पतञ्जलीलाई लाखौंको पेलान
योगगुरु बाबा रामदेवको कम्पनी पतञ्जली आयुर्वेदमाथि हरिद्वारस्थित नगर अदालतले ११ लाख भारतीय रूपैयाँ हर्जाना तिराएको छ ।
पतञ्जलीले आफ्ना सामानको गलत प्रचार तथा अन्य कम्पनीको उत्पादनमा आफ्नो लेबल लगाएर समेत बेचेको भेटिएपछि अदालतले कारबाहीस्वरूप हर्जाना तिराएको हो । साथै,अदालतको आदेशमा पतञ्जलीले खाद्य सुरक्षा विभागले तोकेको मापदण्डलाई आगामी दिनमा कायम राख्न आदेश दिएको छ अन्यथा,थप कारबाही हुने चेतावनीसमेत दिइएको छ ।
हरिद्वारस्थित एडिशनल डिस्ट्रिक्ट मेजिष्ट्रेट ललितनारायण मिश्राका अनुसार पतञ्जलीको सामान र विज्ञापनले खाद्य सुरक्षा तथा गुणस्तर ऐन २००६ को धारा ५२ (ब्राण्डिङ),५३ (विज्ञापन) तथा प्याकेजिङको गलत प्रयोग र प्रचार प्रसार गरेको देखिन आएको छ ।
उता नयाँदिल्लीबाट प्राप्त समाचारमा पनि पतञ्जलीका सामानमध्ये ४० प्रतिशत गुणस्तरहीन पाइएको छ । रायपुरमा गरिएको पतञ्जलीको आँटा र महको नमूना परीक्षणमा समेत हानिकारक रसायन फेला परेको सञ्चार माध्यमहरूले जनाएका छन् ।
पतञ्जली आयुर्वेद तथा खाद्य सामग्रीले केही वर्षदेखि सरकारलाई ५ हजार करोड भारु. बराबरको राजश्व र कर बुझाउँदै आएको बताइएको छ । आगामी वर्ष उक्त रकमलाई १० हजार करोड भारु. पुर्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।
टिप्पणीहरू