नेकपा विवादको पछिल्लो नालिबेली

नेकपा विवादको पछिल्लो नालिबेली

बालुवाटारमा अत्यधिक र उच्च पहुँच राख्ने अति निकटस्थहरूसँग प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा पनि आफ्नो अडान नछाड्ने बताउनुभएको छ । प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै स्रोतले भनेको छ ‘सामना गर्ने हो,कुनै हालतमा पनि छोडिँदैन ।’ उनी भन्छन् ‘प्रधानमन्त्री एकदमै रिजिड देखिनुहुन्छ ।’

पछिल्लो दिनमा समेत प्रधानमन्त्रीका अति विश्वासपात्र देखिएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल पनि बालुवाटारभित्रका कतिपय गतिविधिबाट वाक्क भइसकेको त्यहिँ कार्यरतहरूले समेत महसुस गरेको बताइन्छ । दुलाभित्र हात हुँदा र बाहिर हुँदाको अवस्था फरक भनेझैं बालुवाटार निकटस्थहरूले खुमलटार र कोटेश्वरसँग नजिक भनिएका नेता तथा कार्यकर्तासँग त्यहि तरिकाले आफ्ना भनाई राख्ने गरेको पाईएको छ । उनीहरूले कोटेश्वरसँग नजिक रहेकासँग ‘समस्या समाधानको लागि माधवसँग मिल्नुको कुनै अर्थ छैन’ भन्ने गरेको र खुमलटारवालाहरूसँग ‘यो सबै भाँड्ने नै कोटेश्वर हो’ भन्नुले पनि ‘दालमा केही कालो’ रहेको आशंका गरिएको छ ।

अहिले नै ओलीलाई तानेर वा झारेर भए पनि ठीक ठाउँमा ल्याउन सकिएन भने चुनावको मुखमा पार्टी विभाजन गरेर आफू इतरका सबैलाई निकालेर यता न उता पारिदिए भने त्यो बेला के गर्नु ?

पछिल्ला अभिव्यक्ति र घटनाक्रमले पनि बालुवाटार अहिले सबैभन्दा रुष्ट व्यक्तिगत रूपमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रहेको देखाउँछ । उनीहरू कुनै हालतमा पनि प्रचण्डलाई अहिले मात्र नभई भविश्यमा समेत एकल नेतृत्व सुम्पन दिन नसकिने बताउन थालेका छन् । विश्लेषकहरूका अनुसार नेकपा अहिले जेनतेन जोडिएपनि चुनाव अघि फुट्ने सम्भावना अधिक छ । नेकपाभित्रको अहिलेको अवस्थालाई हिले खटिरासँग तुलना गर्दै खुमलटार निकट एकजना मन्त्रीले टिप्पणी गरेका छन् ‘अहिले नै ओलीलाई तानेर वा झारेर भएपनि ठीक ठाउँमा ल्याउन सकिएन भने चुनावको मुखमा पार्टी विभाजन गरेर आफू इतरका सबैलाई निकालेर यता न उता पारिदिए भने त्यो बेला के गर्नु ?’

हुन पनि सरकारले निर्वाचनको मिति तोक्ने बित्तिक्कै संसद विघटन गर्न सकिन्छ । त्यसको लागि कम्तिमा छ महिना लाग्छ । त्यसबीचमा प्रधानमन्त्रीले पार्टी र सूर्य चिन्ह कब्जा गर्दै अरुलाई बाटो तताउन आग्रह गरे भने त्यस्तो बेलामा न नयाँ पार्टी बनाउनु न त्यहिँ निरीह भएर टाँसिनु वा न बागी भएर चुनाव लड्नु निकै अप्ठेरो स्थिति सुदूर भविश्यमा रहेको ती मन्त्रीको ठहर छ ।

टिप्पणीहरू