अध्यक्षहरुलाई पीनले घोच्यो
नेकपाको जनसंगठन प्रोगेसिभ इञ्जिनियरिङ्ग एसोसिएसन (पीन) ले अध्यक्षद्वयले सचिवालयमा पेश गर्नुभएको दुबै प्रतिवेदनलाई स्थायी र केन्द्रीय कमिटीमा गहन छलफल गराई सर्वमान्य एक प्रतिवेदन तयार पार्न अनुरोध गरेको छ । पीनले भनेको छ ‘त्यसबाट सबै कार्यकर्ता र शुभचिन्तकको भावनालाई समेटिने भएकाले छुट्टाछुट्टै प्रतिवेदनले पार्टी कमिटीमा बहसको औपचारिक सुरुवात गरेको कुरालाई स्वागतयोग्य मान्न सकिन्छ ।’
पत्रमा नेतृत्वलाई स्मरण गराउँदै उल्लेख गरिएको छ ‘सामूहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको भावनासाथ फेरि सहयात्राबाहेक अर्को कुनै बाटो छैन । एमाले र माओवादीको एकीकतरणपश्चात् पछाडि फर्कने बाटाका सबै पुलहरू भत्काई सकिएको हामी सबैलाई पक्कै हेक्का छ । एकीकृत पार्टीको विकल्प बिग्रह हुन नसक्ने विगतका तीता अनुभव छँदैछ । तसर्थ,विचार विमर्श,विधि र प्रक्रिया निर्माण गरी अझ सबल,जनपक्षीय र एकीकृत पार्टी निर्माणको अभियान अब शुरु हुनेमा हामी आशावादी छौं ।’
मंसिर २० गते दुबै अध्यक्षलाई सम्बोधन गरी पीनको केन्द्रीय सचिवालयका ११ जना सदस्यले बुझाएको पत्र सचिवालयका सबै सदस्यलाई बोधार्थसमेत दिइएको छ । पीनको केन्द्रीय सचिवालय सदस्यहरूमा माधवप्रसाद कोइराला, आशिष घिमिरे, नन्द बञ्जाडे, केशवराज बिष्ट, नारायण चौंलागाईं, अनन्तराज घिमिरे, सीआर ढकाल, डिल्लीराम भट्ट, राम एकवाल यादव, बिरोध रिजाल र कपिल आचार्य छन् ।
टिप्पणीहरू