अमेरिकी दूतावासको सावधानी सूचना

अमेरिकी दूतावासको सावधानी सूचना

नेपालस्थित अमेरिकी राजदूतावासले राजधानी काठमाडौं उपत्यकालगायतका विभिन्न जिल्लामा हुन थालेको राजनीतिक दलहरुको बिरोध तथा प्रदर्शन कार्यक्रमलाई लक्षित गरेर आफ्ना नागरिकहरुलाई विशेष सावधानी अपनाउन ‘अलर्ट’ जारी गरेको छ । दूतावासले शुक्रबार जारी गरेको ‘नोटिस’ मा शनिबार काठमाडौंको माइतीघर मण्डलामा हजारौंको सहभागितामा नागरिक सभा तथा बिरोध प्रदर्शनको कार्यक्रम रहेकाले सावधानी र सतर्कता अपनाउन काठमाडौं बस्ने अमेरिकी नागरिकलाई अनुरोध छ ।

दूतावासको आफ्नै क्षेत्रीय सुरक्षा कार्यालयको सूचनाको आधारमा उक्त ‘अलर्ट’ जारी गरिएको बताइएको छ । त्यसैगरी अमेरिकी नागरिक र अमेरिकी संघ संस्थाहरुलाई आगामी हप्ताको अन्त्यमा राजधानी काठमाडौंलगायत मुलुकका विभिन्न भागमा हुने राजनीतिक बिरोध र प्रदर्शनका कार्यक्रबाट जोगिन सकेसम्म आफ्नै निवासमा रहन पनि दूतावासले अनुरोध गरेको छ ।

अलर्टमा भनिएको छ ‘कुनै ठूलो भीड वा तत्काल आयोजना हुने बिरोध कार्यक्रमका कारण कहिँ कतै फसिएको अवस्थामा जतिसक्दो छिटो उक्त क्षेत्रबाट अन्यत्र जान र टाढा जान नसकिने अवस्था देखिएमा नजिकैको सुरक्षित स्थानमा आश्रय लिन सुझाव दिइन्छ ।’

दूतावासले विशेषगरी काठमाडौं र ललितपुर जिल्लाको उत्तरी भेगमा त्यस्ता गतिविधिहरू हुँदा विशेष सावधानी अपनाउन भनेको छ । आफू,आफ्नो कार्यालय र वासस्थान नजिक कुनैपनि शंकास्पद वस्तु फेला परेमा तत्काल नेपाल प्रहरीलाई सूचित गर्न अनुरोध गर्दै वरपरका घटना तथा गतिबिधिबारे सचेत रहनको लागि स्थानीय सञ्चार माध्यम हेर्न,सुन्न र पढ्न भनिएको छ । दूतावासले त्यस्ता ठाउँमा सकेसम्म सवारी साधनको प्रयोग नगर्नसमेत अमेरिकीहरुलाई आग्रह गरेको छ ।      https://np.usembassy.gov/demonstration-alert-political-protest-in-kathmandu-district-nepal-december-4-2020/

टिप्पणीहरू