लगातारको भेटमा राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्ड

लगातारको भेटमा राष्ट्रपति, प्रधानमन्त्री र प्रचण्ड

नेकपाभित्रको समस्या समाधानतर्फभन्दा पनि कचल्टिँदै गएको छ । हिजोको सचिवालय बैठकमा अनुपस्थित हुनुभएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले आज शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग लञ्च मिटिङ गर्नुभएको छ । पर्सि शनिबार बोलाइएको सचिवालय बैठक,भोलिपल्टको स्थायी समिति बैठक र २५ गतेको केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा भएको प्रधानमन्त्रीको राष्ट्रपतिसँगको भेटलाई अर्थपूर्ण मानिएको छ ।

आजै,शीतल निवासको आग्रहमा पूर्व प्रधानमन्त्री तथा नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि दिउँसो राष्ट्रपतिसँग राष्ट्रपति कार्यालयमा भेटवार्ता गर्नुभएको छ । राष्ट्रपतिले दाहाललाई प्रधानमन्त्री ओली बालुवाटार फर्केपछि भेट गर्नुभएको बताइन्छ । दुईवटै भेटवार्तामा भएको कुराकानीको विस्तृत विवरण बाहिर आइसकेको छैन । तर,सबैभन्दा कठिन मोडमा पुगेको नेकपाको आन्तरिक संघर्ष र प्रधानमन्त्रीको निम्ति साँघुरिँदै गएको विकल्पहरूको अवस्थामा राष्ट्रपतिले गर्नुभएको भेटले कस्तो प्रभाव पार्छ त्यो हेर्नको लागि भने शनिबारको सचिवालय बैठकसम्म कुर्नुपर्ने भएको छ ।

टिप्पणीहरू