बिरामीको मृत्युपछि केएमसीमा तोडफोड
उपचाररत बिरामीको अकस्मात मृत्यु भएपछि सिनामंगलस्थित केएमसी अस्पताल एकछिन अघिदेखि तनावग्रस्त बनेको छ । आइतबार लो प्रेसरको लक्षण देखिएपछि उपचारको लागि हिँडेरै अस्पताल छिरेकी चाँगुनारायण घर भएकी ५६ वर्षकी लक्ष्मी कुँवरको हिजो साँझ सामान्य उपचारको क्रममा निधन भएपछि मृतकका ५० देखि ६० जना आफन्तले आज बिहान अस्पतालको इमर्जेन्सी,तल्लो तलाको ओपिडी,झ्यालको सिसा तोडफोड गरिदिएका हुन् । उनीहरूले अस्पतालको बा८च ८५०५ नम्बरको एम्बुलेन्समा समेत क्षति पुर्याएका छन् ।
आफन्तहरूले ‘आइतबार हिँडेर उपचारको लागि अस्पताल आएको व्यक्तिलाई सो दिन इमर्जेन्सीमा राखिएको र हिजो बिहान वार्डमा सारेर अक्सिजनसहित उपचार गराइएकोमा बेलुकी ६ बजेतिर मृत घोषणा गरेको’ आरोप लगाएका छन् । उनीहरूले ‘हिजो साँझ मृत्यु भएपनि आफन्तलाई भेट्न र हेर्न नदिइएको एवम् आज बिहान मात्र मृत्युको खबर दिएकाले निधनप्रति शंका लागेको बताएका छन् ।’ मृतकका आफन्तले ‘अक्सिजनको पाईप निकालेको अवस्था,निधनको कारण नखुलाइएको र ठमठम हिँडेर आएको मान्छेलाई ‘हार्ट अट्याक’ भनिएकोमा आंशका व्यक्त गरेको बताइन्छ ।
आफूहरूले घटनाको छानबिन गर्न अस्पताल प्रशासनसँग अनुरोध गरेपनि नमानेपछि तोडफोडमा उत्रिएको बताएका छन् । तोडफोडको घटनालगत्तै सशस्त्र प्रहरीको विपद् उद्धार गणका झण्डै ४० जना र महानगरीय प्रहरी वृत्त गौशालाका त्यत्तिकै संख्याका सुरक्षाकर्मी परिचालन गरेपछि स्थिति नियन्त्रणमा आएको प्रहरीले बताएको छ । प्रहरीले तोडफोडमा संलग्नमध्ये पाँच जनालाई अहिले महानगरीय प्रहरी वृत्त गौशाला पुर्याएको छ । केही समयदेखि सुरक्षाकर्मीको रोहबरमा मृतकका आफन्त र अस्पताल प्रशासनबीच वार्ताको तयारी समेत भई रहेको बताइन्छ ।
टिप्पणीहरू