बालिका बलात्कारी जोइपोइ नै आजीवन कैद

बिरलै भएका होलान् यस्ता फैसला । न्यायाधीशको दानपेटीमा दक्षिणा राम्रै परेपछि मुद्दामा उल्झन ल्याउन पेशी चढाउँदै फैसला अट्काउने परिपाटीको अन्त्य गरिदिए न्यायाधीश हरिश्चन्द्र ढुंगानाले ।

आफ्नै भाञ्जाकी छोरी, नातिनीलाई जबर्जस्ती करणी र हत्या गर्‍यो राजकुमार परियारले ०७६ वैशाख ९ गते दोर्दी गाउँपालिका–३ मा । सोही गाउँपालिका–२ की १३ वर्षिया बालिका अनिशालाई उनकै घरमा बलात्कार गरी घाँटी थिचेर सलले पासो लगाई दलिनमा लट्काएर भागेको सातापछि पक्राउ परेको परियारलाई जिल्ला अदालत लमजुङका न्यायाधीश ढुंगानाले आजीवन काराबासको फैसला सुनाएका छन् ।

उता श्रीमती जालु परियारलाई समेत जन्मकैद ठोकिएको छ । लोग्नेले जबर्जस्ती करणी गर्दै गर्दा घटनास्थल पुगेकी उनले के गरेको यस्तो अब बेइज्जत हुन्छ भने पनि कानुनी दायरामा ल्याउन सहयोग गर्नुको सट्टा बालिका झुन्ड्याउने कार्यमा प्रत्यक्ष संलग्न भएको ठहर सहित उनीमाथि जन्मकैदको फैसला भएको हो । प्रतिवादी राजकुमार र जालुबाट जनही ७५ हजार र २५ हजार मृतक बालिकाको हकवालालाई क्षतिपूर्ति भराइदिनसमेत भनिएको छ ।

अदालतबाट यस्तो फैसला आउँदै गर्दा जिल्ला प्रहरी कार्यालय लमजुङले २०५९ असोज ३० गते भीमबहादुर गुरुङको हत्या गरी फरार साविक कोल्की गाविसका तीनजना अभियुक्तलाई १८ वर्षपछि पासोमा पारेको छ । ०५९ सालमा प्रहरी प्रमुख थिए लव विष्ट । माओवादीको बिगबिगी । किटानी जाहेरी परेपनि खासै वास्ता गरेनन् । मृतककी श्रीमती बुद्धिमाया गुरुङले न्यायको आशा मारेकी थिइन् । असोज ३० दशैंको बेला मारिएका आफ्ना श्रीमान्को सतमा आजसम्म रहेकी इमान्दार गुरुङलाई अहिले सोझाको साक्षी दैव भनेझैं डिएसपी गंगाबहादुर थापा निस्किए । उनले उजुरीका पुरानो फाइल पल्टाए । कोल्की गाविसका तत्काल वर्ष २३ को मनबहादुर गुरुङ, वर्ष २८ को धनराज गुरुङ र वर्ष २७ को मिरु भन्ने धनबहादुर गुरुङलाई मंसिर ११ गते पक्राउ गर्न सफल भए ।

कहिले भारत त कहिले मुलुककै विभिन्न गाउँमा लुक्दै आएका उनीहरूमध्ये मनबहादुरलाई उनकै गाउँ कोल्कीबाट ११ गते पक्राउ गरी अनुसन्धान गर्दा धनराज चितवनको भरतपुरमा बस्दै आएको खुलेको थियो भने अर्का अभियुक्त धनबहादुरलाई मंसिर १३ गते गिरफ्तार गरिएको हो ।

– अञ्जनकुमार हिमाली

टिप्पणीहरू