नारायणी किनारले खिच्यो मान्छेको मन
यहाँ पुगेपछि फोटो खिच्ने–खिचाउने, टिकटक बनाउने, नदी, जंगल, पहाड, हिमालजस्ता नजिकैका रमणीय प्राकृतिक दृष्यावलोकन गर्ने, बालुवा तथा घाँसेमैदानमा हिँड्ने, बस्नेहरूको जमात भेटिन्छ । हिँड्नकै लागि वाकिङ टे«ल पनि बनाइएको छ, बस्नका लागि सिमेन्टेड बेञ्च र पाटीहरू पनि छन् । खान मन लागे चटपट, पानीपुरी, सफ्ट ड्रिंक र फास्टफुडका ठेलाहरू लहरै छन् । डुंगा चढ्ने व्यवस्था पनि छ । सबैतिर मान्छेहरू रमाइरहेका देखिन्छन् । पहिले–पहिले झुम्मिन मेला–महोत्सव लाग्नुपथ्र्याे, अहिले हरेक दिन सयौं–हजारौं जना यहाँ रमाउन आउँछन् ।
भरतपुर महानगरपालिका–१ अन्तर्गत नारायणगढ बजारको छेउमै रहेको नारायणी नदी किनार आन्तरिक पर्यटकीय गन्तव्यको रूपमा लोकप्रिय भइरहेको हो । बढीजसो किशोरकिशोरीहरू साथीसंगीसँग घुम्न यो ठाउँ आउँछन् । प्रेमजोडीहरू डेटिङ मनाउँछन् । पारिवारिक घुमघाम पनि हुने गरेको छ, नानीबाबुलाई घुमाउन ल्याउँछन् अभिभावक । के केटाकेटी, के तरुणतरुणी, के बूढाबूढी सबैको आकर्षणको केन्द्रविन्दु भएको छ । बिहानैदेखि मान्छेहरूको चहलपहल हुन्छ यो ठाउँमा । आगन्तुकहरूलाई प्रवेश शुल्क लाग्दैन, न त पार्किङको नै पैसा लिने गरिएको छ । सयौं मानिसलाई रोजगारी सिर्जना गरिदिएको छ यो ठाउँले । जोगी र माग्नेलाई पनि राहत दिएको छ, घुम्न आउनेहरूसित हात फैलाएपछि धेरैथोरै पैसा झरिहाल्छ । नजिकै रहेका किशोरकिशोरीलाई देखाउँदै जोगी अजय गिरीले भने, ‘ठूलाले भन्दा हामीलाई यस्तैले दिन्छन् ।’
नारायणगढ, भरतपुरसहित चितवनका सबैजसो ठाउँ र छिमेकी जिल्लाबाट समेत दैनिक रूपमा मानिसहरू घुमफिर गर्न आइरहन्छन् । नारायणगढ बजारमा किनमेल गर्न आउँदा यता पाइला मोड्छन् धेरैले । घरमा आएका पाहुनालाई घुमाउन ल्याउने रोजाइ भएको छ । कहिलेकाहीँ पोखरा, काठमाडौंलगायत टाढा–टाढाबाट घुमघाम गर्न निस्केकाहरू पनि यहाँ पसेर जान्छन् ।
दुई दिनअघि नन्द र देउरानीसँग यहाँ घुमेर फर्केकी भरतपुर–१२ की २३ वर्षिया सञ्जु गुइँदेलले गत शुक्रबार आफ्नो छोरालाई पनि यो ठाउँ घुमाउन लगिन् । केही दिनअघि गैंडाकोट–८, कालिकाचोक निवासी १७ वर्षिया मनीषा परियार, १३ वर्षिया अनु बिक सहित चार जना साथी घुम्न आएका थिए । आफूहरू यहाँ घुमफिर गर्न आइरहने मनीषाले बताइन् । सोही दिन भेटिएका नवलपरासी, अमरापुरीका २० वर्षीय मञ्जिल शर्माले यहाँ रमाइलो लाग्ने भन्दै अहिलेसम्म तीनचोटि आएको बताए ।
काठमाडौंबाट राप्तीमा पाहुना आएकी निर्जना परियारले आफू पहिलोपटक आएको र रमाइलो लागेको बताइन् । हालै तिहारमा श्रीमतीले भाइलाई टीका लगाइदिन वीरगञ्जबाट गैंडाकोट आउँदा सँगै आएका तिलकबहादुर मगर पनि श्रीमती र छोरासहित घुम्न आएका भेटिए । यो ठाउँ मन बहलाउन तथा समय बिताउनका लागि निकै उपयोगी भएको तिलकले बताए । बच्चासहित भरतपुरको बसेनीबाट आएका दम्पती जीवन बराल र कविता घिमिरले यहाँ रिल्याक्सको अनुभूति हुने बताए । सौराहाको होटलमा पर्यटकको सेवाका लागि काम गर्ने रत्ननगर–७ का अनिल लामा पनि हालै तिहारपछि परिवारसहित आएका थिए, अहिले यत्तिको चहलपहल सौराहामा नभएको उनले बताए । ‘कुनै आइल्याण्ड वा बिच भन्दा कम छैन’, उनले भने, ‘आन्तरिक मात्र होइन, विदेशी पर्यटकलाई पनि आकर्षित गर्नसक्ने सम्भावना बोकेको छ यो ठाउँले ।’
