सेनाका सन्तानको पनि समस्या
बिदेशको डक्टरी छात्रवृत्तिमा सेनाका सन्तानले पाउने अवसरका छनौट बिधिउपर उजुरी र काउण्टर उजुरी पर्न थालेपछि जङ्गीअड्डा शुरुदेखिकै फाइल पल्टाउन लगाएको छ ।
नेपाली सेनाले मात्रै होइन तिनका सन्तानले पनि छात्रवृत्तिमा विदेश पढ्न जाने अवसर पाउँछन् । विदेशको करिअर तालिममा बाउ- आमा जान्छन् भने छात्रवृत्तिमा छोरा- छोरी जाने गरेका हुन् । त्यसैक्रममा भारतको सैनिक कलेजमा एमबीबीएस अध्ययन गर्न छ जना विद्यार्थीको कोटा प्राप्त भएको थियो । उक्त कोटाको निम्ति सेनाको भर्ना छनौट निर्देशनालयले दरखास्त आह्वान गर्यो र केही प्रतिस्पर्धीको प्रारम्भिक छनौट पनि भयो ।
छनौट भएकाहरूले लकडाउनको समय पनि भारतमै जाँच दिएर आएका हुन् । त्यसपछि भारतीय कलेजले उत्तिर्ण भएकाहरूको सूची नेपाली सेनालाई पठाइदियो । पास भएका मध्येबाट छ जना छान्ने क्रममा सूर्यबहादुर तामाङ्को हाइट (उचाई) कम देखिएर फेरि बोलाउँदै नाप्ने काम भयो भने अनामिका थापाको पोहोरकै स्वास्थ्य परीक्षणमा क्षयरोगको लक्षण देखिएको सैनिक अस्पताल छाउनीले बतायो ।
ती सबै मंसिर ११ गते निकालिएको नतिजामा उत्तिर्ण भएका हुन् । अब जनवरीको पहिलो दिन अध्ययनको लागि छनौट भएका विद्यार्थीहरू भारत जानुपर्ने हुन्छ । सैनिक तालिम निर्देशनालयले छनौटको सबै प्रक्रिया पूरा गरेको भनिएपनि वैकल्पिक उम्मेदवारको रूपमा रहेका दशरथ कार्कीले योग्य भएर पनि अवसर नपाएको भन्दै व्यापक गुनासो गरेका छन् ।
टिप्पणीहरू