शीतल निवासबाट प्रचण्डले पाएको संकेत

शीतल निवासबाट प्रचण्डले पाएको संकेत

हिजो साँझ शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘पछिल्लो राजनीतिक घटनाक्रम र अवस्थालाई अलिकति बिचार गर्नुपर्छ है ! प्रधानमन्त्रीले आवेगमा आएर मुलुक,जनता र पार्टीलाई हानी हुने काम गर्न खोज्नुभयो भने त्यसतर्फ पनि तपाईंले विशेष सावधानीका साथ निर्णय गर्नुपर्ने अवस्था आउनसक्छ’ भन्नुभएको थियो ।

लगत्तै प्रत्युत्तरमा राष्ट्रपतिले ‘म त संवैधानिक न हुँ । सरकारले ल्याएको सिफारिश कार्यान्वयन गर्नुपर्ने हुन्छ ’ भन्दै आशंकामिश्रित अभिव्यक्ति दिनुभएको बताइन्छ ।

प्रचण्डअघि प्रधानमन्त्रीले बिहानको लञ्च मिटिङ राष्ट्रपतिसँग शीतल निवासमा गर्नुभएको थियो । साँझ प्रचण्डलाई सोही भेटघाटको “साँकेतिक जवाफ’ दिइएको हुनसक्ने अड्कल लगाइएको छ । प्रायः शीतल निवासमा हुने भेटपछि प्रधानमन्त्रीले तर्साउनैको लागि भएपनि क्याबिनेट बैठक राख्ने गर्नुभएको देखिन्छ । ती सबै रणनीति प्रधानमन्त्रीले अध्यादेश जारी गर्न खोज्नुभएको सन्देश प्रवाहका लागि अपनाइएको सार्वजनिक खपत हुनसक्ने केही बुध्दिजीवीको बुझाई छ ।

नेताहरूका अनुसार भोलि दिउँसोको सचिवालय बैठकमा प्रधानमन्त्री आउने र नआउने सम्भावना उत्तिकै छ । एकथरिले अब पनि अनुपस्थित भएमा बैठकलाई अघि बढाउनुको विकल्प नभएको बताएका छन् ।

उता,महासचिव विष्णु पौडेलले एउटा अनलाइन न्यूजलाई आज दिनुभएको अन्तर्वार्तामा पार्टीभित्रको समस्या समाधानको लागि नयाँ अध्यक्ष छान्नै परेको अवस्थामा सचिवालयमा रहेका पदाधिकारीहरूबाट नभई स्थायी समितिबाट छान्न उपयुक्त हुने राय व्यक्त गर्नुभएको छ । तर,स्थायी समितिमा समेत बालुवाटारको बहुमत नदेखिएकाले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष समूहले छरेको छर्राको कुनै तुक नरहने नेताहरू बताउँछन् ।

टिप्पणीहरू