नयाँ भवनमा प्रधानमन्त्री
साँघुरो र खचाखच गरी बसिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बीचमा कुनै बिघ्न नआए महिना दिनभित्रै सुविधासम्पन्न मूल भवनमा सार्ने तयारी चल्दै छ । दरबारहरू प्रबलीकरणको जिम्मेवारी पाएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार अबको तीन साताभित्रै सिंहदरबारको प्रबलीकरणसँगै आन्तरिक सजावटको काम तमाम हुनेछ । ०७२ को भूकम्पमा परी ढलेको सिंहदरबारको पूर्वी भाग झण्डै ६० करोड खर्चेर प्रबलीकरण सम्पन्न भएको छ ।
यही मसान्तभित्र आन्तरिक सजावटका काम फत्ते गरी त्यहाँ प्रम कार्यालय सार्ने तयारी धुमधामसाथ चल्दै छ । सिंहदरबार पूर्वी भागको प्रबलीकरणको काम सकी आन्तरिक सजावटको काम भइरहेको र मंसिर मसान्तभित्र सम्पन्न गरी त्यसलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सार्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन)का आयोजना निर्देशक झप्परसिंह विश्वकर्माले जनआस्थालाई बताए ।
ऐतिहासिक र मौलिकतामा कुनै क्षति नहुने गरी प्राधिकरणले प्रबलीकरण (रेट्रोफिटिङ) विधिमार्फत यो भवनको पुनर्निर्माण सके पनि फायर फाइटिङ, इन्टेरियर, ल्याण्डस्केपिङ र सुरक्षालगायतको काम भइराखेको छ । उता झण्डै ५१ करोड खर्चेर सिंहदरबार पश्चिमपट्टि मोहडाको पुनर्निर्माण चल्दै छ । सिंहदरबार पश्चिम मूल ढोकापट्टि सेनाको भवन, सिंहदरबारको पूर्वी मूल ढोकामा प्रहरीको भवनसमेत बन्नेछ । उता, पुतली बगैँचामा झण्डै ७ अर्ब लागतमा सांसदहरूको सुविधासम्पन्न भवन निर्माण चल्दै छ ।
प्रतिनिधि सभा, राष्ट्रिय सभा, संसद् सचिवालयसहित ११ वटा तीनतले भवन सहित झण्डै १ सय ७४ रोपनी क्षेत्रफलमा संघीय संसद् भवन बन्न लागेको हो । शहरी विकास आयोजनाका अनुसार त्यहाँ झण्डै ८ सय वटा सवारी साधन पार्किङ गर्न मिल्नेछ । जसको १० प्रतिशत काम मात्र सकिएको छ ।
टिप्पणीहरू