धुम्बाराही नगई प्रधानमन्त्री बालुवाटारतिरै : बिवेक पुर्याउन नेताहरुलाई आह्वान
नेकपा स्थायी कमिटीको बैठक झण्डै दुई घण्टा बसेर मंसिर २८ गतेसम्मको लागि स्थगित गरिएको छ । पार्टी मुख्यालय धुम्बाराहीमा आज दिउँसो बसेको बैठकले दुबै अध्यक्षको प्रस्तावमाथि छलफल गर्न स्थायी कमिटी सदस्यलाई सात दिनको समय दिएको छ ।
आजको बैठकको प्रारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटीको बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री ईश्वर पोखरेलमार्फत पठाउनुभएको पत्रमा आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो संगीन आरोपपत्रका बारेमा हुने छलफलमा सहभागी हुन असमर्थ छु ’ भनिएको छ । तर,दाहालको अध्यक्षतामा अर्का अध्यक्ष ओलीबाहेक सिङ्गै सचिवालय सामेल बैठकले भने दुबै अध्यक्षको प्रस्तावमाथि छलफल थालेको छ ।
बैठकमा पठाइएको पत्रमा लेखिएको ‘स्थापित परम्पराका विपरित गत कात्तिक २८ गते अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले प्रस्तावका नाममा मेराबिरुद्ध अभियोगपत्र वितरण गर्नु भएपछि पार्टीभित्र असामान्य अवस्था सिर्जना भएको तथ्यसँग कमरेडहरु जानकार नै हुनुहुन्छ ।’ भन्दै उहाँले ‘पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत छ’ भनेर लेख्नुभएको छ । पत्रको पूर्ण पाठ यस्तो छ :
‘पार्टीभित्र हुने स्वस्थ र मर्यादित छलफलका सम्पूर्ण सीमा भत्काएर पार्टीभित्रको नीतिगत बहसलाई शत्रुतापूर्ण अन्तरविरोधमा रुपान्तरित गरेको र पार्टी विधान मात्रै होइन, राज्यका संविधान र कानुन समेत आकर्षित हुने प्रकृतिका सङ्गीन फौजदारी आक्षेपहरु समेत लगाइएको उक्त अभियोग–पत्रमाथि बैठकमा कुनै छलफल हुन नसक्ने मान्यता मैले सचिवालयका बैठकमा राखिसकेको छु । पार्टीलाई सहज र स्वस्थ वातावरणमा फर्काउने हो भने उक्त लिखत निशर्त फिर्ता हुनुपर्ने मेरो मान्यता यथावत् छ । एकीकरणका बाँकी काम पूरा गर्ने,महाधिवेशनको तयारी गर्ने र कोभिडविरुद्धको लडाइलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर बैठकका कार्यसूची निर्धारण र ठोस प्रस्तावसहित पर्याप्त तयारीका साथ बैठकमा जानुपर्छ भन्ने भनाइ पनि मैले स्पष्ट पारिसकेको छु ।
तर उक्त अभियोग–पत्रसहित यसबीचका सबै पत्राचार र दस्ताबेजहरुलाई सार्वजनिक गरिएको छ । आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पुर्याएको त्यस्तो सङ्गीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध गर्दछु । परामर्श र सहमतिबाट तय गरिएका कार्यसूचीमाथि आधारित भएर आयोजना हुने बैठकमा मेरो सक्रिय सहभागिता सधैंभरि रहँदै आएको छ र भविष्यमा पनि रहने कुरासमेत स्पष्ट पार्न चाहन्छु ।
कमरेडहरु,पार्टी एकीकरणको ऐतिहासिक घोषणा गरिरहदा नेपाली कम्युनिष्ट आन्दोलनका दुबै धारको भावना प्रतिनिधित्व गर्ने एकीकृत,सबल र मुलुकको नेतृत्व गर्न सक्ने विशाल नेपाल कम्युनिष्ट पार्टीको तस्बीर मात्रै मेरो मनमा अङ्कित थियो । हामीले एकीकरणको सङ्क्रमणकालीन अवस्थामा पार्टी सञ्चालन सहमतिका आधारमा गर्ने विशेष विधि तय गर्यौं र पार्टीका कतिपय वैचारिक, सङ्गठनात्मक र नेतृत्वका विषय दुई वर्षभित्र सम्पन्न हुने एकता महाधिवेशनबाट टुङ्ग्याउने निर्णय गर्यौँ । एकीकरणको मूल कामको निर्णायक नेतृत्व गरिरहँदा मैले यिनै विधिलाई ध्यानमा राखेँ। त्यसै अनुरुपका संरचना निर्माण गरिए ।
तर मलाई थाहा थिएन–खेलको उत्तराद्र्धमा आएर केही कमरेडहरु ‘खेलको नियम’ नै बदल्न लाग्नु हुने छ र ‘जसरी पनि जित्ने’ महत्वाकाङ्क्षाका निम्ति जुनसुकै हदसम्म जान तयार हुनु हुने छ । खेलको अन्तिमतिर आएर गर्न खोजिएको यो नियम परिवर्तन नैतिकता र राजनीतिक दृष्टिले गलत मात्रै होइन, विभाजनकारी समेत छ भन्ने कुरा म स्पष्ट पार्न चाहन्छु । आज पनि म दोहोर्याउन चाहन्छु– महाधिवेशनसम्मका लागि अन्तरिम हैसियतमा बनेका र महाधिवेशन सम्पन्न गर्नुपर्ने मुख्य दायित्व बोकेका हाम्रा कमिटीहरु त्यसैअनुरुप सहमतिका आधारमा चल्नु पर्दछ ।
सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने मेरो जीवन आदर्श हो । सत्य व्यक्ति र संस्थाका सही विचार र व्यवहारमा अन्तरनिहित हुन्छ भन्ने म ठान्छु ।
अत्यन्त उज्ज्वल संभावना बोकेको र देश तथा जनताले अपार विश्वास गरेको हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) आज इतिहासकै गंभीर सङ्कटमा छ । यो सङ्कट कुनै वाह्य कारणले होइन, महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्वमोह र सत्तामोहका कारण निम्तिएको छ । मैले त एकता महाधिवेशनपछि पार्टी नेतृत्वमा नरहने र आगामी निर्वाचनपछि सरकारको नेतृत्वमा नरहने घोषणा गर्दै नेतृत्व हस्तान्तरणको विषय सार्वजनिक गरिसकेको छु । तर पार्टी नेतृत्व परिवर्तनका लागि चार महिना कुर्न नसक्ने र प्रधानमन्त्री बन्न नयाँ जनादेश पर्खिन नसक्ने सोचका कारण सिर्जित यस सङ्कटले सकारात्मक निकास पाओस् भन्ने मेरो प्रयास रहिरहेको छ ।
मलाई स्थायी कमिटीका कमरेडहरुको सामूहिक विवेकमाथि विश्वास छ । गतः भदौ २६ गते पनि कमरेडहरुले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराउनुभएको थियो । आशा छ,कमरेडहरुले यसपटक पनि व्यक्ति विशेषका स्वार्थका लागि आन्दोलन कै शिकार हुने गरी सिर्जना भएको वर्तमान सङ्कटपूर्ण अवस्थालाई आफ्नो सक्रिय पहलकदमी,सकारात्मक हस्तक्षेप र विवेकबाट निकास दिनु हुने छ ।’
केन्द्रीय कमिटीको बैठक पुस ५ गते बस्ने निर्णय समेत आजैको बैठकले गरेको छ ।
टिप्पणीहरू