दुई एसपी र एक इन्सपेक्टरको जागिर जाने

महिनावारी रकम उठाएको आरोप पुष्टि भएपछि नेपाल प्रहरीका दुईजना एसपी र एकजना इन्सपेक्टरले जागिरबाट हात धुनुपर्ने भएको छ । उपत्यका प्रहरीमा कार्यरत एसपी विमल बस्नेत र रामशाहपथस्थित ट्राफिक पुलिस (बग्गीखाना) मा रहेका रामेश्वरप्रसाद यादवका साथै सिन्धुलीमा कार्यरत इन्सपेक्टर मेघराजप्रसाद चौरसियाको जागिर चट् हुन लागेको हो ।

कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छँदा तीनैजनाले विभिन्न पोष्टबाट अवैध रकम संकलन गरेको उजुरी पुष्टि भएपछि कारबाही गरिएको बताइन्छ । पहिले बस्नेतले गरेको उक्त कार्यलाई पछि यादवले समेत निरन्तरता दिएका थिए । उनीहरूबिरुद्ध कारबाहीको फाइल अहिले प्रहरी मुख्यालयको कानुन विभागमा रहेको बताइन्छ ।

तल्लो तहमा रहेका प्रहरीले गरेका उजुरीमा बस्नेत,यादव र चौरसियाले आफू मातहतका पोष्टहरूलाई महिनाको पाँच हजार रूपैयाँदेखि १५ हजार रूपैयाँसम्म ‘महिनावारी’ बुझाउनुपर्ने उर्दी नै तोकेको उल्लेख गरिएको थियो ।

पोष्टको हैसियत र दायरा हेरेर कम्तिमा पाँच हजार र बढीमा कहिलेकाँही २० हजार रूपैयाँसम्म उठाउने गरेको पाइएको अनुसन्धानबाट समेत पुष्टि भएपछि उनीहरू निलम्बनमा परेको स्रोतको दाबी छ । उनीहरू बिरुद्धको उजुरी यसअघिका प्रहरी प्रमुख ठाकुरप्रसाद ज्ञवालीको पालामा परेपनि कोभिड–१९ को कारण छानबिन र अनुसन्धानको प्रक्रिया केही समय लम्बिएको थियो । उजुरी छानबीन टोलीको प्रमुख भने एसएसपी उमेश रञ्जितकार हुन् ।

स्रोतका अनुसार आरोपित तीनैजना प्रहरी अधिकृतसँग अनुसन्धान टोलीले बयान लिएको थियो । तर,उनीहरूले रकम असुलेको अस्वीकार गरे पनि उजुरीकर्ताले अनुसन्धान टोलीसँग आफूहरूले बुझाएको रकमको मितिसहित फेहरिस्त नै देखाएका थिए । टोलीले उजुरीकर्ताहरूमध्ये १० जनासँग बयान लिएको बताइन्छ ।

टिप्पणीहरू