अखिलको भेला अलग अलग: प्रचण्ड-नेपाल पक्ष थापाथलीमा

अखिलको भेला अलग अलग: प्रचण्ड-नेपाल पक्ष थापाथलीमा

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीहरुले थापाथलीस्थित इन्जिनियरिङ क्याम्पसमा भेला गरेका छन् । । विद्यार्थीहरुको भेलालाई नेकपाका स्थायी कमिटी सदस्य र केन्द्रीय नेताहरुले सम्बोधन गरेका छन् । भेलालाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले भोलि शनिबार सचिवालय बैठक बस्नैपर्ने बताउनुभयो । प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष केपी शर्मा ओलीले भाग लिन्न भन्न नपाउने र बैठकमा भाग लिएर निकास दिनुपर्ने दावीसहित उहाँले भन्नुभयो ‘अस्ति म आउँदिन,छलफलमा भाग लिन्न भन्नुभयो । प्रचण्डको प्रतिवेदन पनि मान्दिन भन्नुभयो । यो भन्न उहाँले पाउनुहुन्न ।’
दुईवटा प्रतिवेदन आउँदैमा पार्टी बिग्रहमा गइनसक्ने पनि नेता शाक्यले बताउनुभयो । भोलिको सचिवालयमा संयमताका साथ बहस गर्न नेताहरुलाई आग्रह गरिएको जानकारीसमेत दिनुभयो । भन्नुभयो ‘
अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको दस्तावेज मान्दिन भन्नुभएको हो भने अर्का अध्यक्ष ओलीले प्रतिउत्तर किन दिनुभयो ? लिखित प्रतिउत्तर दिने तर छलफलमा बस्दिन भन्ने ?”
अध्यक्ष ओलीले नै पहल गरेर एकता भएको पार्टीभित्र देखिएका समस्या समाधान गर्दै सबैलाई एक बनाएर लैजाने दायित्व पनि उहाँकै भएको शाक्यको भनाइ थियो । “बैठकबाट भाग्नु लोकतान्त्रिक चरित्र होइन”-शाक्यले यो पनि भन्नुभयो ।
भेलालाई सम्बोधन गर्न पुग्नुभएकी अर्का स्थायी कमिटी सदस्य पम्फा भुसालले पनि शनिबारको बैठकमा अध्यक्ष ओली उपस्थित हुने विश्वास व्यक्त गर्नुभयो । समस्याको समाधान गर्न बैठकमा भाग नलिनेलाई नेतृत्व मान्न नसकिने उहाँको धारणा थियो । उहाँले भन्नुभयो ‘प्रधानमन्त्रीले अस्तिको बैठकमा आउन्न भन्नुभएको हो । भोलिको बैठकमा आउनुहुन्न भन्ने लाग्दैन । आफैले ३८ पेजको प्रस्ताव पेश गर्नुभएको छ र उहाँसित सम्बन्धित भएर सचिवालयमा अरुले पनि प्रस्ताव राख्नुभएको छ । ती प्रस्तावहरुको छलफलमा सहभागी नबनी त्यसबाट उम्केर समस्याको हल हुन्न । उहाँ आउनुहुन्छ,आउनुपर्छ र छलफल गरेर समस्याको सामना गर्नुपर्छ । समस्याको सामना नगर्ने नेतृत्व हुन सक्दैन ।’
उहाँले जसले समस्याउपर छलफल गर्न सक्छ वा अन्तरविरोध हल गर्न सक्छ त्यो मात्रै सही नेतृत्व हुने बताउनुभयो ।
भेलालाई दाहाल–नेपालनिकट स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल,केन्द्रीय सदस्यहरु रामकुमारी झाँक्री,लेखनाथ न्यौपाने, ठाकुर गैह्रेलगायतले सम्बोधन गर्नुभयो । भेलामा पत्रकारहरुलाई प्रवेश गर्न दिइएको थिएन ।

टिप्पणीहरू