जागिर जोगाउन नबोल्दिनुपर्ने ?

जागिर जोगाउन नबोल्दिनुपर्ने ?

–लक्ष्मी पौडेल

तिमी त पत्रकार हो नि, केही नयाँ सिर्जना गर न, केही लेख न ! कस्तो चुपचाप बसेको ? एकदिन साथीले मेरो अल्छिपनालाई गिज्याएर भने । लेख्न मन नभएको कहाँ हो र ? फेरि नलेखेरै अल्छी भएको पनि होइन । तर, लेखेर झन् घाउमा नुन किन छर्नु ? भनेजस्तो हुन थालेको छ । कसैको बयान गरेर, गुणगान गाएर लेख्न जानिएन । सत्य, तथ्य र यथार्थ लेख्दा चुप गराउन खोजिएका केही दुष्प्रयास यही लेखबाट ओकलौँजस्तो लाग्यो ।

घटना १

काठमाडौंमा चिसो बढ्दो थियो । कार्यालयको काम बेलुका साढे ८, नौ बजे सकिने । सँगै काम गर्ने दुई तीन जनासँग मात्र साधन भएकाले कहिलेकाहीँ सहकर्मीलाई उसको घरमा छाडेर मात्र डेरा पुग्थेँ । एकदिन यस्तै सहकर्मीलाई छाड्न जाने बेला उनले भनिन्, अफिसमा कस्तो समस्या परेको छ, एक जना बहिनी हिंसामा परेजस्ती छन् । अफिसकै स्टाफले नराम्रो गरेजस्तो छ । के गर्न सकिएला ? उनको कुराले मनमा ठूलै ढ्यांग्रो त ठोकेकै हो तर केही नभएजस्तो सामान्य प्रतिक्रिया दिएँ, ‘तपार्इं–हामीले यस्ता समस्यामा चासो दिने नै होइन नि !, पीडितले अफिसियल्ली समस्या राख्नुप¥यो । कि त पीडितको कुरा आफैँले भने म केही प्रतिक्रिया जनाउँला । तपाईंंका कुरा सुनेर म केही भन्दिनँ’ भनेँ । ती सहकर्मीले मैले अरू पीडितको पक्षमा वकालत गरिरहेकोले केही समाधान निकालौँ न भन्ने प्रस्ताव राखिन् । तर, मैले पीडित स्वयं मसँग नै नआई चासो नदिने बताए । केही समयपछि त्यस्तै विषयमा पत्रिकामा समाचार आयो । चोरको खुट्टा काट् भन्दा खुट्टा उचालेझैँ कार्यालयभरि त्यो समाचारको चर्चा फैलियो ।

मान्छे यतिसम्म ढोँगी बन्न सक्दोरहेछ । मलाई केही गरौँ भन्ने सहकर्मीले समाचार आएपछि कार्यालयबारे हल्ला फैलियो भन्दै चिन्ता व्यक्त गरिन् ।

घटना २

सामाजिक सञ्जालमा म प्रायः पात्र र प्रवृत्तिबारे विषय र बहस जारी राख्ने गर्छु । एकदिन काम नगर्ने, कुरा ठूला गर्ने प्रवृत्तिबारे एकै लाइनको एउटा स्टाटस राखेँ । दिउँसो स्टाटस राखेर काममा व्यस्त थिएँ । साँझपख अफिसका हाकिमले क्याबिनमा बोलाए । जरुरी कामबिना बोल्दा पनि नबोल्ने हाकिमले क्याबिनमा बोलाउनु अनौठो लागेको थियो । झनै अनौठो त त्यतिबेला लाग्यो जतिबेला दिउँसोको स्टाटस हटाउन लगाए । कारण सोधेँ । उनले कार्यालयका अरू सहकर्मीलाई असर पर्ने भन्दै हटाउन भने । भन्न मन लागेको थियो तपाईंं कसरी हाकिमको कुर्सीमा पुग्नुभयो ? खैर भनिनँ ।

घटना ३

एउटा सत्य ओकल्ने समाचार कति शक्तिशाली हुँदोरहेछ भने गल्ती गर्ने हाकिमका कपडा नै चिसो बनाइदिने । पत्रकारिताभित्र महिलामाथि हुने हिंसाजन्य व्यवहारबारे तारन्तार समाचार आइरहेका थिए । त्यस्तै एक जना पत्रकारले एउटा राष्ट्रिय साप्ताहिक पत्रिकामा बकपत्र छापिन् । त्यो मेरो फेसबुक वालमा कसैले ट्याग गरिदियो । म्यासेन्जरमा त्यो समाचारको लिंक आइरहेको थियो । एक जना अपरिचित बहिनीले लेखिन्, ‘यो पढेपछि मेरो मन हलुका भयो दिदी, यस्तो हिंसा भोग्ने म एक्लै रहेनछु ।’ त्यसको एक÷दुई दिनमा मेरो कार्यालयका दुई जना हाकिमले छुट्टाछुट्टै क्याबिनमा बोलाए । प्रसंग उही पत्रकारको बकपत्र । उनीहरू मेरो फेसबुकमा ट्याग भएको मेरो टाइमलाइनमा देखिएकाले स्पष्टीकरण लिँदै थिए । न म लेखक थिएँ । न म त्यो खालको हिंसाबाट पीडित ! तर कार्यालयका हाकिमहरूको त्रास अचम्मलाग्दो थियो । मैले त यत्ति भनेँ, यति डर लागेको छ भने आफ्ना कर्मचारीमाथि हिंसा हुन नदिनुस्, हिंसा भएको छ भने आवश्यक एक्सन लिनुस् कसैको बकपत्रदेखि नडराउनुस् ।

