कर्मचारीमा आफ्नैबाट काल

प्रधानमन्त्री र उहाँको सचिवालयले आफ्ना काममा सीधै हस्तक्षेप गर्ने वा बिनासूचना निर्णय गर्ने हुँदा अहिले गृह सचिवदेखि अख्तियारका मुख्य–मुख्य हाकिमहरु दिक्दार छन् । र, आफ्नो दुई तिहाई बहुमत सुनिश्चित भएको कर्मचारी चुनाव पनि सार्दैसार्दै विपक्षी हावी हुने वातावरण निर्माण भइरहेको छ ।

नेपाल प्रहरीमा केही डिआइजी थप्ने प्रस्ताव गृहबाटै गयो । तर, निर्णय हुँदा एउटा एआइजी पनि थपिएको भर्खरै हो । अहिले कोभिडको बहानामा आधिकारिक ट्रेड युनियनको चुनाव रोकिएको छ । गत वर्ष सकिएको म्याद पनि थपिएकै हो । मंसिरमा चुनाव गराएको भए माधव नेपाल पक्षीय भोला पोखरेल अध्यक्ष बन्ने खतरा थियो । तर, हट्ने स्थिति नहुँदा, अर्थात्, फेरि जित्ने संभावनाले चुनाव नै नहुने भयो । थ्रेस होल्डका कारण मधेसी कर्मचारीले चुनावमा भाग लिन नपाउने अवस्था छ । अब जेठसम्म म्याद थपेर कांग्रेसनिकट कर्मचारी युनियन र मधेसी कर्मचारी मञ्चलाई मिल्ने वातावरण बनाइँदैछ । पार्टी एकता भए पनि पूर्वएमालेसम्बद्ध निजामति कर्मचारी संगठन र पूर्वमाओवादीसम्बद्ध राष्ट्रिय कर्मचारी संगठनबीच एकता हुन सकेको छैन । पूर्वमाओवादीतिरका एकथरि कर्मचारी कांग्रेससँग मिल्न गइदिए भने पूर्वएमालेहरु दुई तिहाईबाट झरेर एकैचोटि तेस्रो वा चौथोमा पुग्ने खतरा पनि रहेको बताइन्छ । त्यसमाथि विधानतः सबै कर्मचारी संगठनका म्यादहरु समाप्त भइसके । पूर्वएमालेको संगठन एक डेढ वर्ष, युनियन एक वर्ष, राकसको दुई वर्ष कार्यकाल बढेको छ ।

टिप्पणीहरू