खुमलटारमा बालुवाटारको तारन्तार
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर उपप्रधानमन्त्री तथा सचिवालय सदस्य ईश्वर पोखरेल बिहीबार दिउँसो र परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली अहिले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटार पुग्नुभएको छ । उच्च स्रोतका अनुसार आज दिउँसो एक बजेलाई बोलाईएको सचिवालय बैठकअघि कुनै हालतमा दुईजना अध्यक्षबीच अनौपचारिक छलफल र सहमतिको पहल गर्ने कोशिश जारी छ ।
प्रचण्डसँगको भेटमा पोखरेलले मीठो लवज र शैलीमा कुरा गर्दै ‘अध्यक्षद्वय जसरी पनि मिल्नु पर्यो । भेट्नु पर्यो । सम्वाद पनि गर्नुपर्यो । सम्वादै छैन यसबीचमा’ भनेपछि जवाफमा प्रचण्डले ‘म त तयारै छु नि’ भन्नुभएको बताइन्छ ।
उपाध्यक्ष वामदेव गौतमलाई पनि फेरि छिट्टै महाधिवेशन गरेर अध्यक्ष र चुनावपछि प्रधानमन्त्री बन्ने ‘सुनौलो प्रस्ताव’ एकैचोटि दिइएको बताइन्छ । प्रस्तावमा विश्वासको लागि दुबैतर्फबाट २०,२० जनाको टोलीले सम्झौतामा हस्ताक्षर गर्ने,यसबीच गरिने फाष्ट ट्रयाकको महाधिवेशनमा पूर्व एमाले सबैको साथ रहने भएकाले गौतमलाई नै अध्यक्ष बनाइनेसम्मको रोडम्याप प्रस्तुत गरिएको उच्च स्रोतको दाबी छ ।
प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति नभएको अवस्थामा तपाईंहरु कसलाई साथ र समर्थन गर्नुहुन्छ ? भन्ने जिज्ञाशामा बालुवाटार निकटहरुले ‘आफूहरुले कुनै हालतमा केपीको साथ नछोड्ने’ बताएका थिए । तर,नेपाल पक्षका नेताले भने जवाफमा ‘मनको लड्डु घिऊसँग खाने दिवास्वप्न नदेख्न’ बालुवाटार निकटस्थहरुलाई गतिलो सुझाव दिएको स्रोतको दाबी छ ।
यसैबीच नेपालपक्षीय नेताहरुले नेपालसहित आफूहरु अहिलेको अवस्थामा पनि अविचलित अडानमा रहेकाले कसैप्रति पूर्वाग्रह नराखी अघि बढ्ने आफ्नो दृढतालाई कायम राखेको सन्देश बालुवाटारका सम्पर्क सूत्रहरुलाई दिइसकेका छन् । विधि,विधान र सिद्धान्तको आधारमा पार्टी र मुलुक हाँक्नुपर्ने अडानलाई कहिल्यै नछाड्ने नेता नेपाल निकटस्थहरुले पटकपटक दोहोर्याउँदै आएका छन् ।
आज बोलाईएको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष ओलीको अनुपस्थिति रहेपनि बैठक भने सुचारु हुने अन्य नेताहरुले बताउनुभएको छ ।
यसैबीच स्थायी समिति सदस्य जनार्दन शर्मालाई महाधिवेशन आयोजक कमिटीको निम्ति आवश्यक बजेट तयार गर्न भनिएको गाईंगुईं छ ।
टिप्पणीहरू