बाबाजी किन छुटे होलान् ?

बाबाजी किन छुटे होलान् ?

बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने ठाडो टिके कृष्णबहादुर गिरीलाई सुनसरी जिल्ला अदालतले हिजो एकाएक सफाई दिएपछि न्याय क्षेत्रमा फेरि नयाँ तरङ्ग आएको छ । यसअघि काठमाडौं जिल्ला अदालतमा छँदा ल्याण्डमार्क होटलमा भएको बलात्कारको घटनाका पात्रलाई सफाइ दिन र धादिङ्ग, नुवाकोट, काठमाण्डौ सिमानाको झण्डै सय रोपनी जग्गा ब्यक्तिलाई दिन लागेको आरोप खेपेका न्यायाधीश अर्जुनप्रसाद कोइराला सुनसरीमा पनि फेरि त्यसैगरी बलात्कारको मुद्दामा तानिएका छन् । त्यसबेला उनलाई गुल्मी सरुवा गरिएपनि उता हाजिर नहुँदै सुनसरी पुर्याइएको थियो ।

बाबाजीलाई राधाकृष्ण उप्रेतीले धरौटीमा छाडेपछि सरकारवादी उक्त मुद्दा उच्च अदालत बिराटनगर पुग्यो । उच्च अदालतले थुनामा राख्न आदेश दिएपछि केही समय भारत गएर लुकी बसेका थिए । पछि खुसुक्क अदालतमा आत्मसमर्पण गरी थुनामा बसेर गिरी पुनरावेदनको लागि सर्वोच्च पुगे । तर,सर्वोच्चले उच्च अदालतको आदेशलाई सदर गरेको धेरै दिन नहुँदै सुनसरी जिल्ला अदालतको एकल इजलासले सोमबार बाबाजीलाई रिहा हुन आदेश दिएको हो ।

यसअघि नै विवादमा आएका न्यायाधीश कोइरालाले गतिलो आधार र प्रमाणमा नटेकी पुनः विवादित निर्णय गरेको हुन नसक्ने उनलाई चिन्ने कानुन व्यवसायीहरूले बताएका छन् । तर,हिजोको फैसलामा सरसर्ती हेर्दा सर्वोच्चमा पठाइएको गिरीको मिसिल जिल्ला सरकारी वकिलको कार्यालयमा नपुगेको र सरकारी वकिलले मिसिलको अभावमा पेशी स्थगित गर्न गरेको अनुरोधलाई अस्वीकार गरेकै आधारमा फैसला भएको भनिएको छ । तर,त्यत्ति प्रमाणको आधारमा त्यत्रो निर्णय हुनै नसक्ने सबैले बताउन थालेका छन् । सबै सेटिङ मिलाएर बलात्कारको आरोप लागेकी महिलाले इजलाशसमक्ष आफूलाई बाबाले केही पनि नगरेको भनेर बकपत्र गरेको अवस्थामा बाहेक न्यायाधीश कोइरालाले त्यस प्रकारको आदेश गर्नै नसक्ने बताइन्छ । उच्च अदालतको न्यायाधीश हुने रोलक्रममा रहेको एउटा वरिष्ठ जिल्ला न्यायाधीशले पर्याप्त आधार र प्रमाणविना बलात्कारजस्तो संवेदशील मुद्दामा सहज फैसला गर्नै नसक्ने उनलाई नजिकबाट चिन्ने न्यायाधीशहरू पनि स्वीकार्छन् ।

१८ वर्षभन्दा मुनिका महिलाको हकमा गरिएको त्यस्तो बकपत्रलाई पनि न्यायालयले शंकाको घेरामा राख्ने गरेको छ । तर,नेपालमै बसोबास गरिरहेको र प्रौढ उमेरकी महिलाले कानुनबमोजिम गरेको बकपत्र महरा प्रकरणमा झैँ अदालतमा पेश भएको अवस्थामा भने आरोपितले सफाइ पाएका अरु धेरै दृष्टान्त भएको बताइन्छ ।

टिप्पणीहरू