि नगर्ने सहमति भयो । त्यो सहमति अक्षरशः पालना गर्ने जिम्मेवारी नेतृत्वको हो । निर्णय भएको मसि सुक्न नपाउँदै त्यो खालको गतिविधि भइरहनु अनुशासनभन्दा बाहिरको, पार्टी हितविपरित, गलत काम हो ।

० तपाईं पार्टी फुट्दा मालेतिर लाग्नुभएको व्यक्ति । सँगै सहयात्रा गरेको नाताले उपाध्यक्ष वामदेव गौतमसँग कति परसम्म आकलन गर्नसक्ने खुबी छ भन्ने लाग्छ ?

– वामदेव गौतम धेरै ठूलो योगदान गरेर पार्टी र संगठन निर्माणमा ठूलो योगदान गर्नुभएको व्यक्ति । हिजो संकटकालको समयमा समेत भूमिगत भएर पार्टीलाई योगदान गर्नुभएको । संगठकको रूपमा सफल व्यक्ति, कार्यकर्तालाई ऊर्जा भर्ने सवालमा सफल । तर अलि सेन्टिमेन्टल स्वभावको । चाँडै प्रभावित भइहाल्ने, त्यो चरित्रका कारण पटक–पटक चुकेको पाउँछु ।

० नेकपा वृत्तमा चर्चा छ, केहीअघि वामदेवले गडबड गर्दा तपाईंंले उहाँलाई निवासमै गएर थर्काउनुभयो । वास्तविकता के हो ?

– पुरानो भइसक्यो यो कुरा । बीचमा नयाँ नयाँ कथाहरू धेरै आइसके । घटनाक्रमअनुसार विभिन्न नेतासँग छलफल भइरहन्छ । हामी केही साथी गएका थियौं भैंसेपाटी । उहाँसँग छलफलको क्रममा जुन खालको अन्तरविरोध झांगिरहेको छ, असमझदारीहरू बढिरहेको छ, पार्टी एकताले पूर्णता पाउन सकेको छैन । यस्तो स्थितिमा टालटुले ढंगले जाने कुरा गर्नु हुँदैन । क्यान्सर भएको छ मल्हमपट्टी मात्र लगाएर हुँदैन । यो समस्या नबल्झिने गरी दीर्घकालीन समाधानको उपाय खोज्नुपर्छ भन्ने ढंगले सल्लाह दिएका हौं । त्यो समयमा वामदेव कमरेडले जुन प्रस्ताव ल्याउनुभएको थियो त्यसले समस्याको दीर्घकालीन निराकरण गर्दैन । तपाईंले समस्या नबल्झिने ढंगले भूमिका खेल्नुपर्छ भनेर छलफल भएको हो । थर्काएको होइन ।

० कथं पार्टी विभाजित भएको खण्डमा उपत्यका र देशमा नेकपाको स्थिति के होला ?

– मनोगत कुरामा यस्तो होला, उस्तो होला नभनौं । नेकपाको एकतालाई जनताले अनुमोदन गरिसकेको स्थिति हो । कुनै–कुनै समयमा पार्टी वा व्यक्तिको इच्छाले मात्र हुन्छ । कम्युनिष्ट आन्दोलन लामो समय टुटफुट र विभाजित हुँदै आएको इतिहास छ । यद्यपि, जनमत वाम शक्तिप्रति छ । यो केटाकेटीले माटोको भाँडो बोकेजस्तो एकता होइन ।

० शीर्षतहमा विवादको असर फिल्डमा कस्तो पाउनुभएको छ ?

– जनताले आशा र विश्वास गरेअनुसार सर्भिस डेलिभरी हुन सकेन । धेरै कमजोरी रह्यो । देशका अधिकांश तहमा नेकपाकै नेतृत्व छ । यो विवाद र अव्यवस्थापनका बाबजुद पनि आ–आफ्नो तहबाट भइरहेका कामलाई हेर्ने हो भने थोक भएको छ । तर, तिनको व्यवस्थापन गर्ने र ओनरसिप लिने काम हुन सकेन । जनताको बीचमा ल्याउन सकिएन । तीनै तहको सरकारले गरेको कामको ओनरसिप त सरकारलाई नै जान्छ । संघीय सरकारले जसरी नेतृत्व र समन्वय गर्नुपर्ने हो त्यो पाटोमा व्यवस्थित हुन नसकेको पक्का हो ।

० संसद् स्थगित छ तर चोरबाटोबाट धमाधम अध्यादेश ल्याइएको छ । यो कत्तिको उचित हो ?

