किमले खोप लगाएको सनसनीपूर्ण समाचार

किमले खोप लगाएको सनसनीपूर्ण समाचार

उत्तर कोरियाली नेता किम जोंग उन र उनको परिवारले हाल परीक्षणमा रहेकामध्ये कुनै एउटा कोरोना बिरुद्धको खोप लिएको समाचारले विश्वभरि तहल्का मच्चिएको छ । हालसम्म आफ्नो मुलुकमा कोरोना संक्रमित नदेखिएको बताउँदै आएको उत्तर कोरिया र उसका नेताले कोरोना बिरुद्धको खोप लिएको संयुक्त राज्य अमेरिकाका एक उत्तर कोरिया विज्ञले मंगलबार दुई जापानी गुप्तचर स्रोतलाई उद्धृत गर्दै बताएपछि उक्त समाचारले एकैछिनमा विश्वभरि सनसनी मच्चाएको हो ।

अमेरिकाको सेन्टर फर नेशनल इन्टरेस्ट थिङ्क ट्याङ्कमा उत्तर कोरियासम्बन्धी  विज्ञ ह्यारी काजियानिसले किम र उत्तर कोरियाली वरिष्ठ अधिकारीहरूलाई खोप लगाइएको बताएपनि उक्त खोप कुन देशको र कुन कम्पनीको थियो भन्ने जानकारी भने दिएका छैनन् ।

रोयटर्सका अनुसार उत्तर कोरिया र चीनबीच रहेको सुमधुर सम्बन्धका कारण किमले हाल चीनमा परीक्षणमा रहेका तीन किसिमका कोरोना बिरुद्धको खोपमध्ये एउटा प्रयोग गरेको अनुमान गरिएको छ । तर,चिनियाँ विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा सोधिएको सोसम्बन्धी  प्रश्नको बारेमा चीनले कुनै जानकारी नदिएको भन्दै पश्चिमा सञ्चार माध्यमहरूले चीनले विकसित गरिरहेको कोरोना बिरुद्धको खोप लगाएको आशंका गरेको बताइएको छ ।

टिप्पणीहरू