भोलि जम्न आज एकान्तवास

भोलि जम्न आज एकान्तवास

नेकपा सचिवालय बैठक भोलि दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठको जवाफीपत्र पेश गरेपछि भोलिको बैठकका निम्ति दुबै पक्षका नेताहरुले विशेष सक्रियता देखाएका छन् । सोही क्रममा आज बिहान सातै बजे घरबाट निस्कनुभएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्धकार नहुन्जेल झण्डै ११ घण्टा ढोलाहिटीस्थित छोरी गंगा दाहालको निवासमा बिताउनुभयो ।

छोरीको निवासमा बसेर प्रचण्डले भोलिको बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे गम्भीर ढंगले गृहकार्य गरेको हुनसक्ने अड्कल लगाइएको छ । उहाँ प्रायः यसअघि पनि महत्वपूर्ण बैठकमा कुनै दस्तावेज पेश गर्नुपर्यो भने एकान्तवास बसेर तयारी गर्नुहुन्थ्यो । आज छोरीको घरमा बसेर बिहानदेखि तयारी गर्नुको मतलब भोलिको बैठकमा अध्यक्ष ओलीलाई पुनः लिखित काउण्टर दिने पो हो कि भनेर लख काटिएको छ ।

यता,प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले बिहान भेट्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङवीच छलफल भयो । मुख्यसचिव शंकरदास बैरागीले पनि क्याबिनेट बैठकअघि प्रधानमन्त्रीलाई पौने घण्टासम्म भेट्नुभएको थियो ।

आजै बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट पनि खोल्नुभयो । आइतबार बनाइएको उहाँको टिकटकमा अहिलेसम्म २७ हजार ३ सय भन्दाबढी फलोअर पुगेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले दिउँसो झण्डै दुई घण्टा भेट्नुभएको थियो । भोलि हुने नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा भएको उक्त भेटलाई चासोका साथ हेरिएको बताइन्छ ।

वरिष्ठ नेता माधवकुमार नेपालको निवास,कोटेश्वरमा आज नेपाली काँग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंह दिउँसो एकछिन देखा परेका थिए । त्यसैगरी,उपाध्यक्ष वामदेव गौतमको निवास,भैसेपाटीमा भेटघाटको लागि पूर्व सभामुख कृष्ण बहादुर महरा पुग्नुभएको थियो।

नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले राती ९ बजे प्रशारित टेलिभिजन कार्यक्रम फायरसाइडमा बोल्दै भोलि बस्ने सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिएको घोषणा गर्नसक्ने बताउनु भयो ।

राष्ट्रिय शक्ति नेपालको आयोजना र अध्यक्ष केशरबहादुर विष्टको नेतृत्वमा झण्डै छ सय जना प्रदर्शनकारीले आज दिउँसो माईतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म गणतन्त्र,संघीयता र धर्मनिरपेक्षताको खारेजी र हिन्दू राज्यसहित राजसंस्था पुर्नस्थापनाको माग गर्दै सरकार बिरोधी र्याली निकालेका थिए ।

टिप्पणीहरू