– विधिको शासन र कानुनी राज्यको कुरा गर्दा संसद्को माध्यमबाट ऐन बनाउनु, कानुन निर्माण गर्नु स्वाभाविक विषय हो । तर, कतिपय अति आवश्यक ऐन संसद् नचलेको अवस्थामा अध्यादेशमार्फत ल्याउँदा गलत हुँदैन । सामान्यतया ऐन कानुन संसद् चलेकै समयमा प्रक्रियाबाटै आउँदा उपयुक्त हुन्छ ।

माननीयहरूलाई दोष लगाउने ठाउँ छैन ।

० संसदीय समितिहरू कर्मकाण्डी भए भन्ने आरोप छ । के भन्नुहुन्छ ?

– यो विषयमा एकपटक सबैले गम्भीर भएर सोच्नुपर्छ । हामीले जुन मोडलको संघीयता, लोकतन्त्रको कल्पना गरेका छौं । त्यो शक्तिपृथकीकरणको सन्तुलनको कुरा हो । त्यसका आ–आफ्ना भूमिका छन् । एकले अर्काेको सम्मान नगर्ने हो भने सबैको भूमिका निष्क्रिय भएर जान्छ । र अन्तिममा समाप्त हुन्छ । संसद् जनताको आवाज ल्याउने ठाउँ हो । कतिपय महत्वपूर्ण विषयमा सरकारको प्रतिनिधिलाई निमन्त्रणा गर्दा उपस्थित नहुने, निर्णय पठाउँदा कार्यान्वयन नहुने अवस्था छ । समितिमा शिक्षा, स्वास्थ्य, खेलकुदको विषयमा ध्यानाकर्षण गराउँदा, विभागीय मन्त्रीसँग समय माग्दा नटेर्ने समस्या छ ।

० केही अघि मान्यहरूले भत्ता लिने अनि चर्काे आलोचना भएपछि फिर्ता गर्ने कामभयो । यस्तो जगहँसाइ किन ?

– यसमा माननीयहरूलाई दोष लगाउने ठाउँ छैन । माननीयहरूले दसैं भत्ता लिने निर्णय कतै भएको छैन । बैंकिङ सिष्टम छ त्यहाँ पठाइदिन्छन् । के पठाउँदै छ भन्ने पूर्वजानकारी हुँदैन, हामीसँग सोधनी पनि हुँदैन । पछिल्लो महिनाको तलबमा त्यो काटिएको छ ।

० नेकपाको यो अन्तरकलह कहाँ पुगेर साम्य होला ?

– समस्या कार्यकर्तामा भन्दा नेतामै देखिएको हो । एकतापछि सचिवालय भन्ने तह बन्यो । सचिवालय अयोग्य, अक्षम भयो । पार्टीलाई सञ्चालन गर्न सकेन, निर्णय क्षमता भएन । शुरुदेखि पछिल्लो अवस्थासम्म हेर्ने हो भने सचिवालयमा रहेका सबैले नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । कुनै एक अमूर्त व्यक्तिका कारण पार्टी यो ठाउँमा पुगेको होइन ।

मेरै मान्छे हो भन्ने नसोचे हुन्छ ।

० तपाईंहरू ७४ भाइ सांसद एकै ठाउँमा उभिएर पार्टी फुटे कतै पनि नलाग्ने भनी हस्ताक्षर गर्नुभएको थियो । विवाद मिल्यो त ?

– विभाजन हुँदा सांसदको टाउको गनिने हो । हामी पार्टी विभाजनका लागि टाउको गन्न सांसद भएका होइनौं । विभाजनमा हामी कहीँ पनि उभिँदैनौं । नेतृत्वले फलानो त मेरै पकेटको मान्छे हो भन्ने नसोचे हुन्छ ।

० सरकार कसरी चलेको छ ?

– शुरुमा निकै उत्साहसँग अघि बढेको हो । सरकार सञ्चालनमा सबैलाई समेट्ने मामलामा एकपछि अर्काे चुक्दै गयो । विवाद शुरु २ वर्षपछि मात्र भएको हो । अध्यक्ष तथा प्रधानमन्त्रीले २ वर्षसम्म इच्छाअनुसार नै चलाउनुभयो । कोही बाधक थिएन । घोषणापत्रअनुसार कसरी पार्टी वा सरकार चलाउने भन्ने विषयमा कहिल्यै छलफल भएन । सांसदहरूले सरकारको काममा सहयोग पुर्‍याउने मौकै पाएनन् ।

टिप्पणीहरू