फेक मिडिया कि सोसल मिडिया ?

मुटुको व्यथाले गत साता बिते अर्जेन्टिनाका फुटबलर म्याराडोना तर समवेदना दिइयो चर्चित गायिका म्याडोनालाई ,त्यो पनि राष्ट्रपतिको तर्फबाट । सूचनाको श्रोत कमजोर हुँदा रात्रिबसबाट ९२ लाखको गहना र नगद फेला परी सम्बन्धित व्यक्तिलाई बुझाइएको अनुजा बानियाँ प्रकरणमा हाम्रा तत्कालीन राष्ट्रपति डा.रामवरण यादव फोनमै बधाई दिन तम्सिएको झैं स्थिति आइलागेको छ घर जान लागेका पराजित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि, त्यो पनि सामाजिक सञ्जालमार्फत ।

राष्ट्रपति ट्रम्पले सन् २०१६ मा निर्वाचन जितेदेखि अहिलेसम्म आफ्नै देशको सिएनएनलगायत मुख्य सञ्चार माध्यमलाई फेक मिडियाको पगरी गुथाउँदै आएका छन् । फेक अर्थात् झुठो विवरण र समाचार अन्यत्रबाट प्रेषण भइरहँदा पनि ट्रम्पले आफूलाई मन नपरेका सञ्चार माध्यमविरुद्ध उक्त लाञ्छना लगाउन छाडेनन् ।

अहिले तिनै राष्ट्रपतिलाई सोसल मिडिया ट्विटरमा प्रख्यात फुटबलर म्याराडोनाको निधनसँग जोडेर पखाल्नुसम्म पखालिएको छ । विश्वको शक्तिशाली राष्ट्रका प्रमुख तथा अधिकांश सोसल मिडियाको ग्लोबल सर्भरसमेत अमेरिकामा रहँदा पनि यस्ता मिडियाको उपचार हुन सकेको देखिँदैन ।

यता, हाम्रो सन्दर्भमा मिडियाको दुरुपयोगबाट सबै क्षेत्र आजित भइसकेको छ । कतिपय अवस्थामा फेक सामाजिक सञ्जालका कारण सर्वसाधारण र सम्बन्धित क्षेत्रले नसोचेको दुःख पाएको छ । हाम्रोजस्तो अशिक्षित समाजमा सामाजिक सञ्जालमा फैलाइएको झुठो विवरणले भय र त्राससमेत सिर्जना गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमीको नामबाट गत बिहीबार अपराह्न फैलाइएको फेक सूचनाको कारण कक्षा १२ को परीक्षामा सहभागी झण्डै चार लाख परीक्षार्थी, तिनका अभिभावक, शिक्षक र विद्यालयले अनाहकमा केही बेर दुःख पाएका छन् । सूचनामा बिहीबार बिहान लिइएको भौतिक विज्ञान विषयको परीक्षाअगावै प्रश्न पत्र बाहिरिएकाले मुलुकभर लिइएको उक्त परीक्षा रद्द गरी आगामी १७ गते पुनः परीक्षा लिने भनियो । उक्त सूचनाले सबैलाई दिग्भ्रमित बनाएपछि बोर्डले आधिकारिक वेबसाइटमार्फत विज्ञप्ति जारी गरेर सामाजिक सञ्जालमा फैलाइएका त्यस्ता गलत सूचनामाथि विश्वास नगर्न, आग्रह गर्दै आधिकारिकताका लागि आफ्नो वेबसाइटमार्फत यथार्थ जानकारी लिन अनुरोध गरेको छ ।

सामाजिक सञ्जालको दुरुपयोग गर्नेमाथि कारबाही गर्नलाई साइबर क्राइमअन्तर्गत कानुनी व्यवस्था छ । तैपनि, सम्बन्धित निकायले यसतर्फ पर्याप्त ध्यान दिन सकेको देखिँदैन ।

टिप्पणीहरू