अमेरिकाको अवस्था झन् भयावह

अमेरिकाको अवस्था झन् भयावह

अमेरिकी रोग नियन्त्रण केन्द्रका अधिकारीहरूले यो वर्षको हिउँद अमेरिकाको सार्वजनिक स्वास्थ्य इतिहासमा ‘सबैभन्दा कठिन समय’ हुनसक्ने चेतावनी दिएका छन् । अहिले देखिएको अस्पतालमा भर्ना हुने संक्रमित र मृत्यु हुने बिरामीको संख्याले अमेरिकी सार्वजनिक स्वास्थ्य अवस्था डरलाग्दो तहमा पुग्ने संकेत देखाएको छ । गत वसन्त ऋतुमा हेलचेक्राईं र स्वास्थ्य सुरक्षामा असावधानी अपनाउँदा अमेरिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या सर्वाधिक पुगेको थियो ।

हिउँदको चिसोसँगै अमेरिकामा त्यहि प्रवृत्ति कायम रहेकाले आगामी दिन थप चुनौतीपूर्ण हुने स्वास्थ्य क्षेत्रका विज्ञहरूले बताइरहेका छन् । महामारी शुरू भएदेखि यता संयुक्त राज्य अमेरिकामा दैनिक मृत्युको संख्या र संक्रमितको रेकर्ड बुधबार सबैभन्दा खराब अवस्थामा पुगेको छ । हिजो बुधबार एकै दिन २ हजार ७ सय ६० जनाको मृत्यु भएको छ जबकि यसअघि अप्रिल १५ को दिन अमेरिकामा २ हजार ७ सय ५२ जनाको ज्यान गएको थियो ।

त्यसैगरी नोभेम्बर शुरुताकाको भन्दा अहिले अमेरिकामा अस्पताल भर्ना हुने बिरामीको संख्या दोब्बर हुन थालेको छ । बुधबार अमेरिकाको अस्पतालमा भर्ना भएका सिकिस्त बिरामीको संख्या एक लाख नाघेको छ ।

उता रोग नियन्त्रण केन्द्रका निर्देशक डा. रोबर्ट आर रेडफिल्डले बुधबार भनेका छन् ‘अमेरिकाले यसपटक नसोचेको हिउँदको सामना गर्दैछ । यसैगरी अमेरिकीहरूले स्वाथ्य सावधानीप्रति हेलचेक्राईं गरिरहेमा आगामी फेब्रुअरीताका कोभिड–१९ बाट निधन हुनेहरूको संख्या ४ लाख ५० हजार नाघ्ने छ ।’ हालसम्म अमेरिकामा कोरोना संक्रमणबाट निधन भएकाहरूको संख्या २ लाख ८० हजारको नजिक पुगेको छ ।

अमेरिकी अधिकारीहरूले बढ्दो क्रममा रहेको कोभिड–१९ महामारीलाई लक्षित गर्दै आगामी क्रिसमस र नयाँ वर्षको बिदामा सकेसम्म घरभित्रै बसेर चाडबाड र बिदाको सदुपयोग गर्नसमेत आह्वान गरिरहेका छन् ।

टिप्पणीहरू