प्रधानमन्त्रीसँग छलफल नै गर्न पाइएन

प्रधानमन्त्रीसँग छलफल नै गर्न पाइएन

म्याग्दीको विकट गाउँमा जन्मिएकी हुन्, थममाया थापा । भारतीय सैनिक जमदारकी छोरी थममायाले गाउँमा स्कुल बनाएर १५ वर्षसम्म पढाइन् । स्थायी शिक्षकको जागिर छोडेर राजनीतिमा लागिन् । पञ्चायतकालमा तत्कालिन नेकपा (माले) बाट राजनीति थालेकी उनी पोखराको पिएन क्याम्पसमा पढ्दै गर्दा स्ववियु कोषाध्यक्ष भइन् । बहुदल आएपछि म्याग्दीमा मालेको पार्टी कार्यालय खोलेर कार्यालय सचिव भइन् । ०४८ को संसद्मा अत्यधिक बहुमतले जितिन् । अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य हुँदै महासचिवसम्म भइन् । पूर्वएमालेमा पोलिट्ब्युरो सदस्य थिइन् । ओली गुटको पक्का, तर अहिले ओलीसँग भड्किएकी छन् । आफूलाई एक बचन नसोधी मन्त्रीबाट हटाइएकोप्रति ठूलो गुनासो छ ।

० दुई अध्यक्षको किचलोलाई के भन्नुहुन्छ ?

– यस्तो कचिंगल नहुनुपर्थ्यो । जनताले ठूलो विश्वाससहित झण्डै दुई तिहाई बहुमतको सरकार बनाउने मौका दिए । यो मौकालाई भरपुर सदुपयोग गरी जनताको पक्षमा काम गर्नुपर्ने हो । सरकार र पार्टीको बीच कोअर्डिनेशनमा ग्याप रह्यो । त्यही कारण समस्या देखाप¥यो । अहिले दुबै अध्यक्षले हिलो एकापसमा छ्याप्ने गरी प्रतिवेदन पेश भएको छ । अब यो विषयलाई धेरै अघि नबढाई दुबै पक्षको प्रतिवेदन मिलाएर एउटा साझा प्रतिवेदन ल्याउँदै दुबै अध्यक्षबाट कमरेडले आलोचना वा आत्मआलोचना गरी पार्टीलाई एकढिक्का बनाएर जानुपर्छ, सम्पूर्ण पार्टी कार्यकर्ताको भावना त्यही हो । कम्युनिष्ट आन्दोलन, देशको भविष्य हेरौं । झिना–मसिना समस्यामा अल्झेर समय व्यतित नगरौं । महाधिवेशनमा गएपछि एउटा नेतृत्व टुंगो लाग्छ र पार्टी सिष्टममा चल्छ ।

० चुनावी घोषणापत्रमुताविक सरकारले कति प्रतिशत काम गरेको छ ?

– गर्दै गरेको छैन, हुँदै भएको छैन भन्न मिल्दैन । यद्यपि, कतिपय संरचनागत समस्या छन् । सबैसँग सहयोग, समझदारी, राय–सुझाव लिएर घोषणापत्र लागू गर्न प्रभावकारी ढंगले लाग्नुपर्ने आवश्यकता देखेको छु ।

० तपाईंहरू त अहिले मन्त्रीबाट हटेपछि जनताको बीचमा हुनुहुन्छ । सरकारको कार्यशैलीलाई जनताले के भनिरहेका छन ?

–पार्टी फुट्छ कि भन्ने ठूलो चिन्ता र निराश छ । फुट्यो भने त कम्युनिष्ट सकियो । कसैले जनताको बीचमा जाने बाटो बन्द हुन्छ, त्यसपछि जनताले पत्याउने पनि होइनन् । तिमीहरूलाई दुई तिहाई बहुमत दिँदासमेत काम कम, झगडा धेरै गरेर समय गुजा¥यौ भनेर लखेट्ने स्थिति आउँछ । यो एक–दुई जना नेताले मात्र बनाएको पार्टी होइन । हजारौं नेता–कार्यकर्ताले सिंगो जीवन अर्पण गरेका छन् । वैचारिक ढंगले विचलन आएको हो भने त्यसमा सोच्ने कुरा भयो । तर, प्रवृत्तिगत ढंगले उठेको कुरामा जनताले पनि मूल्यांकन गर्छन् । स्थायी, केन्द्रीय कमिटीको बैठक राखेर महाधिवेशनमा जाने तयारी गर्नुपर्छ ।

० तपाईं केपी ओली सरकारमा शुरुमै मन्त्री बनाइएर फेरि शुरुमै निकालिनु पनि भयो । किन त्यस्तो भयो ?

