खासखुसमै तीन राजदूत

सरकारले विभिन्न देशमा रिक्त राजदूतमध्ये फेरि तीन वटा देशको लागि नियुक्तिको सिफारिश गरेको छ । मंगलबार बिहान बसेको क्याबिनेट बैठकको अन्तमा अरु मन्त्रीले नसुन्ने गरी परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग गरेको कानेखुशीबाटै राजदूत सिफारिशको अड्कल लगाइएको थियो ।

नेकपाभित्रको अन्तरबिरोध र आगामी आइतबारको स्थायी समिति बैठकलाई मध्यनजर गर्दै राजदूत नियुक्तिको विषयलाई सार्वजनिक गरिएको छैन । यसअघि पनि पार्टीमा छलफल र सहमति नगरी युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतमा राजदूत सिफारिश गरिएपछि उक्त विषय अहिलेसम्म नेकपाभित्र पेचिलो बन्दै आएको छ ।

स्रोतका अनुसार परराष्ट्रका कर्मचारीहरूमध्येबाट निर्मल काफ्लेलाई इजिप्टकोलागि राजदूतमा सिफारिश गरिएको छ । काफ्ले यसअघि संयुक्त राष्ट्र संघकालागि न्यूयोर्कस्थित नेपाली नियोगमा उपप्रमुख थिए । त्यसअघि बेइजिङस्थित नेपाली दूतावासमा थिए भने अहिले परराष्ट्र मन्त्रालयमा युरोप, अमेरिका डिभिजन प्रमुख छन् । दुई नियोगमा गरी चार बर्ष बिताएर फर्केका उनको ठाउँमा घनश्याम भण्डारीलाई न्यूयोर्क पठाइसकिएको छ ।

त्यसैगरी, डा.विश्वम्भर प्याकुरेलले कार्यकालको वीचैमा जिम्मेवारी छाडेर आएदेखि कोलम्बोस्थित नेपाली दूतावास पनि रिक्त छ । त्यहाँको लागि नेपाली राजदूतमा बिराटनगरका रमेश पौडेललाई सिफारिश गरिएको छ । सरकारले दक्षिण कोरियाको लागि डा. कृष्णचन्द्र पौडेललाई सिफारिश गरेको छ । पौडेल त्रिभुवन विश्वविद्यालयमा अंग्रेजी विभागका प्रमुख थिए ।

यसअघि दक्षिण कोरियाको लागि यादव खनालको नाम चर्चामा थियो । खनालले नेपाल भारत प्रबुद्ध व्यक्तिहरुको समूह (इपीजी) मा बसेर काम गरेका थिए ।

टिप्पणीहरू