चन्दा नदिदा मारिए पूर्व उपप्रधानपञ्च
सरकारद्धारा प्रतिबन्धित नेशनल मंगोल अर्गनाईजेशन नामक समुहको आक्रमणमा परि गम्भिर घाईते भएका साबिक रुकुमको जाङ गाविसका पूर्व उपप्रधानपञ्च रणबहादुर घर्तिको निधन भएको छ । गत कार्तिक २९ गतेको दिन घरमै बसिरहेको बेला उक्त समुहको आक्रमणमा परेका रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ७ खारखोला निवासी ७४ बर्षिय घर्तिको सोमबार राति काठमाडौमा उपचारको क्रममा निधन भएको हो ।
मुखमा नकाब लगाएका, हतियारधारी ३ जनाको समुहमा आएका व्यक्तिहरुले उनीमाथी आक्रमण गरेका थिए । आक्रमणमा परेर गम्भीर घाइते भएका घर्तीलाई उपचारको लागि काठमाडौ क्रिस असपतालमा पु¥याईएको थियो ।
घरमै रहेको अवस्थामा आक्रमणकारीहरुले फलामको घन, लाठी, हम्बरले आक्रमण गरेको रणबहादुरको छोरी लक्ष्मी घर्तिले बर्ताईन् । उनले आक्रमणमा परेर आमा र आफूलाई समेत सामान्य चोट लागेको जनाईन् । उनीहरुले घरको हँसिया निकाल्दै रोईकराई गरेपछि रणबहादुलाई घाईते अवस्थामै आक्रमणकारीहरुले छोडेर भागेका थिए । उनीहरुको बोली, लगाएको बुटको आधारमा आक्रमणकारी चिनेको बताईएको छ । जानकारी अनुसार, उक्त समुहले रणबहादुरले जिम्मा लगेको बाटोको कामबाट चन्दाको लागि दवाव दिदै आएको थियो ।
आक्रमणमा संलग्न भएको भन्दै पीडितले समुहका नाईके बताउने उपेन्द्र घर्ति, चामे भनिने चक्रबहादुर घर्ति लगायत तीन जना व्यक्ति बिरुद्ध किटानी जाहेरी दिएका छन् । हाल सम्म पनि प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका कार्यालय प्रमुख प्रहरी नायब उपरिक्षक गजुसिद्धि बज्राचार्यले किटानी जाहेरीमा परेकाहरु फरार रहेको उनीहरुको खोजिकार्य भैरहेको बताए । डिएसपी बज्राचार्यले उनीहरुका गतिबिधिहरु शुन्य भैसकेकोले संगठनात्मक सहभागीता यकिन हुन नसकेको प्रतिक्रिया दिए ।
मंगोल अर्गनाईजेशनले केहि बर्ष अघि गाउँमा क्रान्ति गर्ने भन्दै चन्दा आतंक मच्चाएपछि जनआस्थामा समाचार प्रकाशित भएको थिए । त्यस लगत्तै प्रहरीले अपरेशन गरेर उनीहरुका गतिबिधि शून्य बनाएको बताएको थियो । अहिले पनि गाउँमा शिक्षक, कर्मचारीबाट नियमित लेबि उठाउने, दादागिरी गर्ने, आफू बिरुद्ध कसैलाई बोल्न नदिने जस्ता गतिबिधि उनीहरुले गाउँमा गरिरहेको स्थानीयले जनाए ।
टिप्पणीहरू