– त्यो पीडा त छ नि ! मन्त्रीका लागि मरिहत्ते गरेको होइन । पार्टीका निम्ति खुरुखुरु काम गरेको मान्छे हुँ । जिम्मेवारी आउँदा, इमान्दार ढंगले निभाएकी पनि हुँ । के कारणले लगेको हो, के कति कारणले हटाइएको हो अहिलेसम्म भन्नुभएको छैन । मैले सोधेको पनि छैन । हामी हटे पनि सरकारले देश र जनताको हितमा राम्रो काम गरोस् भन्ने भावना हो ।

० इतिहासमै पहिलो पटक मन्त्रीहरूको कार्यसम्पादन मूल्यांकन शुरु भयो । तपाईंहरूले उच्च अंक ल्याउनुभएको थियो । तर, हटाइयो । अरु कारण केही हो ?

– त्यो त प्रधानमन्त्रीज्यूलाई नै थाहा होला । साथीहरूलाई व्यवस्थापन गर्नुपर्ने भएर हटाइएको हो वा अरु पनि केही कारण थिए, त्यो उहाँले नै जान्ने कुरा भयो । हामीले त प्रमको भावनालाई इमान्दार ढंगले लागु गर्ने प्रयाससम्म गरेको हो । मन्त्रालयको स्रोत, साधन एकदमै कम थियो । भएको बजेटभन्दा तीन गुणा बढी काम ग¥यौं । म सोझो मान्छे, दायाँबायाँ जान्दिनँ । शुरुमा इमान्दार मान्छेलाई जिम्मेवारी दिनुपर्दछ भनेर जिम्मेवारी दिनुभएको होला । पछि किन झिक्नुभयो वा हटाउनुभयो थाहा भएन ।

० बालबालिकासँग सम्बन्धित एउटा ऐन क्याबिनेटमा लैजानुभएको थियो । त्यसमा प्रधानमन्त्रीका ‘रिजर्भेसन’ थिए । पछि सो ऐनको मस्यौदा फिर्ता भयो । यो पनि एउटा कारण हो ?

– बालबालिका ऐनमा धेरै काम भएको थियो । मैले छोडेपछि बाँकी रहेका काम पूरा भए होला, त्योभन्दा दायाँबायाँ केही भएको छैन । मैले शुरु गरेको अरु धेरै कुरा लथालिंग छन् ।

० तपाई ओली खेमाकै मान्छे, मन्त्री भएर पनि प्रधानमन्त्रीलाई भेट्न गाह्रो भएको र सचिवालयले घेरेर राखेको पीडा पोख्नुभएको थियो । के हो वास्तविकता ?

– अलि सहज थिएन । मन्त्री भइसकेपछि प्रधानमन्त्रीको सल्लाह लिनुपर्ने हुन्छ । छिटो, छरितो ढंगले भेटघाट मिलाइदिने सचिवालयले हो । तर, सचिवालयले समय नै मिलाएन । प्रधानमन्त्रीसँग गम्भीर ढंगले छलफल हुने मौकै मिलेन । उहाँसँग भेट हुने वातावरण कै पनि सहज भएन । समय लिएर भेट्न जाँदा पनि घण्टौँ कुरेर बस्नुपर्ने, तर त्यसरी कुरेर बस्ने मेरो स्वभाव छैन । समय लिएर जाँदा, भेट्न खोज्दा समय नपाइने । प्रधानमन्त्रीसँग यथेष्ट छलफलसमेत गर्न नपाइने । त्यही कारण जति काम गर्नुपर्ने थियो, त्यो काममा समेत ढिलाई भयो ।

० महिला मन्त्री हुँदाका दुःख के कस्ता रहे ?