घटना – ४

पत्रकार हुँ, पत्रकारकै संगत बढी हुन्छ । यो घटना एक जना पत्रकार बहिनीले सुनाएकी हुन् । विभिन्न अनलाइन र पत्रिकामा पत्रकारिताभित्रको हिंसाका घटनाबारे ब्लग, समाचार र लेख ती बहिनीले शेयर गर्दिरहिछन् । विनु सुवेदीको दाइहरूको डर शीर्षकको समाचार शेयर गरेपछि एक जना ठूलै पत्रकारले अब त तिमीलाई पनि बैनी भन्न डर हुने भो भन्दै व्यंग्य गरेछन् । मान्छेहरू अरूको हिंसामा किन खुशी हुन्छन् होला ? उनले मलाई सुनाउँदै सोधिन् । पछि अर्को लेख शेयर गर्दा त उनलाई हटाउन भनेर नै म्यासेज आएछ । तिमी पनि मिडियामै काम गर्छौ, यस्तो शेयर गर्दा भोलि जागिर गयो भने के गर्छौ ? भनेर म्यासेज आएपछि उनले सो पोष्टलाई प्राइभेट गरेर राखिन् ।

घटना ५

यो घटनाचाहिँ पुरुष साथीको हो । जिल्लामा खुलेको नयाँ रेडियोमा समाचार कक्षमा काम गर्ने साथी थिए । त्यहाँ समाचार कक्षमा तीन जना कार्यरत थिए । उनी अर्को एक जना पुरुष समाचार प्रमुख र अर्को महिला सहकर्मी । एक दिन उनले समाचार कक्षमै अनुचित काम भएको भेटाएछन्, समाचार प्रमुख र महिला सहकर्मीबीच । उनले प्रमाणसहित गल्ती भेटाएपछि स्टेशन म्यानेजरले उल्टै ती साथीलाई नै अन्यत्र यो कुराको पोल नखोल्न भन्दै धम्क्याएछन् । अरू कसैले त्यो घटना थाहा पाए जागिर जाने भनेर धम्क्याएपछि उनी मुख बन्द गर्न बाध्य भए । महिला सहकर्मी अविवाहित र पुरुष सहकर्मी छोराछोरीका बाउ थिए । फेरि त्यो घटनाले हाम्रो समाचार कक्ष, हाम्रो सञ्चारमाध्यम बद्नाम भयो तर यसबारे बोल्न, लेख्न कहाँ पाइन्छ र ?’ उनी अहिले पनि भन्छन् ।

घटना ६

पेशा जे भए पनि विभिन्न संस्थागत जिम्मेवारी पनि छ । कुनै संस्थामा आबद्ध हुनु र जिम्मेवार हुनुको नाताले त्यसभित्रैको गलत कामको स्वतन्त्र रूपमा विरोध गर्न पाइनुपर्ने हो नि, तर पाइँदैन । अघिल्लो वर्ष पत्रपत्रिकाको वर्गीकरणबारे विभिन्न संगठन आन्दोलनमा उत्रिए । तालाबन्दीसम्म गरे । मलाई भने दलगत आडमा संगठन उफ्रिएको चित्त बुझेन । पत्रपत्रिकाले आफू वर्गीकरणमा स्तरीय बन्न गतिलो समाचार छापुन्, हुबहु नगरुन्, फेक डाटा काउन्सिलमा नबुझाउन् अनि आफँै वर्गीकरणमा क ख मा परिहाल्छन्् नि भन्ने आशयको स्टाटस लेखेकी थिएँ । संगठनका अग्रजहरूले आफ्नै संगठनको विरोध र काउन्सिलको समर्थन गरेको ठानेछन् कि के हो ? तिमीलाई अप्ठ्यारो पर्छ स्टाटस हटाऊ, वर्गीकरणबारे केही नलेख भन्न थाले । अप्ठ्यारो भनेको कस्तो होला ? के कतै आबद्ध हुनु भनेको स्वतन्त्र विचार राख्न पाउने अधिकारबाट कुण्ठित हुनु हो ? स्वविवेकरहित हुनु हो ? कालोलाई सेतो भन्ने र सेतोलाई कालो भन्नेको पछि लाग्नु हो ? भेउ पाउन सकेको छैन ।

टिप्पणीहरू