बेपत्ताको खोजी बल्ल
बेपत्ता व्यक्तिको खोजीका लागि केही मान्छे जिल्ला दौडाहामा निस्किएका छन् । २०७१ साल माघ २७ गते गठित बेपत्ता छानबिन आयोगका एक सदस्यले यही मंसिर ८ गतेदेखि टोली जिल्लामा खटिएको जानकारी दिँदै पुस पहिलो सातासम्म १० जिल्लाको अनुसन्धान भ्याउने योजना रहेको बताए । जसअनुसार सदस्य विश्वप्रकाश भण्डारी नेतृत्वको टोली कालिकोट र पूर्व रुकुम, डा.गंगाधर अधिकारी नेतृत्वको टोली जुम्ला र रुकुम पश्चिम, सुनीलरञ्जन सिंह नेतृत्वको टोली बझाङ्ग, बाजुरा, हुम्ला र डोल्पा सरिता थापा नेतृत्वको टोली मुगु र दार्चुला पुगेको छ ।
आयोग टोली उजुरीकर्ता भेट्ने, पीडितबाट कागज गराउने, घटनाको वस्तुस्थिति खुलाउन लगाउने, साक्षी बुझ्ने, बकपत्र गराउने, प्रत्यक्षदर्शी बुझ्ने, ‘सपोर्टिङ डकुमेण्ट’ संकलन गर्ने, बेपत्ताको सर्जमिन गर्ने तथा पीडितसँग सार्वजनिक छलफल गर्ने कार्यादेशसहित तल पुगेको हो । कसैलाई बेपत्ता पारिनुअघिका र अन्तिम अवस्थाको शारीरिक स्थिति, घटनाको फेहरिस्त र बेपत्ता पार्ने कार्यमा संलग्न आरोपित व्यक्तिको विवरणसमेत संकलन गरिनेछ ।
बेपत्ता आयोगमा पीडित परिवारबाट छानविनका लागि झण्डै तीन हजार तीन सयको संख्यामा उजुरी परेका थिए । बेपत्ताको सत्यतथ्य सार्वजनिक, बेपत्ता पार्ने व्यक्ति र समूहलाई फौजदारी कारबाही, पीडितलाई क्षतिपूर्तिलगायत माग राखी चार वर्ष अघिदेखि दर्ता भएका यी उजुरी हालसम्म अनिर्णयको बन्दी बनेका छन् । योभन्दा अघि आयोग सदस्य डा.गंगाधर अधिकारी र सचिव कृष्णजीवी घिमिरे संलग्न टोली सबैभन्दा बढी बेपत्ता पारिएको भनिएको जिल्ला बर्दीया पुगेर फर्किएको थियो । द्वन्द्वकालमा बर्दियामा मात्र दुई सय ५७ जना नागरिक बेपत्ता पारिएको रेकर्ड छ ।
आयोगले प्रदेश विभाजन गर्दै सदस्यहरूलाई अनुसन्धान अधिकारी तोकेर दुई हजार एक सय उजुरी छानबिनका लागि जिम्मा लगाएको जनाइएको छ । आयोगमा ६५ जिल्लाबाट बेपत्ता परिबारका पीडितले उजुरी दिएका छन् । आयोगले बेपत्ता व्यक्तिका परिवारलाई पहिलो चरणमा परिचयपत्र बाँड्नेछ । पीडितले अहिलेसम्म अन्तरिम राहतसमेत पाउन सकेका छैनन् ।
टिप्पणीहरू