– बजेटको एउटा दुःख भइहाल्यो । हेर्नुेपर्ने क्षेत्र महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति । जहाँ–जहाँ गयो त्यहीँ समस्या । काम गर्नका लागि बजेटकै समस्या । यो भन्दा पहिला सानो एनजिओले चलाउने जस्तो बजेट पनि थिएन । यी र यस्ता विषयमा प्रधानमन्त्रीसँगै बसेर छलफल गर्न खोजियो । तर, उहाँको समय नमिल्ने ।

० सामाजिक सुरक्षाको होहल्ला ओली सरकारले ठूलै ग¥यो । तपाईंकै गृहजिल्ला म्याग्दीसम्म रेल पु¥याउने वचन पनि दिनुभयो । यी सबै अहिले कुन हालतमा छन् ?

– लक्ष्य र उद्देश्य नभई कुनै काम बन्दैन । सपना देख्नुपर्छ, प्रधानमन्त्रीज्यूले महत्वकांक्षी सपना देख्नुभएको छ । हुँदै नभएको भन्ने होइन । सबै कुरा एकैपटक हुने होइनन्, प्रक्रियागत ढंगमा हुन्छन् । छिटो होस् भन्ने हाम्रो चाहना छ ।

० केपीले जसरी काम गर्नुपर्ने थियो, त्यसरी गर्न नचाहेको वा नसकेको ? कसरी बुझ्नुभएको छ ?

– नचाहेकै त कसरी भन्नु ? जति सरकारको काम राम्रो भयो जनताले त्यति नै सरकार वा नेतृत्वमा रहेकोहरूको मूल्यांकन गर्ने हो । लक्ष्यलाई परिणाममा पु¥याउनका लागि एक्लैले मात्र सम्भव हुन्न । सबैको साथ र सहयोग चाहिन्छ । पार्टीसँग समन्वय गरेर, तीन तहको सरकारसँग सहकार्य गरेर अघि बढ्ने हो भने अझै पनि राम्रोसँग काम गर्न सकिन्छ । स्थानीय सरकार नेतृत्वविहिन छ । कुनै प्रशिक्षण छैन, आफ्ना विवेकले चलाइरहनुभएको अवस्था छ । संगठन र पार्टीबीच एकता भएको भए यी समस्याहरू आउने थिएनन् । नेतृत्वमा रहनुभएको कमरेडहरू एक ढिक्का भएर चल्नुपर्ने, सांगठानिक कामहरू गर्नुपर्ने समयमा झगडामा रुमल्लिएका कारण जनतामा राम्रो सन्देश गइरहेको छैन ।

० महिला सहभागिताका लागि आरक्षित ३३ प्रतिशत को स्थिति के पाउनुहुन्छ ?

– संविधानको मर्म समानुपातिक सहभागिता हो । राजनीतिक क्षेत्रमा ३३ प्रतिशत सहभागिता हुनुपर्ने हो । पार्टीहरू नै त्यसमा इमान्दार हुनुपर्ने हो । तर, मौलिक हकमा व्यवस्था भएको कुरा व्यवहारमा लागू भइरहेको छैन । मन्त्रिमण्डल गठन गर्दा वा कुनै पनि नियुक्ति हुँदा र अरु संरचना निर्माणमा त्यो हुन सकेको छैन । संविधानको भावनाविपरित काम भइरहेको छ ।

० तपाईं कुनै समय राष्ट्रपति विद्यादेवी भण्डारीसँग एउटै मोर्चामा काम गर्नुभएको, कस्तो पाउनुहुन्छ उहाँको भूमिका, कार्यशैली ?

– उहाँको भावना र विचार स्वच्छ छ । महिला आन्दोलनमा लामो समयसम्म एउटै मोर्चामा रहेर काम ग¥यौं । पार्टीभित्र ठूलो लडाइँ लड्नुभएको हो । महिलाको ३३ प्रतिशत अनिवार्य सहभागिता संविधानमै लेख्न उहाँको ठूलो भूमिका रह्यो ।

० मन्त्रीबाट हटेपछि सरकार कसरी चलिरहेको देख्नुहुन्छ ?

– बीचमा केही कमी–कमजोरी देखिएको छ । आलोचनापछि सच्चाउँदै आएको पनि छ ।

टिप्पणीहरू