राजावादीले थाले प्रदर्शनको तयारी
पूर्व राजा ज्ञानेन्द्रले आज सार्वजनिक आह्वान गरेसङ्गै राष्ट्रवादी नागरिक समाजले मंसिर २६ गते राजधानीको रत्नपार्कमा विशाल जनप्रदर्शनको तयारी थालेको छ । त्यसैको सिलसिलामा आज दिउँसो समाजले काठमाडौंको कलंकीस्थित रुद्रबजार अगाडि प्रचार प्रसार भेला आयोजना गरेको थियो ।
कार्यक्रममा संयोजक चन्द्रप्रसाद रामदामलगायतका नेताहरुको उपस्थिति देखिन्थ्यो । भेलामा भारतीय दलाल होसियार,गणतन्त्र मूर्दावाद,श्री ५ महेन्द्र जिन्दावाद,राजतन्त्र जिन्दावाद,भ्रष्टाचारी सरकार मूर्दावाद,लिम्पियाधुरा कालापानी हाम्रो हो भन्ने नारा घन्काइएको थियो । आगामी कार्यक्रममा सरिक हुन आह्वान गर्दै वितरण गरिएको पर्चामा ‘छिटो राजा ल्याउन सम्पूर्ण नेपालीहरु एकजुट भई जनआन्दोलन गरौं’ समेत भनिएको छ ।
पुर्वराजा ज्ञानेन्द्रको आव्हान
प्यारा देशवासी दिदीबहिनी तथा दाजुभाइ,
हाम्रा सवै मित्र,सहयाेगी तथा शुभचिन्तकहरूलाई आफ्ना व्यक्तिगत तुष्टी,पूर्वाग्रह र अनावश्यक शंका-उपशंकाबाट टाढै रही ‘देशले माँगेकाे सहयाेग गर्न’ सवैमा विनम्रतापूर्वक अनुराेध गर्दछु ।
अहिलेकाे समय नेता वा नेतृत्वकाे खाेजी गर्ने बेला हाेइन,बरु आफूले सदैव विश्वास गरेकाे आस्थाकेन्द्रबारे अन्तरमनले हेर्ने र उनकाे आवाज सुन्ने बेला हाे । केही प्रश्नहरू भए तपाईहरूले छातीमा हात राखेर आफ्नाे मनलाई सवैभन्दा पहिले साेध्ने, र अरूका कुरालाई पनि राम्ररी सुनेर मात्रै आफ्नाे निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेकाे छ । अव तपाईहरूसमक्ष आफ्नाे देशभक्ति प्रदर्शन गर्ने चुनाैति आएकाे छ !
आ-आफ्नाे सामर्थ्य र गच्छेअनुसार जे-जस्ताे तरिकाले भए पनि आफ्नाे अटल समर्थन र विश्वास अभिप्रकट गर्न तपाईहरूले आम जनसमुदायकाे आकाँक्षालाई सफलीभूत पार्न जनताले चालिरहेका कदमहरूलाई साथ दिनुहुनेछ भन्ने कुरामा म दृढविश्वस्त छु ! कृपया, याे आव्हानलाई तपाईहरूले आफ्नाे मातृभूमीकाे पुकार सम्झिनु हाेला ! जय देश !
टिप्पणीहरू