विदेशी पर्यटकलाई समेत तान्ने गरी यसको विकास भए आफूहरू जस्ता साना व्यापारी लखेटिनुपर्ने होला भन्दै चटपट व्यापारी अम्बिका पौडेलले चिन्ता व्यक्त गरिन् । सोमबार नारायणगढ बजार बन्द र शनिबार बिदाको मौकामा अरु बढी भीड लाग्छ यहाँ । यहीँ चटपट बेच्ने स्थानीय सुनिता परियारले जाडोमा भन्दा गर्मीमा मान्छे बढी आउने बताइन् । पछिल्लो समय लकडाउन र निषेधाज्ञा हटेपछि फेरि यो ठाउँमा घुम्ने लहर बढ्दै गएको छ । केही वर्षदेखि मोटरबोट सञ्चालनमा आएयता यहाँको आकर्षण थपिएको देखिन्छ ।
दूरीअनुसार प्रतिव्यक्ति दुईसय रूपैयाँदेखि पाँचसय रूपैयाँमा मोटरबोट चढेर नारायणी सैर गर्न पाइन्छ । मोटरबोटले मनोरञ्जन मात्र दिएको छैन, नदीमा डुब्न लागेका तथा पुलबाट हामफालेर आत्महत्या गर्न खोज्नेलाई बचाउन समेत सघाउँदै आएको छ । अलि अघिसम्म आफैंले मोबाइल र क्यामेरा लिएर फोटो खिच्ने, भिडियो बनाउने गर्नुपथ्र्याे । त्योबाहेक अहिले फोटोग्राफरहरूले नै डीएसएलआर क्यामेराबाट सेवा दिँदै आएका छन् ।
यो ठाउँलाई पहिल्यैदेखि ध्यान दिँदै, विकास–विस्तारमा भूमिका खेल्दै आएको उद्योग वाणिज्य संघ–चितवनले लाइटिङ र वाकिङ ट्रयाक भरतपुर महानगरपालिकासँग मिलेर बनाएको बताएको छ । झण्डै एक करोड लगानीमा बाटो बनाइएको संघका कार्यकारी निर्देशक नीलबहादुर केसीले बताए । ‘यो सुरुको फेजको विकास हो’, उनले भने, ‘अब यसलाई ‘नारायणी सि बिच पार्क’को रूपमा विकास गर्न लागिएको छ, डीपीआरको काम भइरहेको छ ।’ सौराहाका होटलहरूले प्याकेजमा राखेर पर्यटकलाई घुमाउन ल्याउनसक्ने यहाँको माहोल बन्नुपर्ने उनी बताउँछन् ।
भरतपुर महानगरपालिकाकी इञ्जिनियर अस्मिता खनालले झण्डै रु. ३० करोडको प्रारम्भिक लागत अनुमानमा यो नारायणी नदी किनारको विकास योजना बनेको बताइन्, जसमा बोटिङ एरिया, कल्चरल जोन, पार्किङ एरिया, फुट ट्रेल÷साइकल ट्रयाक÷जगिङ ट्रयाक, फुटबल ग्राउण्ड, भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट, बिच एरिया आदि रहने बताइएको छ ।
अहिले नजिकैबाट यहाँको संरक्षण र व्यवस्थापन संयुक्त पाँच टोल विकास समितिले गरिरहेको छ । ठेला र डुङ्गाबाट आम्दानी गरेर यहीँकै सरसफाइ, सुरक्षा तथा संरक्षणमा खर्च गर्दै आएको समितिका अध्यक्ष दीपक शाही ठकुरी बताउँछन् । महानगरपालिका र वडा कार्यालयबाट यसको विकासका लागि आवश्यक कार्यहरू भइरहेको उनले बताए । अब छिट्टै गार्डेन, पानीको फोहोरा, आकर्षित गेट बनाउन आफूहरू लागिपर्ने भन्दै सबैभन्दा पहिले स्नानघाट बनाउनुपर्ने अध्यक्ष दीपकले बताए ।
ख्यालरहोस्, वर्षाको बेलाचाहिँ यहाँ बाढीले सताउँछ, किनारमा केही रहन दिन्न । भताभुङ्ग पार्दै वरपरकालाई पीडा र त्रासमा डुबाउँछ नारायणीले । अझ यो साल धेरै वर्षपछिको ठूलो बाढी आयो, बाढीले हात्तीको मूर्ति नै बगाइदियो । धन्न बुद्ध र शिवका प्रतिमा केही भएनन् । बाढीले केही सिमेन्टेड बेन्च र बोटबिरुवा पनि भाँचेर तहसनहस पारिदियो । समथर जमिनमा खाल्डाखुल्डी बनाइदियो । चउरमा बालुवा, ढुंगा–मुढा थुपारेको थियो । त्यसको सरसफाइ र व्यवस्थापनको काम समितिले अझै गरिरहेको छ । समितिबाट रेखदेख नभएको भए यो ठाउँ यस्तो हुन्थेन भन्छन्, स्थानीय जानकार ।
– अजय गोर्खाली
टिप्पणीहरू