भारतीय सञ्चार माध्यमको नयाँ फण्डा (भिडियो)
भारतीय सञ्चार माध्यम नेपाल र चीनलाई जोडेर नयाँ फण्डाको प्रचार प्रसारमा व्यस्त देखिएका छन् । ‘पानीमा अपान वायु छाडेको’ जति पनि नहुने गरी देखाइएको सनसनीपूर्ण समाचारले अन्ततः उनीहरूबाहेक अरु कसैलाई पनि घाटा नपर्ने बताइन्छ ।
भारतीय टेलिभिजन जी हिन्दुस्तानले आफ्नो ‘बडी खबर’ कार्यक्रममा “ब्रेकिङ न्युज”,”नई खुलासा” जस्ता चिच्याहटसहित चीनले क्यान्सर गराउने विष मिसाएर नेपालको बाटो भारतमा मटर (केराउ) पठाएको निराधार समाचारलाई सनसनीपूर्ण बनाउने कोशिस गरेको छ । टेलिभिजन कार्यक्रममा उक्त केराउ चीनबाट तस्करी गरेर नेपालको बाटो हुँदै भारत भित्रिएको अफवाह फैलाइएको छ । जबकि पछिल्लो नौ महिनादेखि कोरोना महामारीका कारण नेपाल,भारत र चीनको नाकामा तस्करी त धेरै टाढाको विषय,मानिस आवत जावतमा समेत त्यति सहज छैन ।
भारतीय टेलिभिजनहरूले सार्वजनिक खपतको लागि गरेका अनर्गल प्रचारले नेपाल र चीनसँगको सम्बन्धलाई झनै धमिलो बनाउने ठानिएको छ । वाक स्वतन्त्रताको नाममा भारतीय सञ्चार माध्यमहरूले प्रकाशन र प्रशारण गरेका यस्ता भ्रमपूर्ण, कपोलकल्पित र सतप्रतिशत कुत्सित मनशायबाट प्रेरित समाचारसमेत दुई देशवीचको सम्बन्ध बिग्रनुको कारक मानिएको छ,जसलाई त्यहाँको सरकारले सम्बोधन गर्न जरुरी देखिन्छ ।
टिप्पणीहरू