विवेकशील किन फुटेर साझामा गयो ?

विवेकशील किन फुटेर साझामा गयो ?

विवेकशील नेपाली दल र साझा पार्टीबीच बुधबार पुनः एकीकरण भएको छ । तीन वर्षअघि एकीकृत ती दुई दल दुई वर्षअघि फुटेका थिए । एकीकरणपछि ‘विवेकशील साझा’ बनेको पार्टीमा विवेकशीलका उपाध्यक्ष अजिता राईसहित एक दर्जन केन्द्रीय सदस्य गएका छैनन् । उनीहरूका अनुसार ‘अध्यक्षलगायत केही साथी साझामा गएका हुन्,पूरै दल गएको होइन ।’

विवेकशील नेपाली दलको गत वर्ष कात्तिकमा जनकपुरमा सम्पन्न राष्ट्रिय सम्मेलनमा अध्यक्ष मिलन पाण्डे समूहले गैर विवेकशील सदस्यहरूको नाममा आफूखुशी गरिएको मतदान र दलभित्रको अराजकताको कारण विवेकशील चोइटिएर मात्र साझा पार्टीमा मिलान भएको बताइन्छ । पाण्डे समूहले गरेको विधान,निर्वाचन पद्धति र अन्य व्यवस्थाको दुरूपयोगबारे गरिएको २७ पृष्ठको छानबीन प्रतिवेदनमा सबिस्तार चर्चा गरिएको पाइन्छ ।

स्रोतका अनुसार पार्टीको महासचिव निर्देश सिलवाल,कोषाध्यक्ष तथा तत्कालीन प्रदेश नं. ४ की संयोजक सुमित्रा गुरुङ र केन्द्रीय सदस्यहरू आशुतोष प्रधान तथा शिशिर बञ्जाराको योजनामा अपनाइएको अराजनीतिक प्रवृत्तिले उक्त समूह पहिले नै फुटेर अन्यत्र जाने निश्कर्ष उपाध्यक्षलगायत केन्द्रीय सदस्यहरूले पहिले नै निकालेका थिए ।

राष्ट्रिय सम्मलेनमा गरिएको अवैध कार्य छानबीन प्रतिवेदनमा आशुतोषले सदस्यहरूको नागरिकता प्रमाणपत्र र फोन नम्बर संकलन गरेको,आशुतोषले संकलन गरेको नागरिकता र फोन नम्बर सुमित्राले लिएर अर्का सदस्य शिशिर बञ्जारालाई उपलब्ध गराएपछि शिशिरले विवेकशील कम्युनिटीको एकाउण्ट बनाएको देखिएको र त्यसपश्चात् महासचिव निर्देशलाई जानकारी गराएको उनीहरूबीच भएको टेलिफोन वार्ता,मेसेज तथा मेसेञ्जर सम्पर्कबाट नै देखिएको बताइन्छ ।

त्यसरी प्राप्त जानकारीलाई महासचिवले आवश्यक निर्देशन दिएपछि एकाउण्ट बनाउने शिशिरले सम्बन्धित एकाउण्ट र त्यसको पासवर्ड सुमित्रालाई फरवार्ड गरेका थिए । ती सबै पासवर्ड र एकाउण्टलाई सम्मेलनको बन्द सत्रमा भएको निर्वाचनमा आशुतोष,सुमित्रा र शिशिरले एउटै ल्यापटप प्रयोग गरी हरेकले ३० देखि ४० जनाको दरले मतदान गरेको आरोप छ। अहिले त्यसरी अवैध मार्ग प्रयोग गरी केन्द्रीय समितिमा आफ्नो बहुमत कायम गर्न खोजेको भन्दै उपाध्यक्षलगायत एक दर्जन सदस्य केन्द्रीय समितिमा आफ्नो असहमति दर्ता गरेर साझामा विलय नभएको बताइन्छ ।

टिप्पणीहरू