विवादको घेरामा बोर्डको विज्ञप्ती

विवादको घेरामा बोर्डको विज्ञप्ती
अघिल्लो साताको केहि दिन र यो साताको प्रारम्भदेखि नै दोस्रो बजारमा कारोबार रकम र नेप्से सूचकमा नयाँ किर्तिमान राख्दै सेयर बजार अघि बढेको छ । सूचिकृत अधिकांश कम्पनीप्रति लगानीकर्ताहरूको सकारात्मक लय देखिएको छ भने केहीमा हौसियर समेत लगानी गरिएको देखिन्छ ।

हालसम्म आठ लाखभन्दा बढी लगानीकर्ता, झण्डै २२ लाख डिम्याट खातासँगै ८५ प्रतिशत भन्दाबढी कारोबार नेप्सेको अनलाईन कारोबार प्रणालीबाट हुने गरेको विवरणसहित सोमबार दिउँसो पुँजी बजारको नियमनकारी निकाय धितोपत्र बोर्डले सुझबुझपूर्ण तवरले लगानी गर्न लगानीकर्ताहरूलाई आह्वान गरेर प्रेस विज्ञप्ति जारी गरेपछि अहिले उक्त विज्ञप्ति र बोर्डको भूमिकालाई लिएर पक्ष र विपक्षमा चर्को वादविवाद देखिएको छ ।

बोर्डको विज्ञप्तिमा ‘धितोपत्र बजारमा लगानी गर्दा हल्ला र अनुमानका पछाडि नलागी विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र तथा सूचीकृत संगठित संस्थाहरूको वित्तीय स्थितिको विश्लेषण, संस्थागत सुशासनको अभाव एवम् लगानीकर्ताको जोखिम वहन गर्नसक्ने क्षमता तथा आफ्नो लगानीको सुरक्षा आदि समेतलाई दृष्टिगत गरी सजग भई सुझबुझपूर्ण रूपमा लगानी गर्न’ भनिएको छ ।

बोर्डको उक्त भनाइले खुल्ला बजारको सिद्धान्तलाई लत्याएको एकथरीले बताएका छन् । उनीहरूका अनुसार खुल्ला बजारमा बजारले नै सेयरको समेत भाउ तय गर्ने भएकाले नियमनकारी निकायले कसैको इशारामा नियोजित रूपमा बजारमा नयाँ लहर आएको बेलामा लगानीको लागि सुझबुझ लगाउन भनेपछि सर्वसाधारण लगानीकर्ता स्वतः हच्किन्छन् । उक्त विज्ञप्तिबाट बजारमा बोर्डले सोझै अनावश्यक हस्तक्षेप गरेको देखिन आएको उनीहरूले आरोप लगाएका छन् ।

खुल्ला बजारका समर्थकहरूले बोर्डले नै हालको बजारलाई ‘हल्ला र अनुमानको भरमा अघि बढेको’ भनेर विज्ञप्ति जारी गरेपछि त्यसको सोझो असर पुँजी बजारमा पर्ने भएकाले कहिल्यै त्यसो गर्न नहुने बताउँछन् । यो एकथरी लगानीकर्ताको उक्साहटमा बोर्डले त्यसो गरेको भन्नेहरू पनि कम देखिएका छैनन् ।

तर, धितोपत्र बोर्डसँग नजिक रहेका भनिएका लगानीकर्ता र विश्लेषकहरूले भने बजारमा अनावश्यक ढङ्गले पानीको फोका सरह बढ्दै गएको सेयर भाउको बारेमा सर्वसाधारण र थोरै पुँजी लगानी गर्नेहरू हौसिँदा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन गरिएको अपिललाई बोर्डको कर्तव्य भएको जिकीर गरेका छन् । बोर्डका अधिकारीहरू पनि सर्वसाधारण र निम्न पुँजीका लगानीकर्ताहरूलाई बेलाबखत सजग गराउनु र आफ्नो धर्म भएको बताउँछन् ।

बोर्डका अध्यक्ष नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भीष्मराज ढुङ्गाना हुन् । तर, बोर्डको सोमबारको विज्ञप्तिलाई कडा ढङ्गले उनका बैंकका समकालीन पूर्व कार्यकारी निर्देशकहरूले समेत सामाजिक सञ्जालमा चर्को आलोचना गरेका छन् । उनीहरूले पनि बोर्डको विज्ञप्ति खुल्ला बजारको सिद्धान्त विपरीत भएको आरोप लगाएका छन् ।   

बैंकका पूर्व कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले धितोपत्र बोर्डको आलोचना गर्दै सामाजिक सञ्जालमा लेखेका छन् ‘बोर्डले यतिखेर प्रेस विज्ञप्ति प्रकाशन गरेर गल्ती गरेको छ । अहिलेको समय लगानीकर्ताहरुलाई थप लगानी गर्न प्रोत्साहित गर्ने समय हो । धितोपत्र बजारमा आएको उछालका कारण उपभोक्ताहरूलाई त्यसतर्फ अझबढी प्रोत्साहन गर्नुपर्छ । विगतका महामारीमा पनि विश्व सेयर बजारमा यसैगरी उछाल आएको थियो । सेयर बजारले समाजलाई थप विश्वासिलो र मजबुत बनाउने भएकाले बोर्डको प्रेस विज्ञप्तिलाई विश्वास नगरौं ।’

टिप्पणीहरू