बाबाजीलाई छाडेर श्रीमान पुण्यमा लुटुपुटु
सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले अचम्मको आधार टेकेर सोमबार सफाई दिएको छ । यसअघि सर्वोच्च अदालत पठाइएको मिसिल महान्यायाधिवक्ताको कार्यालय हुँदै जिल्ला सरकारी वकिलको कार्यालयमा नफर्काइएको आधारमा अदालतले निजलाई सफाइ दिएको हो ।
बहसको क्रममा सरकारी वकिलले ‘सर्वोच्च अदालतमा पठाइएको मिसिल हालसम्म पनि नआएकोले म बहस गर्न असमर्थ छु तसर्थ उक्त मुद्दा रोकीपाऊँ श्रीमान्’ भनेर लिखित आग्रह गरेका मात्र के थिए न्यायाधीशले ‘तिमी असमर्थ छौ भने लौ म पनि नरोकिकन फैसला गर्छु,बाबाजीलाई रिहाई गरिदिनु’ भन्ने फैसला नै सुनाइदिए ।
आफ्नै महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेका बाबाजीलाई नाटकीय ढंगले रिहा गर्न आदेश दिने न्यायाधीश अर्जुनप्रसाद कोइराला केही समयअघि धादिङ्ग,नुवाकोट र काठमाण्डौतिरको झण्डै सय रोपनी सार्वजनिक जग्गा तलमाथि गरेको केसमा काठमाडौं जिल्ला अदालतबाट फालिएर गुल्मी हुँदै सुनसरी पुर्याइएका थिए । कोइराला कानुनी र अदालती क्षेत्रमा धेरै अघिदेखि माल खाने न्यायाधीशको नाममा परिचित हुन् । उता, निधारमा ठाडो टिका लगाउने बाबाजी पनि पहुँचदार नै मानिन्छन् ।
यसअघि बाबाजीलाई सुनसरी जिल्ला अदालतका न्यायाधीश राधाकृष्ण उप्रेतीले धरौटीमा छाड्न आदेश दिएका थिए । उच्च अदालतले थुनामा राख्न आदेश दियो भने सर्वोच्चले उच्चको आदेशलाई नै सदर गरेको थियो । बाबाजीलाई थुनामा राख्न सर्वोच्चले सदर गरेको केही दिनमात्र भएको थियो । उक्त प्रयोजनको लागि सर्वोच्चमा झिकाइएको मिसिल महान्यायाधिवक्ताको कार्यालयमार्फत् सुनसरी सरकारी वकिलको कार्यालय नपठाउँदै सोमबार जिल्ला अदालतमा उक्त मुद्दाको पेशी राखिएको थियो ।
गिरीलाई अघिल्लो वर्ष कात्तिक ४ गते आफ्नै आश्रममा महिला अनुयायीलाई बलात्कार गरेको आरोप लागेपछि पुस १४ गते जिल्ला न्यायाधीश उप्रेतीले तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएका थिए । लगत्तै बिराटनगरस्थित उच्च अदालतले उनको मुद्दालाई उल्टाएर थुनामा राख्न आदेश दिएपछि बाबाजी भारततर्फ भागेका थिए ।
टिप्पणीहरू